Thursday, December 15, 2016

श्रीमतीको उपचारका लागि सहयोगको याचना

पाँचथर, १ पुस । पाँचथरको भारपा–८ का कृष्णबहादुर विश्वकर्माले दुवै मिर्गौलामा खराबी देखिएर जीवन र मृत्युसँग सङ्घर्ष गरिरहेकी आफ्नी श्रीमतीको उपचारका लागि सहयोगको याचना गर्नुभएको छ ।

फिदिममा पत्रकारसँग कुराकानी गर्दै कृष्णले उपचार गर्ने पैसा नहुँदा अहिले आफ्नी ३९ वर्षीया श्रीमती विष्णुशंकर घरैमा छट्पटाइरहेको बताउनुभयो । अस्वाभाविक रुपमा रगत बग्ने समस्या देखिएपछि कृष्णले विष्णुलाई मङ्सिर २० गते पाँचथर अस्पतालमा जचाउन ल्याउनु भएको थियो ।

डाक्टरले उच्च रक्तचापका कारण विष्णुको मिर्गाैलामा असर परेको भन्दै तत्काल ठूलो अस्पतालमा लान सुझाव दिएपछि उनलाई झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पताल पु¥याइयो थियो । त्यहाँ जचाउँदा विष्णुको दुवै मिर्गौलामा खराबी देखिएको र तुरुन्त विशेषज्ञ डाक्टर कहाँ लान भनेको श्रीमान् कृष्णले बताउनुभयो ।

उहाँले भन्नुभयो–“भएको पैसा सबै सकियो त्यसैले श्रीमतीलाई विवश भएर घर फर्काएँ, अहिले उनको उपचारका लागि सहयोगीको खोजीमा छु ।” कृष्णका अनुसार विष्णुको दुवै मिर्गौलाको ५० प्रतिशत भाग काम नलाग्ने भएको हुनसक्ने डाक्टरले बताएका छन् ।

गत वर्षको वैशाख १२ गते आएको भूकम्पमा क्षति भएको घरसमेत पुनः निर्माण गर्न नसकिरहेको बेला कृष्णलाई अर्को समस्या आइलागेको हो । दुई छोरा र दुई छोरी रहेको कृष्णको केही वर्षअघि जेठा छोरा सुनिलमा अपाङ्गताको र जेठी छोरी एलिशा र कान्छी एलिजामा समेत आफैँ बेहोस भएर ढल्ने समस्या देखिएको थियो ।

विभिन्न सङ्घसंस्थाको सहयोगमा उपचारपछि हाल १८ वर्ष पुगेका सुनिल र १६ वर्षकी एलिशामा त्यो समस्या हटेको छ तर कान्छी १४ वर्षीया एलिजालाई भने पूर्ण रुपले रोगले छोडेको छैन । मस्तिष्क र नशाको समस्या झेलिरहेकी एलिजाले अहिले पनि औषधि सेवन गरिरहेको कृष्णले बताउनुभयो ।

कमजोर आर्थिक अवस्था भएका उहाँले आफ्नी श्रीमतिलाई बचाउन सबैसँग आर्थिक सहयोगको याचना गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts