Monday, November 7, 2016

अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख बनाउन सकिन्न : महासचिव पोखरेल

खोटाङ, २२ कात्तिक । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउन नहुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अङ्गीकृत नागरिकलाई १० वर्षपछि राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउँदा राष्ट्र हितविपरीत हुने दाबी गर्नुभयो ।

अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाएर नेपालका वास्तविक नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुने बताउनुभयो । “संसारमा हुँदै नभएको अभ्यास नेपालमा सम्भव छैन” उहाँले भन्नुभयो – “लागू गर्न खोजिए पार्टीले अस्वीकार गर्छ ।”

संविधान कार्यान्वयन जनपरिचालन अभियानका क्रममा आइतबार खोटाङ आउनुभएका महासचिव पोखरेलले नेपालमा निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको बताउनुभयो । निर्वाचन प्रक्रिया असफल भए संविधान र राजनीतिक दलको भूमिका निष्प्रभावी हुने भएकाले देश विदेशका शक्ति निर्वाचन भाँड्ने खेलमा लागिपरेको आरोप लगाउनुभयो ।

महासचिव पोखरेलले संविधान संशोधन गर्न सकिने दस्तावेज भए पनि संशोधनका विषयवस्तु औपचारिक रुपमा नल्याइएको बताउनुभयो । संशोधन गर्नुपर्ने विषयलाई सत्तागठबन्धन दलले छलफल गरेर स्पष्टसँग प्रस्तावमा ल्याउनुपर्ने उहाँको भनाइ छ ।

अर्को प्रशङ्गमा लोकमानको नियुक्तिका विषयमा सुरुमै विवाद भएको पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्नुभयो । “लोकमानलाई असावधानीपूर्वक नियुक्ति गरिएको थियो ।” उहाँले भन्नुभयो – “हामीले विवादित व्यक्तिलाई नियुक्ति गर्नु हुँदैन भनेका थियौँ ।”

दिक्तेलस्थित एमाले पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका बेलामा सरकारले सुरक्षाको नाममा देखाएको भक्तिभाव अशोभनीय रहेको टिप्पणी गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts