Thursday, January 5, 2017

मृत्यु गुहार्दै असहायः ‘नबुदिनी खातुन’

जनकपुरधाम, २२ पुस । “कोही पनि छैन अब मेरो यो संसारमा, म एक्लै छु, भोकै बस्छु, छोराछोरी, नातिनातिनी सबै अकाल मृत्युको चपेटामा परेर गए, अल्लाहले म जस्तीलाई किन न बोलाएको ?, जीवनबाट अब थाकी सकेकी छु ।”

यो दुःखेसो हो – जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरकी एक वृद्ध महिलाको । घर परिवार सबै सखाप भइसकेको जनकपुर उपमहानगरपालिका–१६ की नबुदिनी खातुन जीवनबाट हरेस खाएर जीउने चाहना छोडिसकेकी छिन् ।

शीतलहरको मौसममा पनि सुतलीको बोरा ओढेर बाँचिरहेकी खातुनको जग्गा जमिन र परिवारको सदस्यको नाउमा केही पनि छैन । छोरी, ज्वाइँ, नातिनीहरु अल्पआयुमै मृत्यु हुँदा जीवनको भार सहन गर्न नसकिरहेकी खातुन मृत्युका लागि अल्लाहलाई गुहार्दै दिनचर्या बिताउन बाध्य भएकी छिन् ।

“श्रीमान् पनि करिब तीन वर्ष अघि बिते, छोरी र ज्वाइँ जसोतसो मलाई खुवाउने गर्थे, तर छोरी र ज्वाइँ पनि अल्पआयुमै छोडेर गए । नातिनातिनीको सहारामा केही दिन गुजारा गर्थेँ, तर नातिने ज्वाइँको पनि अकाल मृत्यु हुँदा अब मलाई हेर्ने कोही नि छैन । जसोतसो अरुबाट मागेर खान पाएको छु, चार दिनसम्म भोकै बसेर पनि जीवन बिताउन बाध्य छु, अल्लाहलाई मृत्युको लागि गुहारिरहेको छु, तर अल्लाह पनि ममाथि रिसाएको जस्तो छ ।”– खातुनले रुँदै भनिन् ।

महिनाथपुर घर भएकी खातुनलाई गरिबीले सताएपछि छोरी र ज्वाइँ कपिलेश्वरले ल्याए पनि उनीहरुको मृत्यु पश्चात कपिलेश्वरको कमलापथ लगत्तै रहेको सार्वजनिक जग्गामा सानो झुपडीको सहारामा जीवनयापन गरिरहेकी छिन् ।

खातुनले भनिन्– “न कोही खान दिन्छन्, न त कोही खानको लागि पैसा, प्रत्येक शुक्रबारको मस्जिद बाहिर बसेर भिख माग्दा कोही रु पाँच त कोही रु १० दिन्छन्, तर त्यसले दुई दिन पनि खान पुग्दैन, माग्न जाँदा हप्काएर भगाउँछन्, यस्तोमा अब जीवनबाट थाकिसकेको छु ।”

यतिको जाडोमा परालमाथि बोरा ओढेर जाडो छलिरहेकी खातुनलाई हेर्न अहिलेसम्म कुनै सङ्घसंस्था वा सरोकारवाला निकायले सहारा नदिएको भन्दै दातृ निकायलाई पनि सहयोग गर्न आग्रह गरिन् ।

उनले भनिन् – “जाडो छल्न गाह्रो भएको छ, ओछ्यान नभएर पराल ओछ्याएको छु, तर ओढ्नका लागि मोटो कपडा नभएर कठ्याङ्ग्रिएर रात काट्न बाध्य छु ।”

अरुले खान दिएको भरमा मात्रै जीवित खातुन मृत्युलाई गुहारिरहेको अवस्थामा स्थानीय क्लब, सङ्घसंस्था, समाजसेवी र सरोकारवाला निकायले उनलाई सहयोग गर्नुपर्ने खाँचो रहेको छ । हिमांशु चौधरी/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts