Saturday, September 17, 2016

असंलग्न आन्दोलन शान्ति, न्याय र समानताको अभिव्यक्ति हो : उपराष्ट्रपति

काठमाडौँ, २ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले असंलग्न आन्दोलन (नाम) शान्ति, न्याय र समानताको अभिव्यक्ति भएको बताउनुभएको छ ।

भेनेज्वेलाको मार्गरिटा टापूमा जारी नामको १७ औँ शिखर बैठकलाई आज सम्बोधन गर्दै उहाँले सुनियोजित ढङ्गले संसारभर जरा गाडेको असमानतालाई हटाउन र सबैको साझा समृद्धिका लागि विश्वव्यापी आर्थिक न्यायका पक्षमा नामले आफूलाई उभ्याउनुपर्ने धारणा राख्नु भयो ।

नामका आधारभूत सिद्धान्त र आदर्शप्रति नेपालको अटल आस्था रहेको र ती सिद्धान्त र आदर्श नेपालको परराष्ट्र नीतिका निर्देशक सिद्धान्तका रुपमा रहेका उहाँले उल्लेख गर्नु भयो ।

विश्वव्यापी शासन प्रणालीमा संयुक्त राष्ट्रसङ्घको नेतृत्वदायी भूमिकाको चर्चा गर्दै उहाँले वर्तमान विश्वमा व्यापक रुपमा भएका राजनीतिक परिवर्तनलाई प्रतिबिम्बित गर्न राष्ट्रसङ्घीय पद्धतिमा व्यापक सुधार हुनुपर्नेमा जोड दिनुभएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

व्यापार¬–वाणिज्य क्षेत्रको योगदान गरिबी घटाउने र आर्थिक वृद्धि एवम् विकास प्रवद्र्धन गर्ने हुनुपर्छ भन्दै उहाँले दोहा विकास कार्यसूचीबाट विमुख हुने प्रवृत्तिले बहुपक्षीय व्यापार तथा वित्तीय पद्धतिबाट प्राप्त हुने विकासको लाभांश अतिकम विकसित र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रले पाउन नसक्ने जोखिम बढेको बताउनुभयो ।

उहाँले विकासोन्मुख मुलुकलाई आफ्नो कुल राष्ट्रिय उत्पादनको निश्चित प्रतिशत औपचारिक विकास सहायताका रुपमा उपलब्ध गराउन विकसित राष्ट्रले गरेका प्रतिबद्धता पूरा गर्न नेपालको दृढ अडान पनि दोहो¥याउनुभयो ।

अन्तरसरकारी मञ्चका रुपमा विकसित नामका गतिविधिप्रति सन्तुष्टि प्रकट गर्दै उहाँले बदलिँदो विश्व परिवेशमा नामको सान्दर्भिकता दर्शाउन सदस्य मुलुकबीच शान्ति, सुमधुर सम्बन्ध र एकता हुनुपर्ने बताउनुभयो ।

मार्गरिटा घोषणापत्र जारी गर्दै नामको १७औँ शिखर बैठक सोमबार सम्पन्न हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts