Thursday, September 8, 2016

अस्पतालका कर्मचारीको आन्दोलन फिर्ता

भक्तपुर, २४ भदौ । मध्यपुरथिमी नगरपालिकाद्वारा मध्यपुरथिमीमा सञ्चालित कोरिया–नेपालमैत्री अस्पतालमा आन्दोलनरत कर्मचारीले आन्दोलनका कार्यक्रम आजदेखि फिर्ता लिएका छन् ।

अस्पताल स्वतन्त्र कर्मचारी युनियनले चारबुँदे माग राखेर बुधबारदेखि आन्दोलनमा उत्रिएपछि अस्पताल व्यवस्थापन एवम् प्रशासनले कर्मचारीका माग पूरा गर्ने सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो ।

युनियनका अध्यक्ष बच्चुराम थापाले भन्नुभयो – “अस्पतालको कार्यकारी समिति र कर्मचारी युनियनका प्रतिनिधिबीच आज भएको वार्ताको सहमतिबमोजिम अस्पताल प्रशासनले अस्थायी कर्मचारीलाई स्थायी गर्न प्रक्रिया अगाडि बढाउने, पदपूर्ति समिति तत्काल गठन गर्न, सञ्चालक समिति पुनर्गठन गर्ने र यही भदौ २० गतेदेखि अस्पताल कार्यसमितिले बिरामीको सेवा शुल्कमा वृद्धि गर्ने निर्णयमा पुनर्विचार गर्ने सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता लियौँ ।”

चारसूत्रीय माग राख्दै दुई वर्षदेखि कर्मचारी एवम् अस्पतालको हकहितको पक्षमा माग राखे पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै युनियनले मध्यपुर थिमी नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदीलाई बुधबार मागपत्र बुझाएर आन्दोलन सुरु गरेका थिए ।

मध्यपुर थिमि नगरपालिकाका वरिष्ठ कानुन अधिकृत केशव सिलवालले कर्मचारीका सबै मागलाई क्रमशः सम्बोधन गर्दै जाने सहमति भएको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts