Wednesday, October 19, 2016

माझी दम्पतिको टहरामा वास

बागलुङ, ३ असोज । कालीगण्डकी किनारस्थित उजाड बगर छेउमा रहेको सानो टहरा, निहुरिएर भित्र छिडनुपर्ने वाध्यता, सानो गुन्द्रीले ओगट्ने जति थलोमा भान्सा, सर–सामान र दुःखजिलो गरी सुत्ने ओछ्याउन ।

६२ वर्षीय भीमबहादुर माझी र ४५ वर्षीया चन्द्रकुमारी माझी विगत डेढ वर्षदेखि सोही टहरामा दैनिकी गुजारिरहेका छन् ।

घर, सम्पत्ति पहिरोमा गुमेपछि बागलुङ–पर्वतको सीमाक्षेत्रस्थित मालढुङ्गामा बस्ने माझी दम्पति आफ्नै थलोमा पनि ‘शरणार्थी’ झैं जिवन विताइरहेका छन् । चाडवाडको याममा पनि उनीहरुको मुहारमा कुनै उमङ्ग छैन । ‘बिहान, बेलुका छाक टार्ने चिन्ता छ’ भीमबहादुरले भन्नुभयो’।

मालढुङ्गा–बेनी सडक खण्डको माथिबाट खसेको पहिरोले माझीको घरवास पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । घरको भग्नावशेष देखाउँदै चन्द्रकुमारी माझीले भनिन् – आफ्नो यो हालत हुँदा पनि कसैले हेरेको छैन् । उहाँका दुई छोरा र दुई छोरी छन् । दुबै छोरा अलग्गै घरमा बस्दै आएका छन् भने दुबै छोरीको विवाह भइसकेका छन् । बूढेसकालमा परिवारबाट एक्लिएका माझी दम्पतिको बाँच्ने सहारा भनेको कालीगण्डकी किनारको गिटी र बालुवा हो ।

‘बालुवा, गिटीको काम गरेर छाक टार्दै आएका छौं,ँ हामीलाई कसैले सहयोग गरेको छैन’ चन्द्रकुमारीले भनिन् – ‘हामी पुरानै बासमा फर्कन चाहान्छौँं, तर घर केले बनाउने, हाम्रो उपाय छैन ।’

त्यहाँका अन्य केही माझी परिवार पनि विस्थापित अवस्थामा छन् । पुस्ताँैंदेखि कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीहरुले आफूहरु राज्यबाट उपेक्षामा परेको गुनासो व्यक्त गरेका छन् ।

छिटपुट राहात पाए पनि पहिरोबाट विस्थापितको पुर्नवास र व्यवस्थापनमा कसैले ध्यान नदिएको गुणासो भीमबहादुरका छोरा यामबहादुर माझीको छ । यामबहादुर र उहाँका भाइ अइन्द्रबहादुरले भने चालक पेसा गरेर जीविका चलाउँदै आएका छन् ।

‘गर्ने उमेरसम्म छुट्टै बस्ने इच्छा भएपछि बुबाआमा अलग्गै हुनुहुन्छ’ यामबहादुर भन्छन्– ‘परिवारको अवस्था साह्रै दयनीय छ, बस्ने बास समेत गुमेपछि यो अवस्था आइपुग्यो ।’ घरमा भएको अलिअलि सम्पत्ति पनि पहिरोले पुरेपछि माझी दम्पतिको अवस्था झन् कहालीलाग्दो बनेको छ ।

बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन लगायतका क्षेत्रमा राज्यको सहयोगको अपेक्षा गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts