काठमाडौँ, १८ भदौ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आयोजना तथा जनसाहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा ‘अविरल जन साहित्य यात्रा’को २९ औँ शृङ्खलामा शुक्रबार वरिष्ठ प्रगतिवादी कवि पीताम्बर भण्डारीले छन्दमा रचित एक दर्जन कविता वाचन गर्नुभएको छ ।
कार्यक्रममा कवि भण्डारीलाई जगन्नाथ आचार्य, राधिका सापकोटा, यदुनाथ वसन्तपुरे, डिल्लीप्रसाद मुल्तिउन, विष्णुहरि भण्डारी, देवकुमारी लुइँटेलले साथ दिनुभएको थियो ।
वाचित कवितामाथि टिप्पणी गर्दै साहित्यकार डा लेखप्रसाद निरौलाले विचारका दृष्टिले स्पष्ट, युगबोधी र आफूले बाँचेको समय, परिवेश र समाजको चित्रण कवितामा आएको बताउनुभयो ।
नेकपा(एमाले)का पोलिटब्युरो सदस्य अरुण नेपालले राजनीतिले साहित्य र स्रष्टालाई सम्मान गर्नुपर्छ भन्नुभयो । वरिष्ठ साहित्यिक पत्रकार चूडामणि रेग्मीले भण्डारीका कविता प्राकृतिक वा जन्मजात छन् र हृदय छुने खालका छन् भन्नुभयो ।
मञ्चका अध्यक्ष राम विनयले दुर्गम ठाउँमा बसोवास गरेर पनि कविता सिर्जनाका माध्यमबाट नेपाली प्रगतिवादी साहित्यका फाँटमा आफूलाई सशक्त कविका रूपमा उभ्याउन सफल भण्डारीलाई बधाई दिनुभयो । मञ्चका उपाध्यक्ष रमेश पोखरेलले भण्डारी निष्ठा र स्वाभिमानसँग सम्झौता नगरी राष्ट्रियताका पक्षमा वकालत गर्ने, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, वर्गीय पक्षधरतामा निकै खरो रूपमा प्रस्तुत हुने मात्र होइन आफ्ना कवितामा वैचारिक दृढता प्रकट गर्न सक्ने कवि भएको बताउनुभयो ।
कवितायात्राको तीसौँ शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा विशिष्ट योगदान गर्ने नरेश शाक्यलाई प्रस्तुत गरिने जनाइएको छ । रासस
No related posts.
No comments:
Post a Comment