Friday, December 9, 2016

आठौँ मानवअधिकार राष्ट्रिय महाभेला सुरु

काठमाडौँ, २४ मङ्सिर । अठ्सट्ठिऔँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आयोजित आठौँ मानवअधिकार राष्ट्रिय महाभेला–२०७३ आजदेखि सुरु भएको छ ।

‘सबैका लागि घरघरमा मानवअधिकार, शान्ति र विकासको आधार ः हाम्रो आवास, हाम्रो सहभागिता, न्याय र विविधतामा आधारित हाम्रो समावेशिता’ भन्ने मूल नाराका साथ सुरु भएको महाभेला तीन दिनसम्म चल्नेछ ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले महाभेलाको उद्घाटन गर्दै मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै अधिकारमुखी समाज सिर्जना गर्न सबैको उत्तिकै भूमिका हुने बताउनुभयो ।

सांसद नगेन्द्र कुमालले मानवअधिकारसँग जोडिएका विषयमा आदिवासी, जनजाति र दलितलगायतका उत्पीडित समुदायसँग सरकारले पटकपटक सहमति गरेर कार्यान्वयन नगरेको गुनासो गर्नुभयो ।

मानवअधिकारकर्मी चरण प्रसार्इं, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष सुदर्शन सुवेदी र राष्ट्रिय महिला आयोगका कावा अध्यक्ष भगवती घिमिरेलगायतले राज्यले मानवअधिकारका सवाललाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिनुभयो ।

विभिन्न सङ्घसंस्था सहभागी रहेको महाभेला आयोजक मूल समितिका संयोजक सुनी लामाले उत्पीडित समुदायको अधिकारको प्राप्तिका लागि संविधान कार्यान्वयनमा जोड दिनुभयो ।

समितिले यस वर्षको ‘शान्ता–लक्ष्मी पुरस्कार’ मुस्लिम अधिकारकर्मी नजबूल खानलाई प्रदान गरेको छ । पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।

तीन दिनसम्म जारी रहने महाभेलामा मानवअधिकारसँग सम्बन्धित विभिन्न शीर्षकमा आधारित कार्यपत्रमाथि छलफल गरी काठमाडौँ घोषणापत्र जारी गरिनेछ ।

त्यसैगरी महाभेलाका पूर्व संयोजकहरू चरण प्रसार्इं, गणेश विके, कपिल श्रेष्ठ, सुदर्शन सुवेदी, गजाधर सुवेदी, कृष्ण सुवेदी र शान्ता लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts