Friday, December 23, 2016

अठ्तीस वर्षपछि मेची रङ्गशालामा बक्सिङ

झापा, ८ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत बक्सिङ खेलका लागि मेची रङ्गशाला तयार पारिएको छ ।

भद्रपुर नगरपालिकामा रहेको मेची रङ्गशालामा ३८ वर्षपछि बक्सिङ खेल आयोजना हुँदैछ । उक्त रङ्गशालामा यसअघि २०३५ सालमा राष्ट्रिय बक्सिङ प्रतियोगिता भएको थियो । यस पटक सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत उक्त रङ्गशालामा बक्सिङ खेल मात्र खेलाइने भएको छ । शनिबार उद्घाटन हुने बक्सिङ प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको बक्सिङ खेलका संयोजक एवम् नेपाल बक्सिङ सङ्घका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौलाले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि रङ्गशालालाई झकिझकाउ पारिएको छ । सहभागिता जनाउन पाँच विकास क्षेत्र तथा तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल)का खेलाडी र प्रशिक्षकसहित करिब दुई सय जना यहाँ आइसकेका छन् । प्रतियोगिता सञ्चालनअघि पूर्वाधार निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले करिब रु ६८ लाख खर्च गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले बताउनुभयो ।

चालिसको दशकपछि युवा तथा खेलकुद मन्त्रालय तथा राखेपबाट पूर्वाधार निर्माण तथा मर्मतसम्भारका लागि पहिलो पटक बजेट प्राप्त भएको हो । रङ्गशाला रङरोगनका लागि भद्रपुर नगरपालिकाले जिम्मा लिएको छ । समितिका अध्यक्ष थापाका अनुसार शनिबारदेखि नै जिल्लाको काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा ब्याडमिन्टन, धुलाबारीस्थित पासाङ ल्हामु हलमा जिम्न्यास्टिक र जुडो तथा दमकमा आइटिएफ तेक्वान्दो खेल सुरु हुँदैछ ।

चार वटै खेलका पाँच सय ५० भन्दा बढी खेलाडी प्रतियोगितास्थल आइपुगेका छन् । यहाँ पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न पाउँदा यहाँका खेलप्रेमी उत्साहित छन् ।
यसअघि २०६८ फागुन १४–२१ गतेसम्म सुदूरपश्चिमको भीमदत्तनगर र धनगढीमा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । विसं २०७० फागुन र चैतमा सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मा पूर्वाञ्चलले पाए पनि दुई वर्षभित्र गरिनुपर्ने प्रतियोगिता झन्डै पाँच वर्षपछि पूर्वाञ्चलका विभिन्न जिल्लामा आजदेखि सुरु भएको छ ।
आवश्यक पूर्वाधार निर्माण नहुँदा प्रतियोगिता हुनेबारे अन्योल थियो । तीन तीन पटकसम्म खेल तालिका परिवर्तन गरिँदा प्रतियोगिता हुने नहुनेबारे यहाँका खेलप्रेमीमा द्विविधा थियो । पूर्वाधार निर्माणका लागि रकम अभाव हुँदा यहाँका खेलप्रेमी प्रतियोगिता हुनेबारे विश्वस्त हुन सकेका थिएनन् । “पटक पटक खेल प्रतियोगिताको समय परिर्वतन भयो,” जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष प्रशान्त भण्डारीले भन्नुभयो –“विराटनगरमा राष्ट्रपतिले प्रतियोगिताको उद्घाटन गरेपछि खेल आयोजना हुनेमा हामी ढुक्क भयौंँ ।”

विभिन्न पूर्वाधार निर्माण नभएकै अवस्थामा प्रतियोगिता सञ्चालन हुँदैछ । मेची रङ्शालाबाहेक काँकरभिट्टा, धुलाबारी र दमकमा प्रतियोगिताका लागि सरकारीस्तरबाट कुनै पनि पूर्वाधार निर्माण गरिएको छैन । ती तीन वटै ठाउँमा स्थानीय स्रोतसाधन जसोतसो जुटाएर प्रतियोगिताको आयोजना गरिँदैछ ।
“पूर्वाधार निर्माणका लागि राष्ट्रिय प्रतियोगिताको माग गरेका थियौँ” कराँतेका पूर्वराष्ट्रिय खेलाडी समेत रहनुभएका उपाध्यक्ष भण्डारीले भन्नुभयो,“पूर्वाधारको अवस्था देखेर खिन्न भएका छौँ ।” पटक पटक प्रतियोगिताको मिति सरेपछि खेलप्रेमीको खेलप्रतिको उत्साह घट्दै गएपछि साबिक अवस्थामा नै प्रतियोगिता सञ्चालन गर्न बाध्य भएको उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts