Tuesday, September 13, 2016

कृषिको विकास नभएसम्म आर्थिक विकास असम्भव : कृषिमन्त्री चौधरी

काठमाडौँ, २८ भदौ । कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपालमा कृषिको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव भएको बताउनुभएको छ ।

फ्लोरिकल्चरल एसोसिएसन नेपालको २४औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रमा आमूल परिवर्तन गरी कृषकलाई आत्मनिर्भर गर्न सरकारले कृषकका लागि नयाँ कार्यक्रम ल्याउने योजना गरिरहेको बताउनुभयो । बेरोजगार युवालाई कृषि क्षेत्रमा आकर्षित गरी परिचालन गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको र कृषि क्षेत्रमा सरकारले ७० प्रतिशत लगानी गरिरहेको उहाँले बताउनुभयो ।

कृषि बिमा, कृषि निवृत्तिभरण तथा कृषि ऋण उपलब्ध गराउन सरकारले योजना बनाइरहेको मन्त्री चौधरीले बताउनुभयो । “नेपालमा अझैसम्म किसान आयोग बन्न सकेको छैन । यसै वर्षभित्र किसान आयोग गठन गरी नीति निर्माण गर्छाैँ,” उहाँले भन्नुभयो ।

मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले ७५ जिल्लामा पुष्प व्यवसाय विस्तार गर्न सक्ने सम्भावना रहेकोले सरकार व्यवसायीको चुनौती सामना गरी व्यावसायिक विस्तार गर्ने कुरामा साझेदारी गर्न तयार रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले पुष्प व्यवसाय छरिएर रहेको अवस्थामा रहेकामा हाल आएर व्यवसायका रुपमा विकास भएकामा खुसी व्यक्त गर्नुभयो ।

एसोसिएसनका अध्यक्ष दिलीप बादेले पुष्प व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएको बताउनुभयो । विसं २०११ मा सुरु भएको पुष्प व्यवसायले हाल वार्षिक रु २२ करोडको कारोबार गर्दै आएको छ । नेपालले विदेशबाट रु १० करोडको पुष्प व्यवसायसँग सम्बद्ध वस्तु आयात गर्दै आएको छ भने रु तीन करोडभन्दा बढीको निर्यात गर्दै आएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts