Tuesday, February 7, 2017

निर्वाचन हुन्छ, तयारीमा लाग्नुस् – मन्त्री डा महत

काठमाडौँ, २५ माघ । परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले पूर्वनिर्धारित मितिमै स्थानीय तथा केन्द्रीय तहको निर्वाचन हुनेमा आशङ्का नगरी निर्वाचनको तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

नेपाल आदिवासी जनजाति सङ्घ, काभ्रेपलाञ्चोकको दोस्रो जिल्ला अधिवेशनको आज धुलिखेलमा उद्घाटन गर्दै मन्त्री डा महतले निर्वाचनको तयारीमा लाग्न नेपाली काँग्रेसका समग्र कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

नेपालमा द्वन्द्वको समाधान गरी संविधानसभाको निर्वाचन र नयाँ संविधान लेख्नेसम्मको इतिहासको महत्वपूर्ण क्षण र घटनाक्रमको नेतृत्व नेपाली काँग्रेसले नै गरेकाले अब संविधानको कार्यान्वयनका लागि पनि काँग्रेस समयमै निर्वाचन गराउने कामबाट नचुक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ कतिपयले काँग्रेसलाई निर्वाचन नचाहिएको भनी गलत टिप्पणी पनि गर्ने गरेका छन् तर त्यसो होइन, यो संविधान निर्माणको नेतृत्व गरेको काँग्रेसले नै यसको कार्यान्वयनका लागि अगुवाइ गर्नेछ र त्यसका लागि संविधानमा व्यवस्था भएबमोजिमको समयमा निर्वाचन हुनु जरुरी छ ।”

मन्त्री डा महतले नेपालका विभिन्न जातजाति, भाषा र सम्प्रदायका नागरिकलाई देश निर्माणका अभियानमा सहभागी गराउन र नेपाली काँग्रेसको सङ्गठनमा पनि उनीहरुको उचित प्रतिनिधित्व बढाउनका लागि काँग्रेसले नै पहिलोपटक समावेशीतामा आधारित पार्टी विधानको व्यवस्था गरेको उहाँले स्मरण गर्नुभयो । तर यसको अर्थ नेपालमा जातीय राज्य वा जातका आधारमा राजनीतिक विवाद बढाउनका लागि नभएर राज्य व्यवस्थामा पनि देशका सबै वर्ग र क्षेत्रका नागरिकको सहभागिता होस् भनेर काँग्रेसले यो नीति लिएको उहाँको भनाइ थियो ।

उहाँले जातजाति, दलित समुदाय वा भूगोललगायतका विविध कारणले पछि परेका नागरिकलाई आरक्षणभन्दा पनि शिक्षा आर्जन गरी प्रतिस्पर्धाका आधारमा अघि बढ्न सक्नेगरी क्षमताको विकास गर्न आग्रह गर्नुभयो ।

उहाँले अहिले देशमा संविधान संशोधन पहिला कि निर्वाचनको घोषणा भनेर विवाद बढाइएको र यसका कारण थप अन्योलको अवस्था आउनेजस्तो प्रचार गरिएको स्मरण गर्दै तर नेतृत्वले अन्तिम समयसम्ममा सही निर्णय गर्ने र छिट्टै देशलाई निकास दिनेमा आफू विश्वस्त रहेको धारणा पनि राख्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts