Saturday, September 3, 2016

उपराष्ट्रपति, प्रधानमन्त्री र नेताहरुबाट तीजको शुभकामना व्यक्त

काठमाडौँ, १८ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले आज शुभकामना सन्देश दिँदै नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको ठूलो योगदान रहेको उल्लेख गर्दै मुलुकमा भएका परिवर्तनकारी आन्दोलन तथा सशस्त्र सङ्घर्षहरुमा महिला दिदीबहिनीले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभएको छ ।

सङ्घर्षबाट प्राप्त सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाले सबै तहमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै उपराष्ट्रपतिले तीज पर्वको अवसरमा नेपालको परिवर्तनकारी आन्दोलनमा सहभागिता र यसबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

हरितालिका तीजले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने कामना गर्दै उहाँले तीज सिर्जनशील र उल्लासमय रहोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली महिलाको महान् पर्व तीजको अवसरमा शुभकामना दिनुहुँदै देश–विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदी–बहिनीमा सुख, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले नेपालको सबैखाले परिवर्तनकारी आन्दोलनमा महिला वर्गले खेलेको भूमिकाको प्रशंसा गर्दै प्राप्त उपलब्धिप्रति गर्व गर्न तीज पर्वले प्रेरणा मिलोस् भनी कामना गर्नुभएको उहाँका प्रेस संयोजक गोविन्द आचार्यले राससलाई बताउनुभयो ।

यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिनुहुँदै देश तथा विदेशमा रहेका महिला दिदीबहिनीमा सुश, शान्ति, समृद्धि तथा आपसी भाइचारा र भ्रातृत्वको भावना जगाउन उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले नेपालजस्तो बहुभाषा, बहुजाति, संस्कृति र परम्परा भएको देशमा यसप्रकारका चाडपर्वले आपसमा मित्रता र सद्भाव बढाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको काँग्रेसका मुख्यसचिव कृष्ण पौडेलले बताउनुभयो ।

यसैगरी नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शुभकामना दिंदै संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान जारी भएर त्यसको कार्यान्वयनको अवस्थामा रहेको बेला संविधानप्रदत्त महिला हक अधिकारलाई सुनिश्चित गरी राज्य र राजनीतिक दल सहितका विभिन्न निकायमा महिला सहभागिता बढाउँदै लानुपर्नेमा जोड दिनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts