Friday, October 14, 2016

ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली गोवा प्रस्थान

काठमाडौ, २९ असोज । ब्रिक्स सम्मेलनमा पर्यवेक्षकका रुपमा सहभागी हुन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड भारतको गोवा प्रस्थान गर्नुभएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहान ८ बजे प्रधानमन्त्री प्रचण्ड १८ सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै गोवा प्रस्थान गर्नुभएको हो । ब्रिक्स सम्मेलनमा क्षेत्रीय संगठन बिमस्टेकका मुलुकलाई पनि सहभागी गराउने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको टोली भारत गएको हो । प्रधानमन्त्री प्रचण्डले आजै चीनका राष्ट्रपति सी जिन पिङसँग साईड लाईन वार्ता गर्नुहुने छ । सो क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा समेत दिनुहुनेछ ।
चिनियाँ राष्ट्रपतिसँगको भेटका लागि ४० मिनेटको समय छुट्याइएको बताईएको छ । उहाँले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने तय भएको छ । त्यस्तै प्रधानमन्त्री दाहालले भोली रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैगरी श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा, ब्राजिलका राष्ट्रपति मिसेल टेमर र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ । प्रधानमन्त्री दाहालको नेतृत्वको भ्रमण दलमा उहाँकी पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालगायत रहनुभएको छ । प्रधानमन्त्री दाहाल आगामी कात्तिक १ गते स्वदेश फर्कनुहुनेछ ।
छलफल हुने विषयहरु
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच मुलुकले अन्तराष्ट्रिय सम्बन्ध र आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरेको ‘ब्रिक्स राष्ट्र’ फोरम स्थापनापछि निकै सक्रिय रहेकाले यस्ता संगठनबाट कसरी फाइदा लिने भन्नेमा नेपाल केन्द्रित हुनेछ । खासगरी यस क्षेत्रका बौद्धमार्गी मुलुकबीच बुद्धिस्ट सर्किट र कनेक्टिभिटीमा नेपालले जोड दिने योजना बनाएको छ । बिमस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा आतङ्कवाद नियन्त्रण गर्ने र वातावरण परिवर्तनका असरलाई सम्बोधन गर्ने, प्राकृतिक प्रकोप व्यवस्थापन गर्ने, सदस्य राष्ट्रबीच सम्पर्क सञ्जाल विस्तार गर्ने, कृषि, ऊर्जा, व्यापार, प्रविधि, पर्यटन एवम् गरिबी निवारणजस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने एवम् जनस्तरको सम्बन्ध प्रगाढ गर्ने सम्बन्धमा छलफल हुनेछ । नेपालले भुपरिबेष्ठित राष्ट्रका समस्यालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
पाकिस्तानमा हुने तय भएर स्थगित भएको सार्क शिखर सम्मेलनबारे पनि गोवामा छलफल गरिने भएको छ । छलफलमा आगामी शिखर सम्मेलन कहाँ र कहिले गर्ने विषयमा अनौपचारिक कुरा हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषी अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार भारत र पाकिस्तान दुवैलाई मान्य हुने गरी नयाँ मिति र स्थान तोक्ने विषयमा दुई पक्षिय तथा बहुपक्षिय छलफल हुने छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts