Thursday, October 13, 2016

एमालेको चियापानमा राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौँ, २८ असोज । नेकपा (एमाले)ले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा भोलि असोज २९ गते आयोजना गर्ने चियापान कार्यक्रमका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि निमन्त्रणा पठाएको छ ।

कार्यक्रमका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, सांसदहरु, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तीय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महाप्रबन्धक र सुरक्षा निकायका अधिकारीलाई निम्तो गरिएको एमालेले जनाएको छ ।

यस्तै, पूर्वप्रशासक, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेसागत सङ्घसंस्थाका अगुवा तथा सबै पेसाकर्मीलगायत पार्टी कार्यकर्तालाई निमन्त्रणा कार्ड पठाइसकिएको पार्टीका सचिव योगेश भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिका साथै कूटनीतिक क्षेत्रका व्यक्तित्वलाई समेत आमन्त्रण गरिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराही अगाडि रहेको शङ्खपार्कमा दिउँसो १२ देखि ३ बजेसम्म हुने चियापान कार्यक्रमको व्यवस्थापन र सुरक्षाका लागि आज भएको बैठकपछि तयारी पूरा भएको सो पार्टीले जनाएको छ ।

कार्यक्रमस्थलको मूल प्रवेशढोकामा राष्ट्रिय वेशभूषा झल्कने झाँकी प्रदर्शन हुनेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले स्वागत गर्नुहुनेछ ।

एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले सुरु गर्नुभएको चियापनलाई पार्टीले निरन्तरता दिँदै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts