Saturday, December 31, 2016

मागेर जीवन बचाउँछन् एक दम्पत्ती

जाजरकोट, १७ पुस । बस्ने बास छैन । खाने गास पनि छैन । सहारा दिने कोही छैनन् । शरीर अशक्त छ । गर्खाकोट–५, मैपका ५७ वर्षीय कृष्णबहादुर शाही र ३७ वर्षीया दुर्गादेवीको जोडीलाई अर्काको घरदैलो नचहारी हातमुख जोडिँदैन ।

रिठाको रूखबाट लडेर १२ वर्षकै उमेरमा कृष्णबहादुरको देब्रे हात भाँचियो । घरेलु उपचार भरमा उनको हात पूर्व अवस्थामा फर्कन सकेन । अपाङ्ग जीवन जिउँदै आएका कृष्णबहादुरको दुई वर्षअघि सिँडीबाट लड्दा देब्रे खुट्टा पनि भाँचियो ।

घरेलु उपचार गरेपनि उनको खुट्टा पनि पूर्वअवस्थामा आएन । पत्नी दुर्गादेवी पनि दुई वर्षकै उमेरमा चुलोमा परेर पैतला जल्दा देब्रे खुट्टाकै अपाङ्ग छिन् । उनीहरू दुवै लट्ठीको सहाराले हिँडडुल गर्छन् । बाइस वर्षअघि विवाह बन्धनमा बाँधिएको यो जोडी सन्तानविहीन छ । एक खुट्टा तथा लट्ठीको सहाराले गाउँगाउँ माग्न पुग्ने गरेको कृष्णबहादुरले बताउनुभयो । घरदैलोमा पुगेर नमागे पेट कसरी पाल्ने ? उहाँले बताउनुभयो । गाउँमा दाजुभाइ छन् तर वास्ता गर्दैनन् । जन्माउने आमाबाबु र जीवनसाथीबाहेककाले दुःखमा साथ नदिएको उहाँले बताउनु भयो ।

“जता गए पनि दुर्गादेवीलाई साथै लिएरै जान्छु । मेरो जीवनको सहारा नै उनी हुन् । सम्पत्ति पनि उनी नै हुन् ।
कहिले एक खुट्टाले टेकेर, कहिले घिस्रेर गन्तव्य पुग्ने गरेको उहाँ बताउनुहुन्छ । माग्नका लागि छिमेकमा मात्र हैन । थलहबजार, सल्लीबजार, सदरमुकाम खलङ्गालगायत पुगेर दुई तीन सातासम्म घुमिरहने उनीहरुको दिनचर्या रहेको छ ।

अपाङ्गलाई सरकारले रेखदेख गर्न नसकेको उहाँको भनाइ छ । गरिब र अपाङ्गता भएर पनि कुनै पनि सरकारी सुविधा नपाएको कृष्णले बताउनुभयो । सामाजिक सुरक्षा भत्ताका लागि गाविस कर्मचारीले परिचयपत्रका लागि सिफारिस नदिएको उहाँले गुनासो गर्नु भयो । रासस

कालीगण्डकीबाट दुई किलोवाट विद्युत् उत्पादन

म्याग्दी, १७ पुस । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारका एक व्यक्तिले कालीगण्डकी नदीमा उपकरण जडान गरी दुई किलोवाट विद्युत् उत्पादन गरेका छन् ।

दैनिक हुने विद्युत्भार कटौतीबाट आजित भएपछि बेनीबजारवासीलाई वैकल्पिक ऊर्जाका बारेमा जानकारी गराउन म्याग्दी ऊर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक दुर्गाप्रसाद श्रेष्ठले खुल्लामञ्च नजिकको कालीगण्डकीबाट दुई किलोवाट क्षमताको विद्युत् उत्पादन सुरु गर्नुभएको हो ।

तत्काललाई अस्थायी रुपमा सञ्चालन गरे पनि सबैको सहयोग भएमा पाँच किलोवाटसम्म उत्पादन गर्न सकिने श्रेष्ठले बताउनुभयो । विगत २०५७ सालदेखि ऊर्जाको क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले जिल्लाको सदरमुकाम बेनीबजार आसपासबाट बग्ने म्याग्दी र कालीखोलाबाट बजार तथा आसपासका क्षेत्रमा ऊर्जाको खपत गर्न सकिने दाबीसमेत गर्नुभयो ।

विद्युत् उत्पादनका लागि कुलो निर्माणका साथै टर्वाइन, जेनेरेटर र छ मिटरको पाइपका साथै अन्य सामग्री प्रयोग गरिएको छ । प्रतिसेकेन्ड एक सय लिटर पानी फालेपछि एक हजारवाट उत्पादन गर्न सकिन्छ । एक हजारवाट बराबर एक किलोवाट हुन्छ । एक किलोवाटबाट एक सय चिम बाल्न सकिन्छ ।

म्याग्दी ऊर्जा केन्द्रले जिल्लाका विभिन्न गाविसका साथै ओखलढुङ्गा, रामेछाप, चितवन, मकवानपुर, रुकुम, जाजरकोटका साथै विभिन्न एक दर्जन जिल्लामा पाँचदेखि १० किलोवाटसम्मको लघु जलविद्युत् जडान गरेको जनाएको छ । रासस

बेदकोट धार्मिक क्षेत्रका प्राचीन मूर्तिहरु हराउँदै

कञ्चनपुर, १७ पुस । कञ्चनपुरको बेदकोट नगरपालिकाको चुरे क्षेत्रमा रहेको बेदकोट धार्मिक क्षेत्रका प्राचीन मूर्तिहरु हराउने र नासिने क्रम बढ्दो रुपमा रहेको छ ।
धार्मिक क्षेत्रको संरक्षण संवद्र्धनको कार्यलाई सन्तोषजनक रुपमा अगाडि नबढाइँदा पुरातात्विक महत्वका वस्तु हराउने क्रम बढेको हो ।
हालसम्म धार्मिक क्षेत्रबाट एक किलो बढी तौलको चाँदीको मजुरको मूर्ति, अष्टधातुको नागको मूर्ति, ठूला घन्टीहरु, बाघ हात्तीका कलात्मक मूर्ति हराइसकेको धार्मिक क्षेत्रका जीतबहादुर देउवाले बताउनुभयो ।

प्राचीन मन्दिर परिसरमा रहेका मूर्ति र मन्दिरभित्रका मूर्तिसमेत हराएका छन् उहाँले भन्नुभयो – “हालसम्म कुनै पनि निकायले हराएका मूर्ति खोजी गर्ने र मर्मतको सङ्घारमा रहेका मूर्तिबारे चासो राखेका छैनन् ।”

प्राचीन मन्दिरभित्रको भगवान् शिवको गर्भगृहमा रहेको धातुको मूर्तिलाई साधुले मन्दिरको ढोकामा लगाइएको ताला फुटालेर सडक छेउ राखेपछि धार्मिक क्षेत्रबारे मन्दिर समितिले चासो देखाउन सुरु गरेको छ ।

मन्दिरको पुरातात्विक महत्वको मूर्ति सडक छेउ राखिएपछि मन्दिरका मूर्ति नासिँदै जान थालेको प्रति मन्दिरका भडरिया डम्बरबहादुर ऐरले चिन्ता प्रकट गर्नुभयो ।

मन्दिरभित्रको मूर्ति बाहिर ल्याएर राख्ने विरुद्ध कारबाही हुनुपर्ने उहाँले बताउनुभयो । “मन्दिरका प्राचीन मूर्तिलाई तत्काल पुरानै ठाउँमा धार्मिक विधि विधानअनुरुप पुनःस्थापन नगरे जिल्ला प्रशासन कार्यालयमा यसबारे उजुरी गर्छौं” – उहाँले भन्नुभयो ।

सिद्ध वैजनाथ बेदकोट संरक्षण समितिका अध्यक्ष जयबहादुर साहुले मन्दिरमा २२ पटक ताला लगाउँदा अर्को दिन जाँदा ताला फुटालेको अवस्थामा पाउने गरिएको बताउनुभयो । “ताला तोड्नेको पहिचान गरी कारबाही गर्छौं” – उहाँले भन्नुभयो । “समितिसँग आर्थिक अभाव हुँदा धार्मिक क्षेत्रको संरक्षण र पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण संवद्र्धनको कार्यमा कठिनाइ रहेको छ” – उहाँले भन्नुभयो ।
वर्षौं पहिले धार्मिक क्षेत्रमा पुग्ने भक्तजनका लागि राखिएको फलामको पिङसमेत मन्दिर परिसर क्षेत्रमा तोडेर फालिएको अवस्थामा रहेको छ । परापूर्वकालमा वनवासका क्रममा पाण्डवहरुले यस क्षेत्रमा आएर बेदधुनी जगाएकाले यस क्षेत्रको नाम बेदकोट रहन गएको जनश्रुति रहेको छ । यो क्षेत्र प्राचीनकालमा ऋषिमुनिहरुको तपोभूमिका रुपमा समेत परिचित रहेको छ ।

ताल पुरिँदै

कञ्चनपुरको बेदकोट नगरपालिकाको चुरेको फेदीमा रहेको बेदकोट ताल पुरिँदै जान थालेको छ । बर्सेनि खहरे खोलाले बगाएर ल्याउने माटो, बालुवा र ढुङ्गाका कारण ताल पुरिने क्रम जारी रहेको छ ।
आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको बेतकोट तालको संरक्षणका लागि प्रयास नहुँदा प्रतिवर्ष तालको गहिराइमा कमी आउन थालेको बेदकोट संरक्षण संवद्र्धन समितिका अध्यक्ष जयबहादुर साहुले बताउनुभयो ।
तालको पूर्वतर्फ रहेको बूढा वैजनाथ मन्दिरको नजिकै भएर वर्षात्मा बग्ने खहरे खोला र उत्तरतर्फबाट आउने खहरे खोलाका कारण ताल पुरिन थालेको उहाँले बताउनुभयो ।
चुरे क्षेत्रको विनाशका कारण प्रतिवर्ष तालको उत्तरतर्फका पहाडमा पहिरो जाने र सो पहिरो खहरे खोला हुँदै तालमा पुग्ने भएकाले ताल सङ्कटमा पर्दै गएको छ ।
एघार मिटर गहिराइ भएको ताल सात वर्षदेखि खहरे खोलाले ताल पुर्ने क्रम जारी राखेपछि तालको गहिराइमा तीन मिटर बढीले कमी आएको उहाँको भनाइ रहेको छ । तालको २० प्रतिशत भाग पुरिएको अवस्थामा रहेको छ ।
ताल पुरिँदै जान थालेपछि तालमा रहेका कछुवा, गोही, माछा र सर्पलगायतका जलचरको अस्तित्वसमेत लोप हुने सङ्घारमा पुगेको छ । एक हजार ४७२ मिटर क्षेत्रफलमा फैलिएको ताल खुम्चिँदै जान थालेको छ ।
खहरे खोला नियन्त्रणका लागि छेकबार पर्खाल निर्माणको कार्य अधुरै छोडिदा समस्या देखिएको छ । चिसापानी पर्यटन बोर्डको रु नौ लाखको लागतमा चालु आवमा पर्खाल निर्माणको कार्यलाई अगाडि बढाउने समितिले योजना बनाएको छ ।
जिल्ला सदरमुकाम महेन्द्रनगरबाट बेदकोट क्षेत्र २२ किलोमिटर टाढा रहेका छ । राजेन्द्रप्रसाद पनेरु/रासस

जनतालाई भारत देख्ने एमालेको सोच गलत छ : नेता पौडेल

तनहुँ, १७ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भारत देख्ने एमालेको सोच गलत भएको बताउनुभएको छ ।

प्रेस युनियन, तनहुँ शाखाले आज बिहान दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले आफू सरकारमा रहँदा संविधान संशोधन गरेर मधेसी जनताको माग सम्बोधन गर्नुपर्छ भन्ने एमाले सत्ताबाट बाहिरिएपछि एकाएक संशोधनबाट भागेको आरोप लगाउनुभयो ।
संशोधनबाट भाग्नु र संसद् चल्न नदिनु भनेको मधेसको उपेक्षा गर्न खोजिएको आभास हुन्छ पौडेलले भन्नुभयो ।
मधेसका असन्तुष्ट पक्षलाई सबै पार्टी मिलेर समाधान गर्नुको विकल्प छैन भन्दै नेता पौडेलले काँग्रेस, एमाले र माओवादी केन्द्र्र मिलेर नै संविधान जारी गरिएकाले संशोधनका लागि मिल्नु आवश्यक रहेको विचार व्यक्त गर्नु भयो ।
देश अहिले फरक मोडबाट अघि बढिरहेको भन्दै नेता पौडेलले स्थानीय निकायको चुनाव जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिनुभयो । रासस

अगुल्टो प्रहारबाट मृत्यु

पाँचथर, १७ पुस । अगुल्टो प्रहारबाट पाँचथर नाँगिनका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा नाँगिन–८ भोटे गाउँ बस्ने ६४ वर्षीय डालमु शेर्पा रहेका छन् ।

गएराति सामान्य विवादमा झगडा हुँदा स्थानीय १८ वर्षीय आकाश शेर्पाले अगुल्टोले डालमुको टाउकोमा प्रहार गरेका थिए ।

अगुल्टो प्रहारबाट गम्भीर घाइते भएका शेर्पाको उपचारका क्रममा घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले बताउनुभयो ।

अगुल्टो प्रहार गर्ने आकाशलाई प्रहरी चौकी नाँगिनले नियन्त्रणमा लिएको छ । रासस

कार्यविधि विवादले श्रम सहचारी नियुक्ति प्रक्रिया लम्बियो

काठमाडौँ, १७ पुस । विभिन्न मुलुकमा रिक्त रहेको श्रम सहचारी लामो समयदेखि नियुक्ति हुन नसक्दा ती मुलुकमा नेपाली कामदारलाई समस्या पर्दा थप असहजता भोग्नुपरिरहेको छ ।

कुबेत, ओमन, मलेसियामा छ महिनाभन्दा बढी समयदेखि रिक्त रहेको श्रम सहचारी नियुक्ति हुन सकेको छैन । त्यस्तै युनाइटेड अरब इमिरेट्स (युएई)मा केही समयमै सहचारीको पद रिक्त हुँदैछ ।

नियुक्ति प्रक्रिया अगाडि बढाउने निकाय श्रम तथा रोजगार मन्त्रालयले भने छ महिनाको अन्तरालमा दोस्रो पटक श्रम सहचारी नियुक्तिसम्बन्धी कार्यविधि संशोधन प्रक्रिया अगाडि बढाइरहेको छ ।

संशोधन प्रक्रिया अगाडि बढाएर सहचारीका लागि आवेदन माग, छनोट र तालिम अवधि पार गर्दा छ महिना बढी समय लाग्ने भएकाले अझै सो अवधिसम्म ती मुलुकमा सहचारी पुग्ने छैनन् ।

तत्कालीन श्रम तथा रोजगार मन्त्री दीपक बोहराको कार्यकालमा गत असारमा श्रम सहचारीसम्बन्धी मापदण्ड, २०६८ खारेज गरी सहचारी नियुक्तिसम्बन्धी नयाँ कार्यविधि, २०७३ ल्याइएको थियो ।

श्रम मन्त्रीमा सूर्यमान गुरुङ आएसँगै छ महिनाअघि पूर्वमन्त्री बोहराको कार्यकालमा बनाइएको कार्यविधि संशोधन गर्न समिति गठन गरिएको छ ।

पूर्वमन्त्री बोहराले ल्याएको कार्यविधिका केही बुँदाप्रति असन्तुस्ट रहेका कर्मचारीको मिलेमतोमा मन्त्रालयबाटै कार्यविधिको सक्कलप्रतिसमेत गायब पारिएको छ ।

अनिवार्य अवकाशको अवधि तीन वर्ष बाँकी रहेकाले सहचारीका लागि आवेदन दिन नपाउने, अङ्ग्रेजी विषयको परीक्षाको अङ्क वृद्धिलगायतका बुँदाप्रति केही कर्मचारी असन्तुष्ट थिए ।
कार्यविधिको पक्षमा रहेका कर्मचारी भने फाइल गायब पार्ने कार्यमा संलग्न कर्मचारीको पहिचान गरी कारबाही हुनुपर्र्नेे बताउँछन् ।
पूर्व मन्त्री बोहराको कार्यकालमा बनाइएको कार्यविधिमा छनोट हुने श्रेणी वा पद सरहमा काम गरेको कम्तीमा तीन वर्ष पूरा भएको र श्रम मन्त्रालय वा सोअन्तर्गतको निकायकामा कम्तीमा लगातार एक वर्ष काम गरेको हुनुपर्ने व्यवस्था गरिएकोे छ ।

सहचारी बन्नका लागि मूल्याङ्कन मापदण्डमा अङ्ग्रेजी भाषा परीक्षाको ३० अङ्क, ज्येष्ठताका लागि २०, प्रस्तुतीकरण र कम्प्युटरसम्बन्धी ज्ञान १६, अङ्गे्रजी भाषा ज्ञान १०, भौगोलिक क्षेत्रको अनुभव १०, शैक्षिक योग्यता आठ, सचिवको मूल्याङ्कन पाँच र समावेशीकरणका लागि एक अङ्क दिने व्यवस्था कार्यविधिमा छ ।

अङ्ग्रेजीलाई बढी प्राथमिकता दिइएको कार्यविधिमा मापदण्डको १०० अङ्कमध्ये ४० अङ्क अङ्ग्रेजीसँग सम्बन्धित छ ।

यसअघि सहचारी भएर गएकाहरुको अङ्ग्रेजी राम्रो नहुँदा कामदारलाई समस्यामा पर्दा सम्बन्धित कम्पनीसँग छलफल गर्न नसक्ने, कागजपत्रको व्यहोरा नबुझ्नेजस्ता समस्या देखिएपछि अङ्ग्रेजीलाई प्राथमिकता दिनुपरेको हो ।

अङ्ग्रेजी भाषा ज्ञानअन्तर्गत टोफेल वा आइएलटिएसमा कम्तीमा ५ दशमलव ५ अङ्क ल्याएको हुनुपर्ने, ३० अङ्कको भाषा परीक्षामा लोकसेवा आयोगले परराष्ट्र सेवाका लागि सम्बन्धित पद वा तहका लागि लिने सेवासम्बन्धी विषयको पाठ्यक्रममा आवेदकले परीक्षा दिनुपर्ने कार्यविधिमा उल्लेख छ ।

सो कार्यविधि संशोधन गर्न श्रम मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा मन्त्रालयले अहिले नयाँ कार्यदल गठन गरेको छ ।

सहसचिव न्यौपानेले आफूहरुले काम सुरु गरिसकेको जानकारी दिँदै एक÷दुई दिनमै कार्यविधि तयार पारी मन्त्रालयमा बुझाउने जानकारी दिनुभयो ।

अहिलेको कार्यविधि निश्चित व्यक्तिलाई मात्रै फाइदा पुग्ने गरी ल्याइएको भन्दै केही कर्मचारीबाट गुनासो आएपछि संशोधन गर्न लागिएको उहाँले बताउनु भयो ।

त्यस्तै कार्यविधिमा रहेको सहचारी छनोट परीक्षामा लोकसेवा आयोगलाई समावेश गराउनेजस्ता अव्यावहारिक प्रावधानका कारणसमेत संशोधन गर्नुपरेको उहाँको भनाइ छ ।

हाल सहचारी रिक्त रहेका मलेसियामा करिब सात लाख, कुबेतमा एक लाख र ओमनमा ३० हजार नेपाली कामदार कार्यरत रहेका छन् ।

मलेसियामा बढी कामदार भएकाले सहचारीको दुई पद सिर्जना गरिएको छ । जसमध्ये अधिकृतस्तरका एक सहचारी हाल कार्यरत छन् भने उपसचिवस्तरको सहचारीको पद खाली नै छ । बहराइन र साउदीको जेद्धामा र मलेसिया कार्यरत, रहेका सहचारी तत्कालै बढुवा भएको रोलक्रममा रहेकाले तीमध्ये केही देशमा फेरि सहचारी पद रिक्त हुने सम्भावना छ ।

त्यसो त यसअघि पनि लामो समय श्रम सहचारी खाली भएकामा गत वर्ष एकैपटक सात देशमा सहचारीको नियुक्ति गरिएको थियो ।

वैदेशिक रोजगारीका क्रममा कामदारलाई समस्या पर्दा गुनासो सुनुवाइ गर्ने तथा सम्बन्धित विदेशी मुलुक र कम्पनीसँग सहजकर्ताको भूमिका खेल्ने गरी सहचारीको अवधारणा ल्याइएको हो ।

नियुक्तिसम्बन्धी कार्यविधिलाई आफू अनुकूल संशोधन गर्ने र सहचारी खाली भएको महिनौँसम्म नियुक्ति प्रक्रिया अगाडि नबढाउने मन्त्रालयको कार्यशैलीका कारण नेपाली कामदारले समस्या पर्दा थप सास्ती भोग्नुपरिरहेको छ ।

सहचारी नियुक्तिसम्बन्धी वार्षिक कार्ययोजना बनाएर रिक्त भएमा तत्कालै नियुक्ति गर्ने परिपाटीको विकास हुन आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् । किरण भट्टराई/रासस

काँग्रेस सिरहाको सभापतिमा सांसद यादव विजयी

लहान, १७ पुस । नेपाली काँग्रेस सिरहाको सभापतिमा सिरहा क्षेत्र नं ४ का सांसद रामचन्द्र यादव विजयी हुनुभएको छ ।

गएराति सम्पन्न मतगणनाअनुसार सांसद यादवले आफ्ना प्रतिद्वन्द्वी नरेशकुमार यादवलाई २०८ मत अन्तरले पराजित गर्दै विजय प्राप्त गर्नुभएको हो ।

सांसद यादवले ५६९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नरेशकुमार यादवले ३६१ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोइरालाले जानकारी दिनुभयो ।

सभापतिमा विजयी हुनुभएका सांसद यादव पार्टी सभापति शेरबहादुर देउवा निकट मानिनुहुन्छ भन्ने उहाँका प्रतिद्वन्द्वी नरेशकुमार यादव पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिनुहुन्छ ।

गत शुक्रबार भएको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि सभापति पदका लागि पुनः शनिवार निर्वाचन भएको थियो ।

यस्तै सांसद यादव प्यानलकै उपेन्द्रकुमार यादवले ५५८ मत प्राप्त गरी पार्टीको सचिव पदमा विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी रामकुमार यादवले ३०३ मत प्राप्त गर्नुभएको छ ।

पार्टी कोषाध्यक्षमा पनि सांसद यादव प्यानलकै सूर्यनारायण मण्डलले ४८९ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी कपलेश्वर साहले २६८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । रासस

अग्र्यानिक चिया उत्पादनमा उपराष्ट्रपतिको जोड

इलाम, १७ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले अग्र्यानिक चिया उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ ।

इलामको सूर्याेदय नगरपालिकाको सुन्दरपानीमा रहेको गोर्खा टिस्टेटको शनिबार अवलोकन गर्दै उहाँले अग्र्यानिक चियाको भविष्य विश्वबजारमा राम्रो भएकाले कृषि क्षेत्रको विकासका लागि अग्र्यानिक चिया उत्पादनलाई जोड दिन कारखाना व्यवस्थापन पक्षलाई आग्रह गर्नुभयो । उहाँले कारखाना व्यवस्थापन पक्ष र मजदुर तथा किसानसँग पनि अन्तक्र्रिया गर्नुभएको छ ।

उहाँले कन्यामस्थित चिया बगानको अवलोकन भ्रमण गर्नुभएको छ । उपराष्ट्रपति पुनले सूर्योदय नगरपालिकाको पञ्चकन्यास्थित करफोक विद्या मन्दिर उच्च माविको भ्रमण गर्नुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

कृषकको जीवनस्तर उकास्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय इलामले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु गरेको छ ।

कृषि उत्पादन केन्द्र (पकेट विकास व्यावसायिक कार्यक्रम) का लागि रु ७० लाख ६३ हजार तथा व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) का लागि रु एक करोड ५० लाख ३५ हजार बजेट प्राप्त भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी, प्रकाशमणि काफ्लेले जानकारी दिनुभयो ।

दश वर्षे परियोजनाअन्तर्गत पहिलो वर्ष इलामका २५ वटा पकेट र तरकारी तथा अलैँचीका ब्लक सञ्चालन गरिनेछन् ।
तरकारीबाली सुम्वेक, माइपोखरी र सूर्योदय नगरपालिकामा सञ्चालन गरिनेछ भने अलैँचीका कार्यक्रम साँखेजुङ, देउराली र देउमाई नगरपालिकामा सञ्चालन गरिने कार्यालयले जनाएको छ । रासस

गृहमन्त्री निधिद्वारा निर्वाचनका लागि तयार रहन निर्देशन

गोरखा, १६ पुस । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले जुनसुकै बेला स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सङ्केत गर्दै निर्वाचनका लागि तयारी अवस्थामा रहन गोरखाका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

आज यहाँ कार्यालय प्रमुखसँग गरिएको अन्तक्र्रियामा गृहमन्त्री निधिले भन्नुभयो, “स्थानीय तह वा निकाय जेमा राजनीतिक दलहरुबीच सहमति हुन्छ त्यसैको निर्वाचन गर्नेगरी सरकारले मिति घोषणा गर्छ । आउँदो चैत मसान्तदेखि वैशाख दोस्रो साताभित्रमा स्थानीय तह वा निकायको निर्वाचन गरिसक्छौँ ।”
संविधानको स्वीकार्यतालाई अझै फराकिलो बनाउन सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको र संसद्बाटै पारित गर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “संसद्बाट संविधान संशोधन पारित गरेपछि निर्वाचनको मिति घोषणा हुन्छ । निर्वाचन कार्यालयहरुले मतदाता नामावली अद्यावधिक गर्नुहोला ।”
उहाँले ‘गोरखा भूकम्प’ ले क्षति पु¥याएका निजी घर तथा सार्वजानिक भवन पुनःनिर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै निजी घर बनाउन अनुदान पाउन छुटेका भूकम्पपीडितलाई छिटो अनुदान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाको समसामयिक अवस्थाबारे गृहमन्त्री निधिलाई जानकारी गराउनुभएको थियो । बूढीगण्डकीको मुआब्जा पुनरावलोकन, गोरखा दरबारको पुनःनिर्माण, दोस्रो किस्ता छिटो पठाउनुपर्ने तथा अनुदान पाउन छुटेका १६ हजार भूकम्पपीडितको गुनासो छिटो फस्र्याैट गर्नुपर्ने अवस्था रहेको प्रजिअले जानकारी गराउनुभयो । रासस

बीपीको मेलमिलापको सिद्धान्त अहिलेको सन्दर्भमा महत्वपूर्ण : मन्त्री महत

चितवन, १६ पुस । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियता मजवुद बनाउनका लागि बीपीको मेलमिलापको सिद्धान्त अहिलेको सन्दर्भमा महत्वपूर्ण रहेको बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाज चितवनले ४१ औंँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज यहाँ आयोजना गरेको “मेलमिलाप दिवसको सन्दर्भ र सान्दर्भिकता” विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री डा महतले बीपीको मेलमिलाप नीतिमा सबैको विचार एक हुनुपर्छ भन्ने होइन, एउटै विधिबाट देश चल्नुपर्छ भन्ने सन्देश रहेको बताउनुभयो ।

उहाँले विधिको शासनमार्फत समाज परिवर्तन आजको आवश्यकता रहेको बताउनुहुँदै राजनीतिक बहस भन्दा अवको समयमा विकासका बहस हुन जरुरी भएको विचार व्यक्त गर्नु भयो । आर्थिक रुपमा कमजोर मुलुक भएकाले विदेशीले आफ्नो दबाब देखाउन खोज्नु स्वाभाविक भएको भन्दै उहाँले विदेशीको चासो र चिन्तालाई एकैपटकमा हटाउन नसकिने बताउनुभयो ।

पछिल्लो समय राष्ट्रियतालाई गलत ठाउँबाट उठान गरिएकाले राष्ट्रियतामाथि आघात पुग्न जाने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले मेलमिलाप दिवस केवल देखावटी रुपमा मात्रै मनाउँदै आइएको बताउँदै यसलाई व्यवहारमा उतार्नुपर्ने धारणा राख्नु भयो । बीपीको मेलमिलाप नीतिले राष्ट्रियता मजवुद बनाउने बताउँदै उहाँले अहिलेको राजनीतिक सन्दर्भमा बीपीको मेलमिलाप नीतिको आवश्यकता अरु बढिरहेको छ भन्नु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, सांसद रामकृष्ण घिमिरे, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सचिव डा ईश्वरी लौडारी, प्राडा.देवीप्रसाद कँडेललगायतले राष्ट्रिय मेलमिलापको महत्व माथि प्रकाश पार्नु भएको थियो । रासस

प्रधानमन्त्री र मोर्चाबीच संविधान संशोधनलाई अघि बढाएर निर्वाचनमा जाने सहमति

आठ महिनादेखि पदाधिकारीविहीन प्रतिष्ठान अस्तव्यस्त

जुम्ला, १६ पुस । आठ महिनादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पदाधिकारी विहीन हँुदा यहाँको प्रशासनिकलगायत समग्र क्षेत्र अस्तव्यस्त बन्दै गएको छ ।

उप– कुलपति, रजिष्ट्रार र अस्पताल निर्देशकलगायतका पदाधिकारी विहीन हुँदा प्रतिष्ठानको दैनिककार्य अस्तव्यस्त बन्दै गएको हो । प्रतिष्ठानका उप–कुलपति डा पारसकुमार आचार्यको अवधि सकिएलगतै जेठदेखि प्रतिष्ठान उप–कुलपति विहीन छ ।

अस्पताल निर्देशक डाक्टर जावेद अहमेद खानले प्रतिष्ठान छोडेको पनि सात महिना भन्दा बढी भइसकेको छ । त्यस्तै, रजिष्ट्रार श्याम लम्सालको साउनमा कार्यकाल सकिँदा भएको पदाधिकारी रिक्तताले यहाँको प्रशासनिक काममा झनै ठूलो समस्या आएको निमित्त उप–कुलपति डा धर्मराज श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सामान्यत तल्लोस्तरका काम भए पनि आर्थिक सम्बन्धी ठूला काममा समस्या आउने गरेको छ । पदाधिकारीका विषयमा बारम्बार कुरा उठाउँदा पनि त्यसको सुनुवाई नै गरिँदैन र राजनीतिक भागबण्डाले पनि समस्या बनाएको छ ।” सरकारले पदाधिकारी एक हप्ताभित्र नियुक्ति गरेर पठाउने भनेको धेरै बितेको र अहिलेसम्म प्रतिष्ठान पदाधिकारी विहीन नै भएको निमित्त मेडिकल डाइरेक्टर डा प्रवीणकुमार गिरीले बताउनुभयो ।

प्रतिष्ठान नेतृत्व विहीन हुनुले प्रशासनिकसहित शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा समस्या आएको प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिनुभयो । रासस

‘स्थानीय तहको निर्वाचनका लागि मतपत्र छाप्ने मेसिन नेपालमा छैन’

काठमाडौँ, १६ पुस । निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुले स्थानीय तह वा निकायको निर्वाचनमा भाग लिई उम्मेदवारी दिए भने मतपत्रको आकार कत्रो होला ? अनुमान लगाउन नसकिने भएको छ, यही नै आयोगका लागि अहिले प्रमुख चुनौती बन्न पुगेको छ ।

हालसम्म आयोगमा ११० राजनीतिक दलले दल दर्ता गराएका छन् । ती अधिकांश दलले सबै वडामा आफ्नो उम्मेदवारी दिन नसक्लान् तर संविधानसभाको निर्वाचनमा सहभागी भएका दलले मात्र उम्मेदवारी दिएभने पनि मतपत्रको आकार तीन फिटभन्दा ठूलो हुने आँकलन आयोगको छ ।

विसं २०६४ चैत २८ र २०७० मङ्सिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनमा एक निर्वाचन क्षेत्रमा ६ देखि ५० उम्मेदवार (स्वतन्त्र)सहितले उम्मेदवारी दिएका थिए । अर्काेतर्फ २०४९ र २०५४ मा सम्पन्न स्थानीय निकायका निर्वाचनमा एउटा वडामा चारदेखि ३२ उम्मेदवारले उम्मेदवारी दिएका थिए ।

“तीनफिट भन्दा लामो मतपत्र भएमा कसरी व्यवस्थापन गर्ने र मतपत्रको अर्काे विकल्पका रुपमा विद्युतीय मतदानयन्त्र नै लागू गर्ने भन्ने यी दुई विकल्पमा आयोगमा गृहकार्य सुरु गरेको छौँ” प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भन्नुभयो ।

व्यवस्थापिका–संसद्, विकास समितिको यही पुस १४ गतेको बैठकमा उहाँले निर्वाचनसम्बन्धी चुनौतीका बारेमा विस्तृत विवरण प्रस्तुत गर्दै तीन फिटको मतपत्र छाप्ने प्रिन्टिङ मेसिन नेपालमा नभएको जानकारी दिनुभयो ।

स्थानीय तह वा निकाय जुनसुकै निर्वाचनमा जाँदा आयोगलाई मतपत्र छपाई, मतपत्रबक्स (व्यालेट बक्स) र मतदान गरिसकेपछि मतगणनास्थलसम्म पु¥याउन नै ठूलो चुनौती बन्ने देखिएको छ । दुवै संविधानसभाका निर्वाचनमा मतपत्र छपाई गरेको जनक शिक्षा सामग्री संस्थानसँग पनि मतपत्र छपाई गर्ने क्षमता छैन । प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो, “जनक शिक्षालाई विदेशबाट मेसिन झिकाउनुप¥यो, जडान गर्नुप¥यो यसका लागि कम्तीमा चार पाँच महिना लाग्छ ।”

सरकारले स्थानीय तह वा निकाय कुनको निर्वाचन गर्ने भन्ने बारेमा हालसम्म आयोगलाई जानकारीसमेत गराएको छैन । उसो त आयोगमा तीनजना आयुक्तका पदावधि समाप्त भएको लामो समय बितिसकेको छ ।

“मतदान गरिसकेपछि मतगणनास्थलसम्म मतपेटिका पु¥याउन चुनौती रहेको आयोगले जनाएको छ । यसका लागि कति आर्थिक खर्च पर्छ आयोगले हिसाब गर्न लागेको छ”–प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो ।

गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सीमाना निर्धारण आयोगको प्रतिवेदनअनुसार नयाँ संरचनामा स्थानीय तहको निर्वाचन गर्दा वडाको जनसङ्ख्या वृद्धि भएका कारण मतपत्र, मतपत्रबक्स र यसको व्यवस्थापन नै जटिल हुने भएको हो ।

अर्काेतर्फ आयोगले स्थानीय, प्रदेश, प्रतिनिधिसभा तहका निर्वाचन गराउन तयारी रहेको जनाएको छ । यसका लागि उसले २१ हिमाली जिल्लामा मतदाता नामावली सङ्कलन गर्ने कार्य पूरा गरिसकेको छ भने बाँकी ५४ जिल्लामा मतदाता नामावली सङकनलाई निरन्तरता दिएको छ ।

स्थानीय तह पुनःसंरचना आयोगले पनि निर्वाचन आयोगको आग्रहअनुसार वडालाई नटुक्रयाई गासिवको मात्र पुनःसंरचना गरेको छ । ७०० को हाराहारीमा स्थानीय निकायको सङ्ख्या र ती निकायमा करिब पाँच सय वडा हुने बतार्ईएको छ ।

निर्वाचनका लागि कानुन नै तयार छैन
प्रमुख सत्ता साझेदार दलसहित प्रमुख प्रतिपक्षी दलले ‘निर्वाचनको अर्काे विकल्प छैन’ भनिररहे पनि निर्वाचनका लागि आवश्यक विधेयकमा सहमति गर्न सकेका छैनन् । निर्वाचन आयोग, राजनीतिक दल र मतदाता नामावलीसम्बन्धी तीनवटा विधेयक मस्यौदा व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा विचाराधीन नै रहेका छन् ।

अर्काेतर्फ स्थानीय निकाय निर्वाचन कार्याविधि ऐनको संशोधन मस्यौदा पनि त्यत्तिकै थन्किएर रहेको छ । सो कार्यविधिमा पहिलो पटक प्रमुख वा उपप्रमुख मध्ये महिला अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ । विष्णु नेपाल/रासस

अत्यधिक चिसोबाट १०५ वर्षीया वृद्धाको मृत्यु

गौशाला, १६ पुस । अत्यधिक चिसोबाट आज महोत्तरीको भटौलिया गाविसमा १०५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको एकडारा गाविस– घर भई माइती घर भटौलिया गाविस– ७ पर्सामा बस्दै आएकी १०५ वर्षीया रामरतिदेवी रहेको स्थानीयवासीले बताएका छन् ।

ससुरालीमा पति, छोराबुहारी, छोरी वा अन्य कोही कत्तै नभएको तथा माइतीमासमेत कोही नरहेको वृद्धा रामरति वर्षौदेखि माइतीमै एक्लै बस्दै आएकी थिइन् भने आज बिहान उनको मृत्यु भएको उनका भाइका नाती रामबाबु यादवले जानकारी दिनु भयो ।

न्यानो लुगाफाटो, पोषिलो खानेकुरा र आवश्यक सबै कुराको अभावमा जसोतसो बाँच्दै आएकी रामरतिको जिल्लामा केही दिनदेखि चलेको शीतलहर र चिसो हावाले कठ्याङ्ग्रिएर आज बिहान मृत्यु भएको नाती रामबाबुले बताउनु भयो । रासस

एनआरएनएद्वारा लाप्राक नमुना बस्तीको काम सुरु

गोरखा, १६ पुस । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि धमाधम घडेरी खार्ने काम अघि बढाएको छ ।

भूकम्पप्रभावित लाप्राकीलाई सरकारले गुप्सीपाखामा घर बनाउने प्रयोजनका लागि घडेरी उपलब्ध गराएपछि एनआरएनएले अहिले घडेरी खार्ने काम गरिरहेको छ । ६१७ टहरा हटाएर गुप्सीमा घडेरी बनाइएको हो । गुप्सीमा बस्दै आएका लाप्राकी कोही पुरानै गाउँ तथा कोही रिञ्जीलुङतर्फ सरेका छन् ।

लाप्राक पुनःनिर्माणको कामलाई गति दिन एनआरएनएका अध्यक्ष शेष घले नेतृत्वको टोली गत पुस ११ गतेदेखि शुक्रबारसम्म लाप्राकस्थित गुप्सीपाखामा बसेका थिए । पुनःनिर्माणका लागि आवश्यक स्वयम्सेवक बस्ने आवास गृह, खानेपानीलगायत पूर्वाधार खडा गर्नका लागि पूर्व तयारी गर्न भन्दै घले गुप्सीमा बस्नुभएको थियो ।

एनआरएनएले पनि आउँदो एक वर्षभित्रमा निजी घर, विद्यालयलगायत सार्वजनिक भवनको निर्माण गर्ने गरी कामलाई तीव्र रुपमा अघि बढाएको हो ।

गुप्सीपाखामै इँट्टा बनाउने मेसिन पु¥याएर निजी आवास निर्माणलाई तीव्र रुपमा अघि बढाउने एनआरएनएको तयारी छ । लाप्राकको सिङ्गो बस्ती एनआरएनएले पुनःनिर्माण गर्ने जिम्मा लिएपछि लाप्राकीले सरकारले दिने भनेको अनुदान रकम लिन पाएनन् । रासस

उपत्यकाका नदीबाट सोह्र मेट्रिक टन फोहर निकालियो

काठमाडौँ, १६ पुस । उपत्यकाका प्रमुख नदी सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बागमती सफाइको १९० औँ हप्तामा आज तिलगङ्गा क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । स्वतः स्फूर्त रुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले सफाइ र अर्को समूहले तिलगङ्गा क्षेत्रका घर÷घरमा छिरेर जनचेतनामूलक अभियान सञ्चालन गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

तिलगङ्गा क्षेत्रका घर दैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको सदस्य श्रेष्ठले बताउनुभयो ।

आजको सफाइ महाअभियान पूर्व सचिव किशोर थापा, एलपी भानु शर्मा, डा राजु अधिकारी लगायतको नेतृत्वमा सम्पन्न भएको थियो । सफाइमा अधिकार सम्पन्न बागमती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल विज्ञापन सङ्घ, जीवन विज्ञान नेपाल, लायन्स क्लब, न्यानो स्पर्श, एस ट्राभल्स, तिलगङ्गा महिला समूह लगायतको सफाइमा संस्थागत सहभागिता थियो ।

आजदेखि बागमती सफाइ महाअभियान शङ्खमूल– गुह्येश्वरी खण्डमा केन्द्रित भएको छ । यो खण्डमा बागमती सफाइको २०० औँ हप्तासम्म स्नानयोग्य बनाउन अभियान केन्द्रित गरिएको सफाइ महाअभियानले जनाएको छ ।

रुद्रमती सफाइको १४९ औँ हप्तामा आज रातोपुल– सिफल हुँदै भण्डारेश्वर महादेव मन्दिर र कालोपुलसम्म सफा गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

सो स्थानबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, चारुमती मित्र समूह, भण्डारेश्वर व्यवस्थापन समिति, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो ।

महानगरपालिका– ७ नं वडा नागरिक मञ्चले कालोपुलदेखि मित्रपार्कसम्मको सडकलाई फोहरमुक्त घोषणा गरेको सो अवसरमा संयोजक रमेश महर्जनले जानकारी दिनुभयो । आगामी हप्ता रुद्रमती सफाइ सुरु भएको १५० औँ हप्ताका अवसरमा बूढानीलकण्ठदेखि बुद्धनगरसम्मको नदी क्षेत्रमा सफा गरिने समाजले जनाएको छ ।

विष्णुमती सफाइको १२३ औँ हप्तामा आज तारकेश्वर नगरपालिका– १६ स्थित विष्णुमती र महादेवखोलाको दोभान क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाईसँगै यस क्षेत्रमा जनचेतनामूलक कार्यक्रम पनि गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो ।

सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विष्णुमती नदीलाई छुने महानगरपालिकाका वडाका कर्मचारी, नेप्से म्याक प्रालि, आमा समूह, तारकेश्वर नगरपालिका एवम् स्थानीयवासीको सक्रिय सहभागिता थियो ।

गुह्येश्वरीमाथिको बागमती सफाइको १५१ औँ हप्तामा आज सर्वेश्वर विश्रामस्थल आसपासको बागमती क्षेत्रमा सफाइ गरियो । सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । यस क्षेत्रको आजको सफाइमा चाल्र्स डाटर्बिन स्कुलका विद्यार्थीले घर घरमा गएर नदीमा फोहर नफाल्न अनुरोध गरे । आजदेखि प्रत्येक हप्ता विद्यार्थीलाई परिचालन गरेर जनचेतना फैल्याइने भएको छ ।

सफाइमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, र माकालबारी टोलसुधार समिति लगायतको सक्रियता थियोे । नख्खुखोला सफाइको ६८ औँ हप्तामा आज सफाइ सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरियो । रासस

विज्ञान प्रविधिको समूचित उपयोग गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान प्रविधिको समूचित उपयोग गरी राज्यको विकास र समृद्धि कायम गर्न सक्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलन तथा एकता भेलाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माण तथा विकासमा प्राविधिकको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणमा खटिएका इन्जिनियरको सुरक्षा र आवश्यकतालाई सरकारले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले देशको समृद्धि र राजनीतिक गतिरोधका सन्दर्भमा सही सन्देश दिन पनि यस सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकको विकासका लागि सबै दलको साझा दृष्टिकोणको खाँचो रहेको औँल्याउँदै प्राविधिक जनशक्तिलाई स्वदेशमा नै उपयोग गर्नुपर्ने बताउनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउन दक्ष प्राविधिक जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि २४० इन्जिनियर र प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र विकास कार्यक्रममा कम्तीमा एक र बढीमा तीन जनासम्म इन्जिनियरलाई रोजगारीको सिर्जना गरिएको बताउनुभयो ।

नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष हरिराम श्रेष्ठ, वरिष्ठ इन्जिनियर डा जीवराज पोखरेललगायतले इन्जिनियरको क्षमता अभिवृद्धि गर्न व्यावसायिक तालिमको जरुरी रहेको विचार व्यक्त गर्नुभयो । रासस

Thursday, December 29, 2016

लियो कर्पोरेट क्रिकेट प्रतियोगिता सुरु

लुम्बिनी, १५ पुस । लियो क्लब सिद्धार्थनगरकोे आयोजनामा भैरहवामा लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

भैरहवास्थित सिद्धार्थ रङ्शालाको मैदानमा सुरु भएको वोदी रेडसन आठौँ लियो कर्पोरेट सुपर सिक्स प्रतियोगितामा १२ वटा टिम सहभागी रहेको क्लबले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल द नेक्स्ट एजुकेसन कन्सलटेन्सी बुटवल र फेवा विकास बंैकबीच भएको क्लबका अध्यक्ष गौतम गुप्ताले जानकारी दिनुभयो ।

फेवा गत वर्षको विजेता टिम हो । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताअनुसार आज ६ वटा लिग र एउटा सेमीफाइनल खेल हुने प्रतियोगिता संयोजक अरुण पन्थीले जानकारी दिनुभयो ।

प्रतियोगितामा एभरेस्ट फाइनान्स, फेवा विकास बैंक, जनता बैंक नेपाल, जेके ह्वाइट सिमेन्ट, प्रिमियर इन्सुरेन्स, सिद्धार्थ बैंक, सनराइज बैंक, इन्नोभेटिव डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, द नेक्स्ट एजुकेसन कन्सलटेन्सी, मेगा बैंक र एबिएस मोटर्सको सहभागिता रहेका छन् ।

वोदी होटल रेडसनको मुख्य प्रायोजन तथा द नेक्स्ट एजुकेसन कन्सलटेन्सीको सह–प्रायोजन र अरू बिभिन्न व्यवसायी, सङ्घसंस्थाको सहयोगमा जारी प्रतियोगिताको वोदी रेडसन होटलका सञ्चालक प्रमोद यादवले उद्घाटन गर्नुभएको क्लबका सचिव रोशन शर्माले जानकारी दिनुभयो ।

विगत सात वर्षदेखि गरिँदै आएको कर्पोरेट प्रतियोगिताले यस क्षेत्रमा रहेको बैंक, कर्पोरेट हाउस र सामाजिक क्षेत्रमा क्रियाशील युवाबीचमा आपसी भाइचारा स्थापित गर्दै सम्बन्ध विकास हुने लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष गुप्ताले उल्लेख गर्नुभयो । रासस

तरकारी खेतीबाट बुबाको सपना साकार पार्दै हिदराज

कोहलपुर (बाँके), १५ पुस । नेपालगन्ज उपमहानगरपालिका–२४ बन्जाडे गाउँका हिदराज अली बेहनाले तरकारी खेती गरी आफ्नो बुबाको सपना साकार पार्नुभएको छ ।

आजभन्दा ५ वर्षअगाडि वैदेशिक रोजगारका लागि आफूलाई थाहै नदिई राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय नेपालगन्ज पुग्नुभएका आफ्ना बुबाको ‘छोराले धेरै पैसा कमाओस्’ भन्ने चाहनालाई आफूले स्वदेशमै व्यावसायिक तरकारी खेती गरेर पूरा गरेको बेहनाले बताउनुभयो ।

“त्यतिबेला हाम्रो घरको स्थिति निकै कमजोर थियो,” बेहनाले भन्नुभयो – “बुबाले रुपैडियाबाट तरकारी किनेर अनि त्यसलाई बेचेर हामीलाई पढाउनुहुन्थ्यो ।” उहाँका अनुसार विदेश गएर धेरै पैसा कमाओस् र खेत किनोस् भन्ने बुबाको चाहना थियो ।

“बुबाको विदेश पठाउने इच्छा त मैले पूरा गर्न सकिनँ तर तरकारी लगाउने खेत किन्ने र तरकारी खेती गर्ने सपना भने पूरा गरँे,” बेहनाले भन्नुभयो । पाँच वर्षअघि कक्षा ८ मा पढ्ने १८ वर्षीय बेहनाले बुबालाई तरकारी खेतीबाट आम्दानी हुन्छ भन्ने विश्वास दिलाउँदै सुरुमा अरूको दुई कट्ठा जमिन ठेक्कामा लिएर तरकारी खेती सुरु गर्नुभयो । “सुरुमा ३० हजार रुपैयाँ लगानी गरी दुई कट्ठा जमिनमा टमाटर मात्रै लगायौँ,” बेहनाले भन्नुभयो – “त्यो टमाटर खेतीबाट ६० हजार आम्दानी भयो ।”

पहिलो खेतीबाटै सफलता प्राप्त भएपछि बिस्तारै अरू तरकारी लगाउन थप दुई कट्ठा जमिन ठेक्कामा लिई तरकारी खेती गरेको उहाँले बताउनुभयो । “बिस्तारै रकम जम्मा गरेपछि हामीले तरकारी खेतीबाटै नौ कट्ठा जमिन किन्यौँ, अहिले आफ्नै नौ कट्ठा जमिन र चार कट्ठा ठेक्कामा गरी १२ कट्ठा जमिनमा भन्टा, गोभी, टमाटर, फर्सी लगायतका तरकारी खेती गरिरहेका छौँ,” बेहनाले भन्नुभयो ।

तरकारी खेतीबाटै आफ्नो र बहिनीको बिहे सम्पन्न गर्नुभएका बेहनाले अहिले घर बनाउन इँटासमेत किनिसक्नुभएको छ । “म विदेश गएको भए यसरी कमाउन सक्थें कि सक्दिनथें थाहा छैन तर आफ्नै परिवारसँग बसेर तरकारी खेती गर्न पाउँदा निकै सन्तुष्ट छु,” बेहनाले रासससँग भन्नुभयो – “तरकारी खेतीमा अहिले परिवारका सबै बुबा, आमा, श्रीमती, बहिनी, भाइ र म खटिरहेका छौँ ।” तरकारी खनजोत गोडमेलका लागि दैनिक तीन–चारजना कामदारसमेत राखिएको छ ।

वर्षमा दुई याम तरकारी लगाउने बेहनाले घरखर्च, कामदार, बीउबिजन, भाइबहिनीको पढाइ सबै खर्च कटाएर चोखो रु दुईदेखि अढाइ लाखसम्म आम्दानी गरिरहनुभएको छ । “मैले उत्पादन गरेको तरकारी बेच्नलाई समस्या छैन, बारीमै तरकारी किन्न ग्राहक आउँछन्,” बेहनाले भन्नुभयो – “बाँकी तरकारी यहाँबाट नेपालगन्ज रानीतलाउ तरकारी मण्डीमा साइकलमा लैजान टाढा हुने भएकाले अब अटो रिक्सा किन्ने सोचमा छु ।”

व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरनुभएका उहाँ युवालाई वैदेशिक रोजगारको मोह त्यागी स्वदेशमै केही आयमूलक कार्य गर्न सुझाव दिनुहुन्छ । अमृता केसी/रासस

साहित्यकार ओझाको निधन

भीमदत्तनगर, १५ पुस । सुदूरपश्चिमका अग्रज साहित्यकार आत्माराम ओझाको ८८ वर्षको उमेरमा आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा निधन भएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–६ निवासी साहित्यकार एवम् इतिहासकार ओझा सुदूरपश्चिममा २००६ सालमा ‘उसा अनिरुद्र नाट्य’ कृतिबाट साहित्य क्षेत्रमा उदाउनुभएको थियो । उहाँको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको भीमदत्तनगरमा साहित्यकार हेमबाबु लेखकले बताउनुभयो ।

एक दर्जन कृतिका रचयिता साहित्यकार ओझाले सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कारसमेत प्राप्त गर्नुभएको थियो । त्यसैगरी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका महासचिव टी एन जोशीले पनि साहित्यकार ओझाको निधनबाट साहित्य र संस्कृतिका क्षेत्रमा क्षति पुगेको अभिव्यक्तिसहित भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

‘सुदूरपश्चिम इतिहास परिचय’ ‘तिला’ र ‘राजा नागी मल्ल’ उहाँका प्रसिद्ध कृति हुन् । रासस

आजदेखि मादीको साढे १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै

पोखरा, १५ पुस । कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको दुईमध्ये एउटा मात्र टर्वाइन आजदेखि सञ्चालन गरिन लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिनुभयो ।

आयोजनाबाट उत्पादन गरिएको विद्युत् लेखनाथ नगरपालिकास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । करिब रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक सहयोग जुटाई निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, महाभूकम्प र सुरुङ खन्ने क्रममा पहिरो जाँदा लागत बढेर सात अर्ब रुपैयाँ पुग्न गएको बताइएको छ ।

कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशत लगानीमा विसं २०६९ को पुस महिनादेखि आयोजना सुरु गरिएको थियो ।

ऊर्जामन्त्री जनार्दन शर्माले नवनिर्मित आयोजनाको आज उद्घाटन गर्ने कार्यक्रम छ । रासस

नेपाली सेना र सशस्त्र प्रहरी क्रिकेट उपाधिका लागि भिड्दै

मोरङ, १५ पुस । सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेना र सशस्त्र प्रहरी पुरुष क्रिकेटको फाइनलमा आज भिड्दै छन् । दुवै टोली केहीबेरपछि यहाँस्थित बैजनाथपुरको खेल मैदानमा फाइनल खेल्ने तयारीमा छन् ।

बिहीबार बैजनाथपुर खेल मैदानमा सम्पन्न खेलमा सेनाले नेपाल प्रहरीलाई आठ विकेटले तथा सशस्त्र प्रहरीले मध्यमाञ्चललाई आठ विकटले नै पराजित गरी उपाधिका लागि आफ्नो स्थान सुरक्षित गरेका हुन् । बैजनाथपुरको खेल मैदानमा बिहीबारको खेलमा सेनाले नेपाल प्रहरीलाई आठ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको प्रहरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाई एक सय ४४ रन बनायो । सेनाले विजयी लक्ष्य १८.३ ओभरमा दुई विकेट गुमाई पूरा गरेको थियो । सेनाका लागि सागर पुनले ४८ बलमा एक छक्का र सात चौका प्रहार गरी ५९ रन तथा अविजित रहेका अनिल मण्डलले ५४ बलमा ६ चौकाको मद्दतमा ६२ रन बनाए । बलिङतर्फ प्रहरीका मञ्जित श्रेष्ठ र दीपेन्द्र ऐरीले एक–एक विकेट लिए ।

यसअघि प्रहरीका लागि ब्याटिङ गर्ने क्रममा प्रेम तामाङले ३७ बलमा ४ चौकाको मद्दतमा ३५ रन तथा दिलीप नाथले २५ बलमा एक छक्का र तीन चौका हान्दै ३२ रन बनाए । बलिङतर्फ सेनाका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट तथा विक्रम सोव र चन्द्र साउदले दुई–दुई विकेट लिएका थिए ।

यस्तै, अर्को खेलमा सशस्त्र प्रहरीले मध्यमाञ्चललाई आठ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरमा सबै विकेट गुमाई ६१ रन मात्र बनायो । विजयका लागि ६२ रनको लक्ष्य पछ्याएको सशस्त्रले ९.३ ओभरमा दुई विकेट गुमाई पूरा गरेको थियो । सशस्त्रका लागि प्रदीप ऐरीले अविजित रही २४ बलमा चार चौकाको मद्दतमा ३३ रन तथा पृथू बाँस्कोटाले अविजित ९ रन बनाए । बलिङतर्फ मध्यमाञ्चलका रसिद खानले दुई विकेट लिए ।

यसअघि मध्यमाञ्चलका लागि ब्याटिङ गर्ने क्रममा हरिशङ्कर साहले २१ रन बनाएका थिए । बलिङतर्फ सशस्त्रका करण केसी र वसन्त रेग्मीले दुई–दुई विकेट तथा शक्ति गौचन, पारस खड्का, यज्ञमान कुमाल र भुवन कार्कीले एक–एक विकेट लिएका थिए ।

स्क्वास
ललितपुरको सातदोबाटोमा बिहीबार भएको स्क्वास खेलको पुरुष एकलमा सेनाका अरहान्तकेशर सिंह र अमृत थापा मगर फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा अरहान्तले मध्यमाञ्चलका विनोदरत्न शाक्यलाई ११–१, ११–२ र ११–५ अ्ङ्क तथा अमृतले मध्यपश्चिमाञ्चलका ज्ञानु चौधरीलाई ११–५, ११–८ र ११–५ को सोझो सेटमा पराजित गरे । उक्त स्पर्धाको महिलातर्फ सेनाका विपना ब्लोन र मध्यमाञ्चलका भावना सुनवारले उपाधिका लागि स्थान पक्का गरिसकेका छन् । फाइनल खेल आज हुनेछ ।

ह्यान्डबल
मोरङको टङ्कीसुनवारीमा बिहीबार भएको ह्यान्डबल खेलमा पुरुष र महिला दुवैमा नेपाली सेना र सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेका छन् ।

पुरुषतर्फ सेनाले आयोजक पूर्वाञ्चललाई ३५–२० अङ्कले तथा सशस्त्रले पश्चिमाञ्चललाई ३२–२६ अङ्कले हराएको थियो । महिलातर्फ सेमीफाइनलमा सेनाले पश्चिमाञ्चललाई २७–१२ अङ्कले पाखा लगायो भने सशस्त्रले मध्यमाञ्चललाई ४३–६ अङ्कले पराजित गरेको थियो ।

रेपिड चेस
नेपाली सेनाका क्यान्डिडेट मास्टर केशव श्रेष्ठ र महिला फिडेमास्टर सुजना लोहनी रेपिड चेस च्याम्पियन बनेका छन् ।

साताँैं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धनकुटामा बिहीबार सम्पन्न खेलमा केशवले ७ खेलबाट ५.५ अङ्क बटुल्दै स्वर्ण जिते । समान ५.५ अङ्क बनाएका पूर्वाञ्चलका प्रकाश नेपालले रजत तथा मध्यमाञ्चलका गणेशमान दुवालले कास्य पदकमा चित्त बुझाए । महिलातर्फ ७ खेलबाट समान ६ अङ्क बनाएका सेनाका सुजना लोहनीले स्वर्ण, सेनाकै सिन्दिरा जोशीले रजत तथा सशस्त्रका शान्ता थापाले कास्य पाए ।

जिम्न्यास्टिक
झापाको धुलाबारीको पासाङ ल्हामु कभर्ड हलमा बिहीबार सम्पन्न जिम्न्यास्टिक प्रतियोगितामा सशस्त्र प्रहरीले १० वटा स्वर्ण जितेको छ ।

पुरुषतर्फ टिम इभेन्टसहित सात तथा महिलातर्फ टिम इभेन्टसहित तीनवटा स्वर्ण जितेको हो । पुरुषतर्फको भुइँ व्यायाममा सशस्त्रका राजु राईले सशस्त्रकै उज्जवल तिवारीलाई हराएर स्वर्ण जितेका हुन् भने मध्यमाञ्चलका त्रिदेव गिरीले कास्य पदक जिते ।

यस्तै, पोमेल हर्समा सशस्त्रका राजु राईले स्वर्ण, सशस्त्रकै रमेश श्रेष्ठले रजत तथा सुदूरपश्चिमका भक्तबहादुर चौधरीले कास्य जिते । रोमन रिङमा समेत सशस्त्रका राजु राईले स्वर्ण, सशस्त्रकै श्रीकृष्ण गर्वुजाले रजत तथा मध्यमाञ्चलका सत्यनारायण मानन्धरले कास्य जिते ।

यसैगरी, पारलर वारमा सशस्त्रका राजु राईले स्वर्ण, सशस्त्रकै विष्णु बाटाले रजत र मध्यमाञ्चलका सत्यनारायण मानन्धरले कास्य पदक जिते । यस्तै राजु राईले नै अलराउन्ड च्याम्पियनमा स्वर्ण, मध्यमाञ्चलका उज्जवल तिवारीले रजत तथा सुदूरपश्चिमका भक्तबहादुर चौधरीले कास्य जिते ।

यस्तै, पुरुषतर्फको मल्तिङमा मध्यमाञ्चलका उज्ज्वल तिवारीले स्वर्ण, सशस्त्रका दिनेश सुनारले रजत तथा सशस्त्रकै रमेश श्रेष्ठले कास्य जिते । पुरुष टिम इभेन्ट्समा सशस्त्रले स्वर्ण, मध्यमाञ्चलले रजत र सुदूरपश्चिमाञ्चलले कास्य पदमा चित्त बुझायो । महिलातर्फको टिम इभेन्ट्समा पनि सशस्त्रले स्वर्ण, मध्यमाञ्चलले रजत र सुदूरपश्चिमाञ्चलले कास्य जित्यो ।

यसैगरी, भल्टिक टेबलमा सशस्त्रका रेसिका श्रेष्ठले स्वर्ण, मध्यमाञ्चलका तारा सिवाकोटीले रजत र सशस्त्रका पिङ्की झाङले रजत र सशस्त्रकै सुनिता निरौलाले कास्य जित्नुभयो । भुइँ व्यायाममा तीनवटै पदक सशस्त्रले नै जित्यो । सशस्त्रका पिङ्की झाङले स्वर्ण, रेसिका श्रेष्ठले रजत र सुनिता निरौलाले कास्य पदक पाउनुभयो ।

अलराउन्डमा समेत तीनवटै पदक सशस्त्रकै पोल्टामा गयो । सशस्त्रका रेसिका श्रेष्ठले स्वर्ण, पिङ्की झाङले रजत र सुनिता निरौलाले कास्य जित्नुभयो । विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । विक्रम गिरी/रासस

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन राहत कोष स्थापना

पोखरा, १५ पुस । कास्की र तनहुँ जिल्लामा वन्यजन्तुबाट हुने क्षतिको न्यूनीकरणका साथै राहत प्रदान गर्ने उद्देश्यले रु १० लाखको ‘मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन राहत कोष’ स्थापना गरिएको छ ।

अमेरिकी सहयोग नियोग (युएसएआइडी)को आर्थिक एवम् डब्लुडब्लुएफ, केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सामूहिक रुपमा सञ्चालित हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा सो कोषको स्थापना गरिएको हो । क्षतिको मूल्याङ्कनका आधारमा कृषितर्पm बढीमा तीन हजार, वन्यजन्तुको आक्रमणबाट घरपालुवा जनावरको क्षति भएमा रु १० हजार र चितुवाबाट मानव आक्रमणका घटना भएमा रु २५ हजारसम्म क्षतिपूर्ति दिन सकिने सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष एवम् कोष व्यवस्थापन समितिका संयोजक कालीदास सुवेदी बताउनुहुन्छ ।

उहाँका अनुसार जलवायु परिवर्तनको उच्च जोखिममा रहेको सेती नदी जलाधार क्षेत्रअन्तर्गत दुवै जिल्लाका सम्पूर्ण सामुदायिक वन समूहलाई कोषको सदस्य बनाएर मात्र राहत प्रदान गर्न सकिने कोष सञ्चालनसम्बन्धी निर्देशिकाले व्यवस्था गरेको छ । कास्की कुल चार सय ९८ वटा सामुदायिक वन समूहमध्ये तीनवटा समूह कोषको सदस्य बनिसकेका छन् ।

“सामुदायिक वन उपभोक्ता महासङ्घअन्तर्गतका दुवै जिल्लाका अध्यक्ष, कोषाध्यक्ष, जिविस, जिल्ला वन कार्यालयका प्रतिनिधि, नागरिक समाजसहितको कोष सञ्चालक समिति गठन गरिएको छ,” उहाँले भन्नुभयो, “सामुदायिक वन समूहका अध्यक्ष, आमा समूह, युवा क्लब, सामुदायिक विद्यालयका प्रधानाध्यापक र वडा नागरिक मञ्च सहितको मूल्याङ्कन एवम् राहत सिफारिस समिति रहनेछ ।”

मुलुकका ग्रामीण क्षेत्रको बस्ती खाली हुँदै जानु र बाझिएका जग्गा जङ्गलमा परिणत हुनाले जङ्गली जनावरको सङ्ख्यामा वृद्धि भई दिन प्रतिदिन मानव र वन्यजन्तुबीच बढेको द्वन्द्वलाई स्थानीय स्तरमा व्यवस्थापनका साथै राज्यको समेत ध्यानाकर्षण गर्न कोषले महत्वपूर्ण भूमिका खेल्ने सामुदायिक वन उपभोक्ता महासङ्घ तनुहँका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताउनुभयो ।

जिल्लामा रहेको सम्पूर्ण वन समूहलाई सदस्य बनाएर द्वन्द्व व्यवस्थापनमा सहयोग पु¥याउने लक्ष्यका साथ सुरु गरिएको सो कोषमा रकमको वृद्धि गर्दै निरन्तरताका लागि समूहले रु एक हजार तिरेर प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । सामुदायिक वन समूहको सम्पन्नता स्तरीकरणका आधार तल्लो वर्गमा परेको उपभोक्तालाई राहत वितरणमा पहिलो प्राथमिकता दिइने बताउँदै अध्यक्ष न्यौपाने भन्नुहुन्छ – “जिल्लामा रहेका पाँच सय ९८ वटै सामुदायिक वन समूहलाई कोषको सदस्य बनाउने अभियान सुरु भएको छ ।”

चार वर्षअघि खोर र चरनमा गरी १४ वटा बाख्रा चितुवाले मारेको थियो । प्रहरी जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका वन कार्यालय लगायतका सरोकारवाला निकायको सिफारिसअनुसार ७२ हजार रुपैयाँ बराबरको क्षतिपूर्तिको माग गरी वन विभागमा पठाइए पनि आजसम्म कुनै राहत नपाएको सिद्धबाबा बाख्रा तथा मौरीपालन फार्मका सञ्चालक चन्द्रकान्त आचार्यले रासससँग दुःखेसो पोख्नुभयो । विसं २०३९ मा वन्यजन्तु द्वन्द्व राहतको ऐनमा व्यवस्था गरिएअनुरुप ३१ वर्षपछि २०७० मा नियमावली र २०७२ मा निर्देशिका बनाइएको भए पनि कार्यान्वयन हुन नसक्दा लक्ष्यित वर्गको पहुँचमा राहत पुग्न सकेको छैन । मानव र वन्यजन्तुबीच जनस्तरबाट सञ्चालन गर्न लागिएको द्वन्द्व राहत कोष मुलुकमै अनुकरणीय बन्न सक्ने सरोकारवालाको धारणा छ । हरि वास्तोला/रासस

कुलुङ जातिको चाक्चाकुर पर्व सुरु

सोलुखुम्बु, १५ पुस । सोलुखुम्बुको महाकुलुङ क्षेत्रका रुपमा परिचित एवम् कुलुङको उत्पति स्थलका रुपमा चिनिने बुङ, छेस्काम र गुदेल गाविसमा बसोबास गर्ने कुलुङको महान् चाड चाक्चाकुर ‘एलेदोङ ५०७७’ आजदेखि सुरु भएको छ ।

हरेक वर्ष पुस महिनाको १५, १६ र १७ गते गरी तीन दिनसम्म मनाइँदै आएको चाक्चाकुर पर्व यस वर्ष पनि जिल्लाको बुङ, छेस्काम तथा गुदेलमा रहेका कुलुङले धुमधामसँग मनाइँदै छ । आजदेखि सुरु भएको पर्व १८ गते साँझ आपसमा शुभकामना आदानप्रदानका साथ सम्पन्न हुने कुलुङ विद्यार्थी सङ्घ सोलुखुम्बुका अध्यक्ष विवस कुलुङले जानकारी दिनुभयो ।

चाक्चाकुर पर्वका अवसरमा जिल्लाको बुङ, छेस्काम र गुदेलका विभिन्न टोलमा साङ्गीतिक कार्यक्रमका साथमा विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गरिएका छन् । हिन्दूको दसँै जस्तै महत्व बोकेको सो पर्वमा कुलुङले टीका लगाएर मान्यजनबाट आशीर्वाद लिएर मनाउने गर्छन् ।

यो पर्व सोलुखुम्बुसँगै सङ्खुवासभा, इलाम, झापा, भोजपुर, काठमाडौँलगायत देशका २६ जिल्लामा बसोबास गर्ने कुलुङले मनाउँछन् । कुलुङ भाषामा पुस महिनालाई चाक्चाकुर भनिन्छ । विसं २०६४ देखि नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घको पहलमा कुलुङ समुदायले चाक्चाकुर मनाउन सुरु गरेको हो । यस वर्ष विशेषगरी आफूहरुको भाषा, संस्कति तथा संस्कार संरक्षणका लागि के गर्न सकिन्छ भन्ने विषयमा बढी छलफल भएको र पुरानो संस्कृति अनुसारकै विभिन्न कार्यक्रम गरी यो मनाउने निर्णय लिइएको गुदेलका भक्त कुलुङले जानकारी दिनुभयो । रासस

भैरहवामा छिट्टै विशेष सुरक्षा योजना : प्रहरी महानिरीक्षक अर्याल

लुम्बिनी, १५ पुस । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भैरहवा क्षेत्रका लागि तत्कालै विशेष सुरक्षा योजना बनाउने बताउनुभएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाले बिहीबार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा औद्योगिक तथा पर्यटकीय केन्द्र भैरहवामा आपराधिक क्रियाकलाप बढेकाले आउँदो एक हप्ताभित्र विशेष सुरक्षा योजना तयार गरी लागू गरिने जानकारी दिनुभयो ।

रुपन्देहीमा आपराधिक घटना बढेको निष्कर्ष निकाल्दै महानिरीक्षक अर्यालले आपराधिक क्रियाकलाप निरुत्साहित पार्न र आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरमा ल्याउन पनि सुरक्षा योजनाले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विशेष सुरक्षा योजनाको खाका तयार गर्न लुम्बिनी अञ्चल प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतलाई निर्देशन दिनुभएको छ ।

कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा पत्रकारले जिल्लामा शान्तिसुरक्षाको अवस्था अत्यन्तै बिगँ्रदै गएको गुनासो गरेका थिए । व्यवसायीको गुनासोलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले बिग्रिएको रुपन्देहीको शान्तिसुरक्षालाई यथास्थितिमा ल्याउने उल्लेख गर्दै जिल्लामा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउने बताउनुभयो ।

उहाँले आम नागरिकका लागि शान्ति र सुव्यवस्था कायम गर्न नेपाल प्रहरी जहिले पनि कटिबद्ध रहेको उल्लेख गर्दै सल्बलाउन खोजेको आपराधिक गिरोहको टाउको पूर्ण रुपमा निमोठेरै छाड्ने बताउनुभयो । उहाँले उद्योगी कुलप्रसाद न्यौपानेलाई गोली हान्ने, उद्योगी एवम् युवा सङ्घ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीका हत्यारा र एसएमएसबाट धम्काउनेको खोजी कार्य तीव्र गतिमा अगाडि बढेको र केही दिनमै उनीहरुलाई सार्वजनिक गरिने जानकारी पनि दिनुभयो । रासस

नेताको कामबाट निरास रोल्पाली बिदेसिन बाध्य

लिबाङ (रोल्पा), १५ पुस । रोल्पा जिल्लाबाट प्रतिनिधित्व गरेका नेताले सिङ्गो देश र शासन सत्ता चलाइरहँदा पनि रोल्पालीको हैसियतमा भने परिवर्तन आउन नसकेको रोल्पाली जनताको गुनासो छ ।

दशवर्षे सशस्त्र द्वन्द्वका कारण थिलथिलो परेको रोल्पाको मुटु र टुक्राटुक्रामा विभक्त भएका रोल्पालीका मनमा अझै पनि महलमपट्टी लगाउन नसके इतिहासले सबैलाई धिक्कार्ने रोल्पाली जनताले बताएका छन् । “हाम्रा प्रतिनिधिले प्रधानमन्त्री, सभामुख, उपराष्ट्रपति तथा उपप्रधानमन्त्री जस्ता गरिमामय पद र ओहदामा बसी सिङ्गो देशकै जिम्मेवारी सम्हाली रहँदा रोल्पा र रोल्पाली जनताको मुहार फेरिनुपर्ने हो तर त्यसो हुन सकिराखेको छैन,” गजुल रोल्पाका कुमार विकले भन्नुभयो ।

विकले भन्नुभयो – “दशवर्षे सशस्त्र युद्ध सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि बन्दुक बाकसमा राखेर हामी रोल्पाली नै कलम बोकेर शासन सत्ताको जिम्मा लगाएका थियौँ तर उहाँले पनि रोल्पा र रोल्पाली जनताको गुन तिर्न बिर्सनुभएको छ” । पटकपटक प्रधानीमन्त्रीको जिम्मेवारी सम्हालिसकेका दाहालले रोल्पा र रोल्पाली जनताको बेवास्ता गरेको उहाँको आरोप छ ।

“राजा हुँदा पनि हामी रोजीरोटीका लागि वैदेशिक रोजगारीमा थियौँ अहिले आफ्ना प्रतिनिधिले देश चलाउँदा पनि दुई छाक टार्नकै लागि विदेशी भूमिमा पसिना चुहाउनुपर्छ भने के फरक भयो राजा र जनताको शासनमा ?” – उहाँले सत्ताधारीलाई प्रश्न गर्नुभयो । बा¥ह वर्षको कलिलो उमेरदेखि दुई छाक टार्नकै लागि विकले भारत, दुबई, मलेसिया लगायतका विभिन्न देशमा पसिना चुहाइसक्नुभएको छ । तेत्तीस वर्षीय विकका घरमा वृद्ध बुबा, श्रीमती र स–साना छोराछोरी छन् । तर आम्दानीको बाटो नहुँदा बिहान खाए साँझ के खाने साँझ खाए बिहान के खाने भन्ने चिन्ताले सताउने हुँदा घरपरिवारबाट टाढिन नचाहेर पनि बिरानो मुलुकमा जानुपर्ने बाध्यता रहेको उहाँले लामो सुस्केरा हाल्दै बताउनुभयो ।

जनताका प्रतिनिधिले देश चलाए दैनिकी फेरिएला भन्ने सोचेका विकका दिनहरु पहिलेभन्दा फरक बन्न सकिरहेका छैनन् । छोराछोरी ठूला हुँदै जाँदा विद्यालयको शुल्क, कापी, कलम र उनीहरुका इच्छा–आकाङ्क्षा बढ्दै गएपछि दैनिकी चलाउन अझै हम्मेहम्मे पर्ने गरेको विकले दुःखेसो पोख्नुभयो ।

सानैमा आमा गुमाएर १५ वर्षको उमेरमा वैवाहिक सम्बन्धमा बाँधिएका विकले विवाह गरेको १८ वर्ष पुगिसक्दासम्म पनि करिब ३ वर्ष जति मात्रै घरपरिवारसँग बसेको बताउनुभयो । परिवार सँगसँगै बस्ने रहर हुँदाहुँदै पनि पेट भर्ने बहानामा परिवारसँग विछोडिएर बिदेसिनुपर्ने बाध्यता उहाँलाई छ ।

यस्तै बडाचौर–५ रोल्पाका २० वर्षीय सङ्गम बस्नेतको गुनासो पनि विकको भन्दा फरक छैन । दुई कक्षा पढेर विद्यालय जानबाट वञ्चित बस्नेत भन्नुहुन्छ, “हाम्रा नेताले हामीलाई जिल्लामै रोजगारीको व्यवस्था मिलाइदिए घरमै बसेर केही गर्ने थियौँ । पढेका र नपढेका युवाका लागि फरक फरक काम गर्ने वातावरण सरकारले मिलाउन सके अवश्य पनि केही वर्षमा रोल्पा र रोल्पालीको मुहार फेरिन्छ ।”

आफ्नो बाल्यकालको स्मरण गर्दै बस्तेतले भन्नुभयो – “धेरै पढ्ने रहर थियो । तर हामी धेरै भाइबहिनी भएका कारण बुबाले आर्थिक भार थाम्न सक्नुभएन । तैपनि दुई कक्षासम्म त जसोतसो स्कुल गएँ । तीन कक्षा पढ्ने भएपछि कहिले कापी नहुने कहिले कलम नहुने कहिले लगाएको कपडा मैलो हुने त्यसमा पनि सरहरुको कुटाइ खानुपर्ने भएपछि स्कुल छोड्न बाध्य भएँ ।” बा¥ह वर्षको कलिलो उमेरदेखि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका बस्नेतलाई बुबाले नचाहेर नपढाएको भए त अझ पीडा हुने थियो तर ठूलो भएपछि विद्यालय नपठाउनुमा बुबाको आफ्नै बाध्यता भएको बुझेपछि उहाँलाई पढ्न नपाएको त्यति ठूलो पीडा छैन । तर गरिब हुनुमा उहाँ आफ्नो बुबा र आफूलाई दोषी ठान्नुहुन्छ ।

वैदेशिक रोजगारीमा पुगेका नेपालीको लास बाकसमा हालेर नेपाल फर्काएको समाचार रेडियोबाट सुन्दा बस्नेतको मन भक्कानिन्छ तर पनि घरको स्थिति एकदमै नाजुक भएका कारण उहाँलाई विदेश जानैपर्ने बाध्यता छ ।

यस्तै, केही महिनाअघि बहुला कुकुरको टोकाइबाट आफ्ना बुबाको मृत्यु भएपछि सिर्प–५ रोल्पाका रुमे पुन पनि विदेसिने सोचमा हुनुहुन्छ । घरमा कमाउने मान्छेको मृत्यु भएपछि उहाँलाई पनि दैनिकी चलाउन निकै मुस्किल पर्दै गएको छ । लामो प्रयास गर्दा पनि स्वेदशमा रोजगारी फेला नपरेपछि उहाँ विदेश जानका लागि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा आइपुग्नुभएको छ ।

जनताका प्रतिनिधिले रोल्पा र रोल्पालीको भविष्यका बारेमा चिन्ता गर्नुपर्ने सुझाव दिँदै विकले भन्नुभयो, “हातमा शासन सत्ता भएका बेला हाम्रा नेताले रोल्पा र रोल्पालीका बारेमा सोचेनन् भने रोल्पाको विकास कहिल्यै हुँदैन । त्यसैले यस विषयमा हाम्रा नेता गम्भीर बन्नुपर्छ ।” विभिन्न सम्भावना बोकेको रोल्पामा सरोकारवालाको आँखा र हात पुग्न सके रोल्पाले विकासको गति पक्डनेमा कुनै शङ्का छैन । विता उपाध्याय/रासस

पहिलो दलित महिला स्थानिय विकास अधिकारी सम्मानित

भोेजपुर, १५ पुस  । नेपाल कै पहिलो दलित महिला स्थानिय विकास अधिकारी सीता परियारलाई सम्मान गरिएको छ ।  नेपाल उत्पिडित जातिय मुक्ति समाज भोजपरले आफ्नो २९ औ स्थापना दिवसको अवसरमा परियारलाई सम्मान गरेको हो ।
महिला त्यस माथी पनि दलित समुदायको एक मात्र महिला स्थानिय विकास अधिकारी भएर दलितहरुको लागि उदाहरणिय पात्र भएकोले सम्मान गरिएको आयोजकले जनाएको छ ।
रुपकोट २ कास्कीमा जन्मिएकी परियार भोजपुरको  ३२ औ स्थानिय विकास अधिकारीको हुन्, भने  जिल्ला कै पहिलो महिला स्थानिय विकास अधिकारी पनि हुन् । उनले यसअघि दोलखा जिल्लाको  स्थानिय विकास अधिकारीको रुपमा काम गरि सकेकी छन् ।  उनि नेपालकै ६ औ महिला स्थानिय विकाु अधिकारी पनि हुन् ।
सम्मान पस्चात वोल्दै उनले सम्मानले आफुलाई अझ कार्य वोध भएको वताएकी छिन् । उनले आफ्नो कार्यकालमा जिल्लाको विकास लागि मन वचन र कर्म लाग्ने समेत वताएकी छन् ।
उनले भनिन् ‘यो सम्मानले मलाई काम गर्ने थप हौसला मिलेको छ, यो मेरो लागि पहिलो सम्मान पनि हो ।’
यसै कार्यक्रममा वोल्दै पुर्व मन्त्री शेरधन राईले संविधानमा दलित समुदायको लागि स्पस्ट व्यावस्था गरिएको वताएका थिए । सामाज दलित प्रति गरिने व्यावहारमा परिवर्तन आई सकेको समेत उनको भनाई थियो ।
नेपाल जातिय मुक्ती समाज भोजपुरका अध्यक्ष रविन शिवाले  दलित समुदाय आफैमा कमजोर नभएको तर  यस अघिको राज्य व्यावस्थाको कारण दलितहरुलाई कमजोर वनाएको वताएका थिए ।
उनले भने ‘ राज्यले नै हामीलाई कमजोर वनाएको थियो । तर अहिले संविधानले हाम्रो हक अधिकारको विषयमा केहि व्यावस्था गरेको छ । त्यसको प्राप्तिको लागि सम्पुर्ण दलित समुदाय एक हनु पर्छ ।’

मन्त्रिपरिषद् निर्णय : पोखरा खानेपानी आयोजनालाई चार अर्ब

काठमाडौँ, १४ पुस । सरकारले पोखरा खानेपानी सुधार आयोजनाका लागि रु चार अर्ब ४३ करोड विनियोजन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र समग्र शिक्षाका लागि एसियाली विकास बैंक (एडिबि) बाट प्राप्त हुने रु दुई अर्ब १२ करोड स्वीकृति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

गत वर्षको भूकम्पले क्षति पु¥याएको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् परियोजनाको ड्याम साइट मर्मत सम्भारका लागि रु ६१ करोड १८ लाख विनियोजन गर्ने निर्णय बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीले केमिकल इञ्जिनियरिङ, केमिकल इञ्जिनियरिङ एन्ड पोलिमर साइन्स, बायो मेडिकल, बायो टेक्नोलोजीलगायत इञ्जिनियरिङका विभिन्न विधालाई पनि इञ्जिनियरिङ अनुसूचीमा समाहित गर्ने निणर््ाय गरिएको बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका प्रमुख सेनानी रवीन्द्र केसीलाई महासेनानीमा पदोन्नति, कार्यस्थलमा कार्यरत (मजदुर र ज्यामी) का लागि ध्वनि र प्रकाश अन्तर्राष्ट्रिय मापदण्ड अनुसार राख्ने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो ।

प्रेस काउन्सिलमा नियुक्ति

यसैगरी बैठकले प्रेस काउन्सिल नेपालको सञ्चालक समिति सदस्यमा पत्रकारद्वय नवलकिशोर यादव र सङ्गीता खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी पुनःनिर्माण प्राधिकरणमा कार्यरत इञ्जिनियरका लागि जिल्ला सदरमुकाममा भएकालाई ५० प्रतिशत र दुर्गम क्षेत्रमा भएकालाई ७५ प्रतिशत भत्ताको व्यवस्था गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
नेपालको आकाशमा नेपालको स्याटलाइट, नेपालको धर्तीमा नेपाली झन्डा भन्ने अभियानलाई सरकारले सञ्चालन गरेको प्रवक्ता कार्कीले बताउनु भयो । रासस

व्यवस्थापिका–संसद् : विपक्षी दलको अवरोध कायमै

काठमाडौँ, १४ पुस । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लगायतका दलहरुको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि अवरुद्ध भयो ।

सदनको कारबाही सुरु हुने बित्तिकै नेकपा (एमाले)का सांसद वैजनाथ चौधरीले प्रदेश नं ५ को सीमाङ्कनका लागि भन्दै दर्ता गराइएको संविधान संशोधन प्रस्ताव जनताको भावनाअनुसार नभएको बताउनुभयो ।

उहाँले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विपक्षमा सत्तारुढ दलका सांसदसमेत रहेको भन्दै सो प्रस्ताव अगाडि नबढाउन आग्रह गर्नुभयो । ५ नं प्रदेशलाई टुक्र्याउने प्रस्ताव अर्कै उद्देश्यका लागि ल्याइएकाले त्यो प्रस्ताव फिर्ता नहुँदासम्म सदन चल्न नसक्ने उहाँको कथन थियो ।

उहाँको सो धारणालगत्तै नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायतका दल सम्बद्ध सांसदले उभिएर विरोध जनाउनुभएको थियो ।

सभामुख ओनसरी घर्तीले पटक पटक आशन ग्रहण गर्न आग्रह गर्दासमेत विपक्षी दलका सांसदले कुनै सुनुवाइ गर्नुभएन । सदनको आजको बैठकको कार्यसूचीमा स्थानीय तह निर्वाचन विधेयक, २०७३, स्थानीय तह निर्वाचन (कसुर तथा सजाय) विधेयक, २०७३ नेपालको संविधान (दोस्रो संशोधन), २०७३ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख निर्वाचन आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोगको प्रस्तावमाथि छलफल गराउने कार्यसूची रहेको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही पुस १८ गते सोमबार मध्याह्न १३ः०० बजे बस्नेछ । रासस

तामाकोसी आयोजनाको सेयर मोडालिटी परिवर्तन हुन नसक्ने

काठमाडौँ, १४ पुस । दोलखाका सांसदहरुले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर मोडालिटी परिवर्तन हुन नसक्ने बताएका छन् ।

दोलखाका सांसदहरु पशुपति चौलगार्इं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले आज यहाँ संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयरसम्बन्धी हकदार सर्वसाधारण नागरिक रहेको हुँदा त्यसको मोडालिडी परिवर्तन हुन नसक्ने दाबी गरेका हुन् ।

दुई साताअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सो आयोजनाको स्थलगत भ्रमण गरेपछि आयोजनाको रु ११ अर्ब बराबरको सेयर माओवादी पूर्व लडाकु, अति विपन्न तथा सहिद र बेपत्ता परिवारलाई वितरण गर्ने तयारी भै रहेको बताउनु भएको भन्दै तीन सांसदले आपत्ति प्रकट गरेका हुन् ।

पूर्व मन्त्री तथा दोलखा क्षेत्र नं २ का सांसद आनन्दप्रसाद पोखरेलले आयोजना बन्न नदिने षड्यन्त्र भइरहेको आशङ्का व्यक्त गर्दै आयोजना निर्माणका क्रममा बनेका सेयरसम्बन्धी संरचना परिवर्तन हुनै नसक्ने बताउनुभयो ।

उहाँले कुनै पनि वित्तीय ऐन, नियम र कानुनले आयोजनाको सेयरसम्बन्धी अवधारणा परिवर्तन गर्न नसक्ने उल्लेख गर्दै आयोजना बिथोल्ने गरी द्वन्द्वको विजारोपण गर्न लागेको आरोप पनि लगाउनुभयो ।

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् सांसद पशुपति चौलागार्इंले राज्यले आयोजनासँग आठ प्रतिशत ब्याज दिने गरी भएको लगानीको सेयर कुनै राजनीतिक दलका सङ्घ सङ्गठनलाई दिने आधार नै नभएको उल्लेख गर्नु भयो ।

सांसद पार्वत गुरुङले माओवादी पूर्व लडाकुलाई सेयर वितरण गर्ने हल्ला फिजाएर सरकारले माओवादी पूर्व लडाकुलाई अल्मल्याउन खोजेको टिप्पणी गर्नुभयो ।

ऐन, नियम, कानुन कुनै पनि दृष्टिले आयोजनाको सेयर कसैलाई पनि दिन नमिल्ने विज्ञहरुको भनाइ छ ।

तीन सांसदले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा तामाकोसी जलविद्युत् आयोजनाको सेयरसम्बन्धी अवधारणालाई गलत ढङ्गले बुझाउन माओवादी नेतृत्वको सरकार लागिपरेकाले त्यस्तो हर्कत सफल हुन नदिन सबैमा आग्रह गरिएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माणाधीन ४५६ मेगावाटको मुलुकको सबैभन्दा ठूलो र पहिलो आयोजना हो । नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्जय कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, दोलखाली जनताको १० र सर्वसाधारण नागरिकको १५ प्रतिशत सेयरमा यो आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ ।

आयोजना निर्माणका लागि सबै दलले साझा प्रतिबद्धता जनाउँदै आएका छन । भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण आयोजनाको निर्माण कार्यमा केही ढिलाइ भए पनि २०७५ सालभित्र यो आयोजना सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । आयोजना निर्माण गरिसक्दा यस्तो लागत खर्च रु ५७ अर्ब पुग्ने आयोजनाले अनुमान पनि गरेको छ । रासस

द्वन्द्वमा श्रीमान् गुमाएका अधिकांश महिलाले दोस्रो विवाह गरेनन्

रोल्पा, १४ पुस । विसं २०५४ मा श्रीमान् गङ्गाराम पुन भूमिगत हुँदा उनकी २२ वर्षकी थिइन् । सशस्त्र युद्धका सुरुआतीका दिनमा प्रहरीको निशानाबाट बच्दै गङ्गाराम घर आउने जाने गर्दा उनलाई अभिभावक विहीनताको अनुभूति भएन ।

जब २०५८ साल मङ्सिरमा सरकारले सङ्कटकालको घोषणा ग¥यो तब सुरु भए धनमायाका दुःखका दिन । श्रीमान्सँग भेट हुने त कहाँ हो कहाँ आफू र साना छोराछोरीसमेत असुरक्षित भएको महसुस गर्दै उनी पनि भूमिगत भइन् । श्रीमान्को कार्यक्षेत्र प्यूठान आफू भने रोल्पामै । शान्ति सम्झौता हुनुभन्दा करिब दुई वर्ष पहिले सेनाको घेराबन्दीमा परी श्रीमान् गङ्गारामको हत्या भएपछि त झन सधैँका लागि एक्लै भइन् उनी ।

माओवादी सशस्त्र युद्धताका रोल्पामा श्रीमान् गुमाएका ३६८ जना एकल महिलाको प्रतिनिधि पात्र हुन धवाङ–२ रोल्पाकी धनमाया पुन । २०÷२२ वर्षकै कलिलो उमेरमा देश बदल्न हिँडेका गङ्गारामले न देश बदलिएको देख्न पाए न त आफ्नो परिवार नै बदल्न सके । श्रीमान्को सेनाद्वारा हत्या भएपछि साना छोराछोरीको संरक्षणमा जुटेकी धनमाया देवर तुकमान पुनको समेत हत्या हँुदा थप पीडित भइन् । उनले हार नखाएर कर्तव्य पूरा गरिरहिन् । पार्टीको गाउँस्तरीय कार्यकर्ताका साथै घरको गृहिणीको समेत भूमिका निर्वाह गर्दै गइन् । “सङ्घर्षका बीचमा बाँच्न सक्नु जिन्दगीकै फरक अनुभूति रहेछ” अचेल साथीभाइसँग कुरा गर्दा धनमायाले यही भन्छिन् ।

स्थानीय शान्ति समिति रोल्पाको तथ्याङ्कअनुसार रोल्पामा १ फागुन २०५२ देखि ५ मङ्सिर २०६३ को बीचमा सशस्त्र युद्धबाट प्रभावित वा पीडित हुने महिलाको सङ्ख्या उल्लेख्य छ । अपहरणमा परेका २४८ मध्ये ४२ जना महिला छन् ।

यसैगरी विस्थापित ३४१ घरधुरीमध्ये ६५५ जना महिला छन् । सशस्त्र युद्धमा देशमै सबैभन्दा बढी मृत्यु हुनेको सूचीमा रोल्पा पर्दछ । रोल्पामा एक हजार आठजनाको मृत्यु भएको थियो जसमध्ये ११८ जना महिला रहेका थिए ।

यसैगरी हालसम्म बेपत्ता रहेका ५३ जनामध्ये सातजना महिला छन् । टुहुरा १८३ बालबालिकामध्ये ८७ जना बालिका छन् । सशस्त्रयुद्धमा अपाङ्ग हुने ६४६ मध्ये ११५ जना महिला रहेका छन् । कार्यदलले सूचीकृत गरेर राहत पाउन योग्य एकल महिलाको सङ्ख्या रोल्पामा ३६८ जना रहेको स्थानीय शान्ति समिति रोल्पाले जनाएको छ ।

युद्धताका श्रीमती गुमाएका पुरुषमध्ये अधिकांशले अर्को विवाह गरिसकेका छन् । पुनर्विवाहपश्चात् पुरुष नयाँ जीवनको सुरुवात भएको अनुभूति गरिरहेका छन् । तर श्रीमान् गुमाएका महिलामध्ये अधिकांशले पुनर्विवाह गरेका छैनन । “एकाधले दोस्रो विवाह गरेका होलान्, नत्र अधिकांशले विवाह गरेका छैनन” मानव अधिकारकर्मी खेम बुढामगरले बताउनुभयो । “पुरुष प्रधान सोचका कारण पुरुषले तत्कालै विवाह गरिहाल्ने र महिलाले मृतक श्रीमानकै नाममा बाँकी जीवन एक्लै जीउने देखिएको” बुढामगरले बताउनुभयो ।

“उनीहरुमाथि लैङ्गिक हिंसा र घरेलु हिंसा, घरायसी सम्पूर्ण कार्यबोझ त छँदैछ त्यसमाथि आर्थिक बोझसमेत थपिएको छ । सरकारले दिने भनेको राहत पनि एकमुष्ट नदिएका कारण उनीहरुले ठोस काम नगरी घरायसी खर्च गर्दा कुनै रुपान्तरण गर्न नसकेको” बुढाको भनाइ छ । “एकल महिलालाई हेर्ने कुदृष्टि अझै विद्यमान रहनुका साथै अहिलेसम्म न्याय पाउन नसक्नु द्वन्द्वपीडित महिलाको मुख्य समस्या” देखिएको उहाँको आँकलन छ ।

“द्वन्द्वकाल वा अन्य अवस्थामा एकल भएका महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक अवस्था एउटै रहेको मानव अधिकारका लागि एकल महिलाकी अध्यक्ष तुलसा आचार्यकोे भनाइ छ । “आर्थिक अवस्था कमजोर भएका तथा कसैको आश्रयमा बस्नुपर्ने अवस्था रहेका एकल महिलाले नारकीय जीवन बिताउनुपरेको” – उहाँको भनाइ छ । “द्वन्द्वका समयमा एकल भएका र अन्य एकल महिला भनेर कित्ता काट गर्नुको साटो उनीहरुको संरक्षणमा एक हुनुपर्ने” महिला अगुवा पुष्पा श्रेष्ठको तर्क छ । “एकल महिलालाई दिने सामाजिक सुरक्षा भत्ता कम भएको भन्दै श्रीमान् गुमाएका एकल महिलाका साथै अन्य कारणले एकल भएका महिलालाई पनि राज्यले सामाजिक सुरक्षा भत्ता दिनुपर्ने” उहाँको माग छ ।

बन्दुक बोक्न र हलो जोत्न पनि पछाडि नपरेका रोल्पाली महिलाको अवस्था निकै दयनीय रहेको महिला मानव अधिकारकर्मी तीर्था आचार्य बताउनु हुन्छ । “सशस्त्र युद्धको समयमा बलात्कृत भई जन्मिएका बालबालिका अहिले नागरिकता बनाउने उमेरमा पुगेका छन् । बाबु किटान हुन नसक्दा अहिले उनीहरुको भविष्यसमेत अन्धकार भएको” उहाँको तर्क छ । अपाङ्ग भएका महिलालाई कसैले न्याय दिन नचाहेको उहाँको गुनासो रहेको छ ।

“माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वमा महिलामाथि सरकार र विद्रोही दुवै पक्षबाट यातना र यौनजन्य हिंसा भएको” द्वन्द्व प्रभावित श्रीकुमारी रोकाको भनाइ छ । श्रीमान् गुमाएका, छोरा गुमाएका र आफैँ यातना भोगेका महिलालाई अरु महिलाभन्दा थप पीडा भएको छ । “राजनीतिक पहुँच भएका एकाध महिलाको अवस्थामा अनपेक्षित परिवर्तन आएको देखिए पनि समग्र द्वन्द्वपीडित रोल्पाली महिलाको अवस्था दयनीय हुँदै गएको” उहाँको भनाइ छ ।

“सशस्त्र द्वन्द्वमा श्रीमान् गुमाएका एकल महिलालाई हालसम्म रु पाँच लाख राहत दिइसकिएको” प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । “द्वन्द्वपीडित परिवारलाई छात्रवृत्ति, घाइते अपाङ्गलाई जीवन निर्वाह भत्ता आदि नामबाट राहत वितरण गरिएको” शर्माको भनाइ छ । रोल्पामा जातीय र लैङ्गिक हिसाबले विभेद कम भए पनि आर्थिक अवस्था कमजोर भएका कारण एकल महिलामा यो समस्या हुन सक्ने प्रजिअ शर्मा बताउनु हुन्छ । उमा केसी/रासस

रकम ठग्ने नै सुरक्षा खोज्दै प्रहरीकहाँ पुगे

लमजुङ (बेसीसहर), १४ पुस । रु चार करोडभन्दा बढी ठगी गर्ने लमजुङका एक व्यक्ति आफैँ प्रहरी शरणमा पुगेका छन् । स्थानीय गौँडा घर भई पछिल्लो समय काठमाडौँ बस्दै आएका बिर्दसिङ गुरुङ प्रहरीको शरणमा पुगेका हुन् ।

केही वर्ष मलेसिया बसेका गुरुङले तीन वर्षअघि गृहजिल्ला लमजुङ आएर लमजुङ मिडिया नेटवर्क कम्पनी प्रालि सञ्चालन गरेका थिए । गुरुङले सो नेटवर्कको नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको खुलासा भएको छ ।

गुरुङबाट ठगिएका पीडितले बुधबार सदरमुकाम बेसीसहरमा पत्रकार भेटघाट गरी आफूहरु ठगिएको बारे जानकारी गराएपछि विभिन्न व्यक्तिबाट गुरुङले रु चार करोडभन्दा बढी रकम ठगी गरेको तथ्य खुलेको थियो ।

पत्रकार भेटघाटका क्रममा दाङका डिलाराम बुढाथोकीले आफूबाट मिडिया नेटवर्कका लागि भन्दै रु ७३ लाख लिएको बताउनुभयो । पटक पटक रकम फिर्ता माग्दा भुक्याउने र भाग्ने गरेको पीडित बुढाथोकीले गुनासो गर्नुभयो । रकम तिर्ने क्रममा बाउन्स (खातामा पैसा नभएको) चेक दिएर झुक्याएको उहाँको भनाइ थियो ।

यसैगरी तनहुँका कृष्णराज खतिवडाले पनि आफूबाट घडेरी र नगद रु १८ लाखभन्दा बढी रकम ठगी गरेको बताउनुभयो । बैंकबाट ऋण लिने भन्दै पोखरामा रहेको चार आना घडेरी उसको नाममा गराइदिएको खतिवडाले बताउनुभयो ।

गुरुङले काठमाडौँको बंैकबाट रु दुई करोड ऋण लिनको लागि धितो राख्न जग्गा पुगेन भन्दै खतिवडाको जग्गा आफ्नो नाउँमा पास गराएका थिए । रु ३५ लाख मूल्यमा चार आना जग्गा पास गरिदिएको खतिवडाले बताउनुभयो ।

“रु दुई करोड ऋण लिएपछि तपाईको सबै रकम तिरिदिन्छु भन्यो, रु १८ लाख पाउने आशामा जग्गा पास गरिदिँए, न रु १८ लाख पाएँ, न जग्गानै मेरो रह्यो” खतिवडाले भन्नुभयो “दुई पटकसम्म बाउन्स चेक दिएर झुक्यायो, रु १८ लाखसँगै थप रु ३५ लाख खायो ।”

यसैगरी गुरुङले बेसीसहरका राम श्रेष्ठबाट रु १३ लाख ५० हजार ठगी गरेका छन् । गुरुङले प्रयोग गर्दै आएको गाडी किन्न भन्दै रु २५ लाख बुझाएको र पछि नामसारी गर्ने क्रममा फरार भएको श्रेष्ठले बताउनुभयो ।

“पसलमा आएर नगद तिरेर सबैभन्दा महँगा मोबाइल किन्ने गथ्र्यो, आउँदै करोडको कारोबार गर्ने गफ गथ्र्यो, मैले उसको गाडी किन्ने कुरा गरेँ, विश्वास गरेर दुई किस्तामा रु २५ लाख दिएँ” श्रेष्ठले भन्नुभयो “पछि थाहा भयो मैले किनेको गाडी सहरकारीको नाममा रैछ ।

गुरुङले केही दिनका लागि भन्दै काठमाडाँैका सनम तामाङबाट रु ३५ लाख, पोखराका कुलबहादुर गुरुङबाट रु २० लाख, बेसीसहरका डिलबहादुर गुरुङबाट रु २० लाख, शुकराम तामाङबाट रु २० लाख, बेसीसहरका पूर्णचन्द्र पोख्रेलबाट रु १५ लाख, सुन्दरबजारका मोहन गुरुङबाट रु १५ लाख, बेसीसहरस्थित भूपू सहकारीबाट रु १० लाख, मगर गुरुङबाट रु सात लाख, तथा काठमाडौँका गम्भीर नगरकोटीबाट रु १३ लाख, वीरेन्द्र पौडेलबाट रु १० लाख, र विष्णु धितालबाट रु १० लाख ठगेको पनि खुलेको छ ।

यस्तै गौँडाकी बलकुमारी गुरुङबाट रु तीनलाख ५० हजार, सुन्दरबजारकी नौमाया गुरुङबाट रु दुई लाख, बेसीसहरका गणेश फेन्सीबाट रु एक लाख ५० हजार, प्रवीण गुरुङबाट रु एक लाख ५० हजार रकम लिएका गुरुङलसो नेटवर्कका अन्य सेयर सदस्यले थाहा नपाउने गरी कम्पनी बिक्री गरी सबै रकम लिएर फरार भएका थिए ।

पीडितले गुरुङलाई खोज्ने क्रममा झापाको विर्तामोडमा भेट्टाएर जिल्ला ल्याएपछि असुरक्षा महसुस गर्दै पीडक आफैँ प्रहरी हिरासतमा पुगेका थिए ।

ठगी गरेको भन्दै मिडिया प्रालिका सदस्यले गुरुङ बिरुद्ध प्रहरीमा उजुरी गरेपछि प्रहरीले ठगीको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले रु सात लाख धरौटीमा रिहाइ गर्न आदेश दिएपनि गुरुङ भने बाहिर असुरक्षाको महसुस गर्दै कारागारभित्रै बसेका छन् ।

गुरुङ कारागारमा परेको हल्ला चलेपछि उनीबाट ठगिएका सार्वजनिक हुने क्रम दैनिक थपिँदै जानुका साथै उसका नागरिकताको प्रतिलिपि, विभिन्न ठाउँमा भएका जग्गाको नक्कली लालपुर्जा, लाइसेन्सलगायतका कागज बनाएको पनि भेटिएको छ । गुरुङले आफ्नो राहदानीमा रातो खोल राखेर रातो पासपोर्ट भनि झुक्याउने गरेको समेत भेटिएको छ । रासस

सांगीतिक आकाशमा उदाउंदै सञ्जु

नेपाली सांगीतिक क्षेत्रमा सफल नाम हो सञ्जु लिम्बु । सुमधुर स्वरकी धनी सञ्जुले दुई दर्जभन्दा बढी आधुनिक गीतमा आवाज दिईसकेकी छन् । सञ्जुका गीतहरु सुनेपछि उनको आवाजमा स्रोताहरु मोहित हुने गर्छन् ।
अमेरिकामा बस्दै आएकी सञ्जुले नयां गीत सार्वजनिक गर्दैछिन् । हुक्सोदिङ सेवारो बोलमा रहेको उनको यस गीत लिम्बु भाषाको हो । आफ्नो जाति, धर्म संस्कृतिको निम्ति लिम्बु भाषाको समेत गीत गाउन लागेको सञ्जुले बताईन् ।
आफू जन्मेको हुर्केको ठाउं छाडेर अर्काको देशमा आउनुपर्दा निकै पीडा भएको बताउंदै विश्वको जुन कुनामा भएपनि आफ्नो पहिचान र संस्कृति भुल्न नसक्ने उनले बताईन् ।
जिवनभर नेपाली गीत संगीलाई कहिल्यै पनि छोड्न नसक्ने सञ्जु अन्तिम समयसम्म पनि गीतसंगीतमै रमाइरहने बताउंछिन् । सञ्जु भन्छिन् गीतसंगीत मेरो लागि रगत जस्तै हो, म भित्र रगत रहेन भने म पनि रहंदिन । लिम्बु संस्कृति तथा नेपाली गितसंगीतको संवद्धनमा लागिरहने उनको अठोट छ ।
सञ्जुको छ्टिै सार्वजनिक हुने गितको भिडियोलाई प्रेम लामाले निर्देशन गरेका छन् भने निर्माता मुकेश लिम्बु हुन् ।

Wednesday, December 28, 2016

‘बेलायतसँगको सम्बन्धलाई अझ सुदृढ र सुमधुर तुल्याउन चाहन्छौँ’

काठमाडौँ, १३ पुस । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बेलायतसँगको आपसी सम्बन्धलाई अझ उन्नत, सुमधुर र सुदृढ तुल्याउने सरकारी चाहना अभिव्यक्त गर्नुभएको छ ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुईसय वर्ष पूरा भएको अवसरमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज परराष्ट्र मन्त्रालयमा आयोजना गरेको ‘नेपाल–बेलायत कूटनीतिक सम्बन्धका दुई शताब्दी’ विषयक कार्यशालाको उद्घाटन गर्दै उहाँले त्यस्तो अभिव्यक्ति दिनुभएको हो ।

मुलुकको आर्थिक, सामाजिक, मानव संसाधन विकास, भौतिक पूर्वाधार निर्माणलगायत क्षेत्रमा बेलायती सहयोग प्राप्त भइरहेको बताउँदै परराष्ट्रमन्त्रीले अब बेलायतको निजी क्षेत्रको लगानी नेपाल भित्र्याउनेमा केन्द्रित हुनुपर्छ भन्नुभयो ।

बेलायतसँगको निर्यात व्यापार वृद्धिलाई पनि उत्तिकै प्राथमिकताका साथ अघि बढाउनुपर्ने विचार व्यक्त गर्दै मन्त्री महतले देशको आर्थिक विकास वर्तमान सरकारको प्रमुख लक्ष्य भएको स्पष्ट गर्नुभयो ।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले नेपाल र बेलायतबीचको सम्बन्ध पारस्परिक विश्वास र सहयोगमा आधारित रहेको चर्चा गर्दै दुवै देशले आपसी चासो र स्वार्थका विषयमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चमा पनि सहकार्य गर्दै आएको चर्चा गर्नु भयो ।

यहाँस्थित बेलायती दूतावासका उपप्रमुख क्याथरिन स्मिटनले आफ्नो देश नेपालको सबैभन्दा ठूलो विकासको साझेदार भएको र विकासका परियोजना कार्यान्वयन गर्न सर्वाधिक सहायता राशि उपलब्ध गराउँदै आएको बताउनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पन्नाकाजी अमात्यले नेपाल–बेलायत बहुआयमिक सम्बन्धका विविध पक्षबारे चर्चा गर्नुभयो । कार्यशालामा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा त्रिरत्न मानन्धर, बेलायतका लागि पूर्व राजदूत सुरेशचन्द्र चालिसेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार प्रवाह गरौँ : परराष्ट्रमन्त्री

काठमाडौँ, १३ पुस । परराष्ट्रमन्त्री प्रकाशशरण महतले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार र विचार प्रवाह गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

छिमेकी मुलुकहरूसँगको नेपालको सम्बन्धलाई लिएर केही समययता आम सञ्चारका माध्यममा प्रकाशन÷प्रसारण भएका समाचारबारे सरकारको धारणा स्पष्ट गर्न परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा जनमानसमा द्विविधा उत्पन्न गर्ने खालका खबर नलेख्न सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।

देशको मर्यादा र गरिमामा आँच आउने समाचार एवम् विचार सम्प्रेषण तथा टीकाटिप्पणी गर्दा विषयको गाम्भीर्य र संवेदनशीलतालाई ख्याल गर्दै मुलुकको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धन गर्नु सम्मानित सञ्चार क्षेत्रको पनि दायित्व हो भन्ने आफ्नो बुझाइ रहेको उहाँले बताउनुभयो ।

“परराष्ट्रजस्तो अति संवेदनशील विषयमा जनमानसमा भ्रम सिर्जना गर्ने समाचार र टिप्पणीले नेपालको दीर्घकालीन हित गर्दैन”– पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएयता चीनसँगको नेपालको सम्बन्धमा केही चिसोपन आएको भन्ने सार्वजनिक सञ्चारमाध्यमका टीकाटिप्पणीको खण्डन गर्दै मन्त्री महतले भन्नुभयो ।

छिमेकी मुलुकका साथै विश्वका सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्दै नेपालको विकासमा योगदान गर्न परराष्ट्र मन्त्रालय अहोरात्र लागिपरेको स्पष्ट गर्दै यसै महिना मङ्गोलिया र चीनबाट उच्च तहमा भएका भ्रमण लामो समयअघि नै निर्धारण भएका उहाँले बताउनुभयो ।

मङ्गोलिया नेपालजस्तै भूपरिवेष्टित मुलुक हो र संयुक्त राष्ट्रसङ्घले समेत त्यस्ता मुलुकलाई आफ्नो विकास र अधिकारका लागि एकताबद्ध हुन उत्प्रेरित गरेको सन्दर्भमा दुई देशबीच भूपरिवेष्टित मुलुकका समस्या र तिनको समाधानबारे विचारविमर्श हुनु सामान्य विषय भएको उहाँको कथन थियो ।

मङ्गोलियामात्र नभइ बौद्धधर्मावलम्बी मुलुकले लुम्बिनीमा बौद्धचैत्य र गुम्बा निर्माण गर्न सक्ने र नेपाल सरकारले नियमानुसार जग्गा उपलब्ध गराउँदै आएको जानकारी दिँदै मन्त्री महतले झण्डै १८ वर्षअघि मङ्गोलियाका राष्ट्रपति नात्सागिन बागाबन्दीको नेपालको राजकीय भ्रमणका बेला उक्त देशले लुम्बिनीमा बौद्ध गुम्बा निर्माणका लागि गरेको अनुरोध र नेपाल सरकारको स्वीकृतिलाई अहिले अनावश्यक रुपमा उछाल्नु युक्तिसङ्गत नभएको उहाँले बताउनुभयो ।

“नेपालको राष्ट्रिय स्वार्थमा केन्द्रित रहेर छिमेकी र अन्य राष्ट्रसँगको सम्बन्धलाई समुन्नत, सुदृढ र सुमधुर तुल्याउन सरकार लागिपरेको छ”– मन्त्री महतले भन्नुभयो ।

नेपाली सेनालाई भारतीय सेनाअन्तर्गत राष्ट्रसङ्घीय शान्ति सेनामा पठाउन प्रयास भइरहेको भन्ने समाचारको नेपाली सेनाले खण्डन गरिसकेको जानकारी दिँदै परराष्ट्रमन्त्रीले सौर्यशाली नेपाली सेनाले राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भई विश्व शान्तिस्थापनामा काम गर्ने भएकाले कुनै देशको मातहतमा काम गर्ने वा गर्नुपर्ने भन्ने भनाइमा कुनै सत्यता छैन भन्नुभयो ।

अघिल्लो सरकारले चीनसँग गरेका सन्धिसम्झौता कार्यान्वयन गर्न मन्त्रालय क्रियाशील रहेको र त्यस दिशामा दुवै देशका अधिकारी निरन्तर सम्पर्क र संवादमा रहेका जानकारी दिँदै उहाँले चीनसँगको सचिवस्तरीय संयन्त्रको बैठक चाँडोभन्दा चाँडो आयोजना गर्ने चाहनाका साथ बेइजिङसँग पत्रचार भइसकेको बताउनुभयो ।

चीनसँग सम्पर्क विस्तारका थप नाका खोल्न सरकार लागिपरेको र सम्बद्ध सरकारी निकायसँग गहन छलफल जारी रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “कोदारी राजमार्ग शीघ्र सञ्चालन गर्ने प्रतिबद्धता चीनबाट आएको छ ।”

कुनै पनि मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता दोहो¥याउँदै परराष्ट्रमन्त्रीले एउटा मुलुकलाई खुसी पार्ने अर्कोलाई चिढ्याउने काम नेपालले कदापि नगर्ने प्रष्ट्याउनुभयो ।

खाडी राष्ट्र र मलेसियामा रहेका नेपाली श्रमिकको हकहित प्रवद्र्धन गर्न सरकार लागिपरेको स्पष्ट गर्दै उहाँले ती क्षेत्रमा रहेका नेपाली नियोगलाई हरदम क्रियाशील तुल्याइएको बताउनुभयो । रासस

नेपाल टेलिभिजनमा महाप्रबन्धकको पदपूर्ति प्रक्रिया रोक्न आदेश

काठमाडौँ, १३ पुस । सर्वोच्च अदालतले नेपाल टेलिभिजनको महाप्रबन्धकको पदपूर्तिको प्रक्रिया हाललाई यथास्थितिमा राख्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज उक्त आदेश जारी गरेको हो । सो इजलासले यही पुस १९ गते दुवै पक्षलाई राखी अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न बोलाएकोे छ ।

नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक राजेन्द्रराज तिमिल्सिनाले सर्र्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदनको पहिलो सुनुवाइबाट महाप्रबन्धकको पदपूर्ति प्रक्रिया यथास्थितिमा राख्न आदेश भएको हो ।

रिट निवेदनमा निजी क्षेत्रका आमसञ्चारमा सात वर्ष काम गरेका व्यक्तिले दरखास्त हाल्न पाउने तर नेपाल टेलिभिजनमा सोभन्दा लामो अवधि काम गरेका वरिष्ठ अधिकृतले आवेदन गर्न नपाउने गरी बनाइएको मापदण्ड खारेज गरी लोकसेवा आयोगबाट पदपूर्ति प्रक्रिया सञ्चालन गर्न माग गरिएको छ ।

यसअघिको प्रतिस्पर्धामा भाग लिएको आफूलाई नयाँ मापदण्डले विभेद गरेको निवेदक तिमिल्सिनाको जिकिर छ । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका निकायका पदाधिकारीको योग्यता र नियुक्तिसम्बन्धी मापदण्ड–२०७३ र त्यसको पहिलो संशोधनले नेपाल टेलिभिजनका अधिकृत र वरिष्ठ अधिकृतलाई आवेदन गर्न नपाउने व्यवस्था गरेको रिट निवदेनमा उल्लेख छ । रासस

गीत लेखनमा कहिल्यै कलम रोक्दिनँ : स्वेता

गीतकार स्वेता पुन मगर को गीती एल्बम स्वेता सार्वजनिक भएको छ । एल्बममा डान्सिड्ड र आधुनिक गरी चार वटा गीत समावेश छ । गीतमा प्रमोद खरेल, मिलन अमात्य र मेलिना राईले स्वर भरेका छन् ।
एल्बममा रहेका गितमध्ये मन्दिरझै चोखो बोलमा रहेको गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । जुन गितमा मेलिना राईको स्वर सुन्न सकिन्छ । प्रेम लामाले निर्देशन गरेको भिडियोमा स्वयम् गीतकार स्वेता र भुपेन्द्र क्षेत्रीले अभिनय गरेका छन् । मेलिनाको सुमधुर स्वरमा रहेको गीत तथा मेहनत गरेर बनाइएको भिडियोलाई सबै दर्शक श्रोताले मन पाराएको निर्देशक लामाले बताए ।
गीतकार स्वेता म्याग्दी जल्लाको दानागाउंमा जन्मिएकी हुन् । नेपालमै बस्ने इच्छा हुदाहुदै समय र परिस्थितिले उनलाई बेलायतर्फ डोर्यायो । बाध्यताले देश छाड्नुपरेपनि गीतसंगित र आफूभित्रको सिर्जनालाई कहिल्यै छाड्न सकिनन् स्वेताले । सानै उमेरदेखी सिर्जनशील स्वेता नेपाली गीतसंगितलाई मनबाटै मायां गर्ने गरेको र संगीतबाट टाढा जान नकस्ने बताउंछिन् ।
सांगीतिक एल्बम निकाल्ने चाहाना पहिलेदेखिकै भएको र ढिलै भएपनि आफ्नो गीती एल्बम आफ्नै देशमा सार्वजनिक गर्न पाउंदा निकै गर्व लागेको उनले बताईन् । आफूले लेखेको गीतको सबैजनाबाट प्रशंशा र सकारात्मक प्रतिक्रिया पाएकोले यस क्षेत्रमा अघि बढ्न थप हौसला तथा प्रेरणा मिलेको स्ेताले बताईन् ।
आउने दिनमा दर्शक स्रोताको रुचिअनुसारका गीत लेख्दै जाने बताउंदै नोपली गीत लेखनमा आफ्नो कलम कहिल्यै नरोकिने बताईन् ।

मेलम्चीको सुरुङमार्ग निर्माणको आज ‘ब्रेक थु्र’ हुँदै

काठमाडौँ, १३ पुस । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुरुङमार्ग (टनेल) निर्माण कार्य आज ‘ब्रेक थु्र’ हुँदैछ । यस क्रममा सुन्दरीजलदेखि सिन्धुसम्मको करिब साढे नौ किमीमध्ये खन्ने काम सम्पन्न हुने भएको छ ।

कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटर मात्र निर्माण गर्न बाँकी छ । यो नेपालको पहिलो सुरुङ मार्गसमेत हो ।

साथै, सिन्धुदेखि ग्यालथोक र ग्यालथोकदेखि अम्बास्थानसम्म पनि निर्माण कार्य द्रुतगतिमा भइरहेको छ ।

अहिले मेलम्चीको पानी उपत्यकावासीमा घर घरमा पु¥याउन धमाधम सडक खन्दै पाइप बिछ्याउने काम द्रुतरुपमा भइराखेको छ । यस कामका लागि नै दिनरात एक हजारभन्दा बढी मजदुर र सयभन्दा बढी प्राविधिक परिचालन समेत भइराखेको छ ।

मन्त्रालयका सचिव उपाध्यायले भन्नुभयो “मन्त्रालयको सबै ध्यान आगामी दसैँमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउन केन्द्रित छ, यसैमा सबै ध्यान लगाएका छौँ ।”

यही क्रममा राज्यमन्त्री दीपक खड्का र सचिव भीमप्रसाद उपाध्यायले रात र दिन दुवै समयमा पाइप बिछ्याउने कामको स्थलगत अनुगमन दैनिक रुपमा गरिरहनुभएको छ । यस क्रममा उहाँहरुले मङ्गलबार राति मीनभवन, बत्तीसपुतली, सिनामङ्गल, चाबहिल, गौशाला क्षेत्रको अनुगमन गर्नुभएको थियो ।

“रातको समयमा खन्ने र पाइप राख्ने काम अत्यन्त कठिन हुँदाहुँदै पनि द्रुतरुपमा काम भइराखेको छ । यही गतिमा काम जारी रहेमा २०७४ भदौभित्र सम्पन्न हुन्छ” सचिव उपाध्यायले भन्नुभयो ।

राष्ट्रिय गौरवका पहिलो प्राथमिकता प्राप्त मेलम्ची खानेपानी आयोजनाको काम निर्धारित समयभित्र पूरा गर्न मन्त्रालय चिन्तित रहेको उहाँले बताउनुभयो ।

राज्यमन्त्री खड्का र सचिव उपाध्यायले आज बिहान मेलम्ची खानेपानी आयोेजनाअन्तर्गत गुह्येश्वरीमा निर्माणाधीन ढल प्रशोधन केन्द्रको अनुगमन समेत गर्नुभयो । रासस

अनलाइनमार्फत सेयर कारोबार गर्न पाउनुपर्ने माग

काठमाडौँ, १३ पुस । सेयर लगानीकर्ता सङ्घले अनलाइनमार्फत सेयर कारोबार गर्न पाउनुपर्ने माग गर्दै नेपाल स्टक एक्सचेन्जमा धर्ना दिएको छ ।

सङ्घका सदस्यले सेयर बजारसँग सम्बन्धित नियमक निकायले अनलाइनमार्फत सेयर कारोबार गर्नुपर्ने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै आज दुई घन्टा धर्ना दिएका हुन् ।

यस्तै सङ्घले बैंकलाई यथाशीघ्र ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकरलाई यथाशीघ्र शाखा विस्तार गर्न दिनुपर्ने, बोनस, हकप्रद, मर्जर र सूचीकृत नीति नियम स्पष्ट हुनुपर्ने, बजार निर्माता ल्याउन पहल गर्नुपर्ने, गैरआवसीय नेपालीलाई पुँजी बजारमा ल्याउनुपर्नेलगायतका माग राखेका छन् ।

सङ्घका अध्यक्ष उत्तम अर्यालले पुँजी बजारलाई आधुनिकतातर्र्फ लान नसक्नु दुःखद् कुरा भएको बताउँदै आफूहरुले राखेका माग आइतबारसम्म पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले नेपाल स्टक एक्सचेन्ज पुँजी बजारको बाधक नभई यसको विकास र विस्तारमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “नियम बनाउने निकाय नियम नबनाउने र तुरुन्त यस्तो काम गर भन्दा समस्या उत्पन्न भएको हो ।”

उहाँले वाणिज्य बैंकलाई ब्रोकर अनुमतिपत्र दिने कुरामा स्टक एक्सचेन्ज बाधक नभएको पनि स्पष्ट पार्नुभयो । रासस

कोसी टापुमा पर्यटक आगमनमा निषेध

इनरुवा, १३ पुस । पूर्वाञ्चलको प्रसिद्ध पर्यटक क्षेत्रका रुपमा रहेको कोसी टापु वन्यजन्तु आरक्षमा पर्यटक आगमनमा निषेध गरिएको छ ।

आरक्षको जङ्गल क्षेत्रबाट दैनिकरुपमा जङ्गली हात्ती आएर बितन्डा मच्चाउने गरेका कारण आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको कोसी टापु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।

हात्ती आतङ्कका कारण यहाँ अवलोकन गर्न आउने पर्यटकमा मानवीय खतरा बढेकाले आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको आरक्षका संरक्षण अधिकृत श्यामप्रसाद साहले जानकारी दिनुभयो ।

आन्तरिक पर्यटकले अवलोकन गर्ने बेलामा पथ प्रदर्शक सहयोग नलिने गरेको र जङ्गल क्षेत्रको अवलोकन कसरी गर्ने विषयमा ज्ञानको अभाव भएकाले आरक्षमा आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको आरक्षका संरक्षण अधिकृत साहले बताउनुभयो ।

उहाँले टाढाबाट तथा नेपालबाहेकका मुलुकबाट चरा तथा जङ्गली जनावर हेर्न आउने पर्यटकलाई अवलोकन गर्न दिइने वातावरण बनाउने बताउनुभयो ।

विदेशी मुलुकबाट आरक्षको चरा तथा अर्ना हेर्नका लागि आउने पर्यटकलाई पथ प्रदर्शक र सावधानी अपनाएर आरक्ष अवलोकनको वातावरण मिलाउने अधिकृत साहले बताउनुभयो । रासस

बाक्लो हुस्सुका कारण हवाई उडान अवरुद्ध

बाँके, १३ पुस । बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगन्ज विमानस्थलबाट आज हुने बिहानी सेवाका सबै उडान अवरुद्ध भएका छन् ।

नेपालगन्ज बिमानस्थलबाट मध्य तथा सुदूरका हिमाली तथा पहाडी जिल्लाका उडान र नेपालगन्जबाट काठमाडौँको उडान पनि अबरुद्ध भएको नेपाल नागरिक उड्ययन कार्यालय नेपालगन्जले जनाएको छ ।

आज बिहान एक्कासी लागेको बाक्लो हुस्सुका कारण हवाई उडान अबरुद्ध भएपछि यात्रुहरु मौसम खुल्ने आसमा विमानस्थलमै बसीरहेका छन् । हवाई उडान अबरुद्ध हुँदा उपचारका लागि काठमाडौँ जाने यात्रु अझ बढी समस्यामा परेका हुन् । रासस

विरोध प्रदर्शन भव्य बनाउने एमालेको तयारी

काठमाडौँ, १३ पुस । नेकपा (एमाले) ले संविधान संशोधन प्रस्तावको यही पुस २२ गते काठमाडौँमा विपक्षी दलको आयोजनामा हुने विरोध प्रदर्शनमा उपत्यकामा रहेका आफ्ना सबै सङ्गठित सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

सरकारद्वारा अघि सारिएको संविधान संशोधनसम्बन्धी प्रस्ताव संविधान, जनभावना र राष्ट्रिय एकता, सामाजिक सद्भावविरोधी समेत रहेको निष्कर्षसहित उक्त प्रस्तावको विपक्षमा रहेका नेकपा (एमाले) सहितका नौ राजनीतिक दलले विरोध प्रदर्शनको तयारी गरेका हुन् ।

उक्त विरोध प्रदर्शनलाई संयोजन गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको आजको बैठकले आफ्ना उपत्यकामा रहेका सबै सदस्य सडकमा उतार्ने योजना बनाएको हो । उपत्यकामा एमालेका ५० हजार सदस्य रहेको बताइन्छ । रासस

संविधान कार्यान्वयनमा एमाले जिम्मेवार बन्नुपर्छ : पूर्व मन्त्री पुन

रुकुम, १३ पुस । पूर्व आपूर्ति मन्त्री एवम् सांसद गणेशमान पुनले संविधान कार्यान्वानमा देखिएको जटिलता अन्त्य गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकास निर्माणको अवस्थालाई निरीक्षण गर्न रुकुम पुग्नुभएका सांसद पुनले अहिलेको जटिलतालाई अत्य गर्न नेकपा एमाले जिम्मेवार बन्नुपर्ने बताउनुभएको हो ।

संविधान कार्यन्वयन हुन नदिनको लागि आन्तरिक तथा बाह्यशक्ति लागिरहेकाले ठूला दल एक हुनुपर्ने सांसद पुनको भनाइ थियो ।

नेकपा ९माओवादी केन्द्र०का सचिवालय सदस्यसमेत रहनुभएका पुनले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न र नयाँ संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको समेत बताउनुभो ।

अहिलेको प्रमुख जिम्मेवारी भनेको संविधान कार्यान्वयन भएकाले सरकार त्यसैअनुसार अगाडि बढेको छ भन्नुभयो ।

आर्थिक अभावमा कतिपय विकासका आयोजनाहरु बीचमै रोकिने अवस्थामा पुगेको भन्ने स्थानीयवासीको गुनासोमा उहाँले त्यसका लागि आफूले व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो । रासस

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts