Thursday, December 22, 2016

कोरियाली कलाकारको नेपालबारेको फोटो प्रदर्शनी सुरु

ललितपुर, ७ पुस । दक्षिण कोरियाली फोटोग्राफर छो योङ सो को ‘नेपालका पश्चिमी हिमाली एवम् पहाडी क्षेत्रको बृहत् फोटो प्रदर्शनी, २०७३’ बुधबारबाट पाटन सङ्ग्रालयमा सुरु भएको छ ।

नेपालको पश्चिमी हिमाली र पहाडी क्षेत्र र त्यहाँ बसोबास गर्ने नागरिकका जीवनशैली उहाँका फोटोका विषयवस्तु हुन् । उहाँले २५ वर्षदेखि त्यस क्षेत्रको भ्रमण गरी फोटो लिनुभएको थियो ।

नेपालको पहाडी क्षेत्रको सुन्दरताले आफूलाई आकर्षण गरेकाले ती फोटोहरु सङकलन गरेको उहाँले बताउनु भयो । एक सय ८ दिन लगाएर उहाँले यी फोटो खिच्नुभएको थियो । काठमाडौँबाहेकका क्षेत्रमा समेत प्रदर्शनी गर्ने उहाँको योजना छ । पाँच दिनसम्म चल्ने प्रदर्शनी मन्डिकाटारस्थित लोयल्टी एकेडेमीले आयोजना गरेको हो ।

ललितकला प्रज्ञा–प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले विदेशी नागरिकले आएर नेपाललाई फोटो मार्फत चिनाउन लाग्नु हाम्रो गौरवको विषय भएको बताउनुभयो ।
प्याब्सनका वरिष्ठ उपाध्यक्षसमेत रहेका लोयल्टी एकेडेमीका संस्थापक अध्यक्ष विजय सम्वाहाम्फेले सोको कोरियामा भएको प्रदर्शनीमा आफू पुग्दा त्यहाँका नागरिकले नेपालको फोटो चासो दिएर हेरेको बताउनुभयो ।

कलाकार सोले नेपालमा दोस्रोपटक प्रदर्शनी गर्नु भएको हो । उहाँले २००८ मा पनि काठमाडौँमा प्रदर्शनी गर्नुभएको थियो । उहाँले नेपालमा खिच्नुभएको फोटो कोरियामा चारपटक प्रदर्शनी भइसकेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts