उर्लाबारी (मोरङ), ३ माघ । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले राजनीतिक पूर्वाग्रह त्यागेर देश निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
मोरङको उर्लाबारी नगरपालिकाले यहाँ आज आयोजना गरेको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक नगर विकास योजना सार्वजनिकीकरण तथा कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री जवेगुले सो कुरा बताउनुभएको हो ।
विसं २००७ देखि हालसम्म राजनीतिक अधिकारकै निम्ति समय खर्चिएको बताउँदै उहाँले देश बनाउनका लागि अब राजनीतिक पूर्वाग्रह त्यागेर लाग्नुपर्नेमा जोड दिँदै नयाँ संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै उहाँले यसमा रहेका असन्तुष्टिका विषयलाई सम्बोधन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
विसं २०५४ देखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकास निर्माणका काम तीव्र गतिमा हुन नसकिरहेको जनाउँदै अब माघभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा हुने बताउनुभयो ।
सो अवसरमा उहाँले नेपाल सरकारको सहयोगमा रु दुई करोड ७० लाखको लागतमा निर्माण भएको कार्यालय भवनको उद्घाटन गर्नुका साथै रु एक करोड २३ लाखको लागतमा निर्माण हुने व्यापारिक भवनको शिलान्याससमेत गर्नुभएको थियो ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र थापामगरले आगामी आव २०७४÷७५ का लागि रु १५ करोड ५६ लाख ८८ हजार ६०० बराबरको प्रस्तावित बजेट पेस गर्नुभएको थियो ।
कार्यक्रममा नगरपालिकाले प्रदान गरेको रु १२ हजार ५०० राशिको नगर विकास पत्रकारिता पुरस्कारबाट ब्लाष्ट टाइम्स दैनिकका मदनबाबु प्रसार्इं र रु सातहजार ५०० राशिको क्रियाशील पत्रकारिता पुरस्कारबाट उद्घोष दैनिकका गोविन्द पोख्रेललाई पुरस्कृत गरिएको थियो । रासस
No comments:
Post a Comment