Tuesday, December 20, 2016

लगानी सम्मेलनमा सहभागी हुन उद्योगमन्त्री जोशीको आह्वान

काठमाडौँ, ५ पुस । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुन १९ र २० गते हुने नेपाल लगानी सम्मेलनमा सहभागी भई नेपालका सम्भाव्य लगानीका क्षेत्र पहिल्याउन आह्वान गर्नुभएको छ ।

उद्योग मन्त्रालयले आज यहाँ आयोजना गरेको नेपालस्थित विभिन्न देशका राजदूत एवम् कूटनीतिक नियोगका प्रमुखसँगको अन्तक्र्रियामा उहाँले राजनीतिक एवम् नीतिगत रुपमा नेपालमा लगानीका लागि कुनै समस्या नभएको बताउनुभयो ।

नयाँ संविधान जारी भएसँगै राजनीतिक दलहरु अबको प्रमुख मुद्दा आर्थिक समृद्धि हो भन्ने विषयमा प्रस्ट रहेको उल्लेख गर्दै मन्त्री जोशीले मन्त्रालय अहिले कानुनीरुपमा लगानीकर्तालाई लगानी सुरक्षाको प्रत्याभूति दिलाउन तयार रहेको बताउनुभयो ।

लगानीसम्बन्धी कतिपय ऐन संसद्बाट पारित भइसकेको र कतिपय कानुन पारित हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । उद्योग दर्ता प्रक्रियालाई सरल एवम् छरितो बनाइएको मन्त्री जोशीको भनाइ थियो ।

मन्त्री जोशीले भन्नुभयो, “नेपाली र विदेशी लगानीकर्तामा कुनै भेदभाव हुँदैन, समान व्यवहार गरिन्छ ।” उहाँले बढी भन्दा बढी रोजगारी सिर्जना गर्न मन्त्रालयले उत्पादनमूलक उद्योगको स्थापनालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

मन्त्री जोशीले अन्तर–मन्त्रालयबीचको समन्वयका लागि अहिले उद्योग मन्त्रालयको पहलमा नियमित रुपमा श्रम, भौतिक योजना तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास, वन, वातावरण र कृषि विकासमन्त्रालयबीच सहकार्य हुँदै आएको स्पष्ट पार्नुभयो ।

छलफलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्र, जापान, संयुक्त राज्य अमेरिका, स्वीडेन, दक्षिण अफ्रिका, म्यानमार, न्युजिल्यान्ड, थाइल्यान्ड, फिनल्यान्ड, चेक रिपब्लिकलगायतका मुलुकका कूटनीतिज्ञहरुको सहभागिता थियो ।

उहाँहरुले लगानीका लागि उपयुक्त वातावरण बनाउन राजनीतिक स्थिरताका साथै श्रम ऐन पनि पनि चाँडो ल्याउन जरुरी रहेको सुझाव दिनुभएको थियो ।

बैठकमा उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइराला र सहसचिव यमकुमारी खतिवडाले नेपाल लगानी सम्मेलनको तयारी र त्यसको व्यवस्थापनबारे जानकारी गराउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts