काठमाडौँ, ५ फागुन । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आंशिक बदली भएको छ ।
उक्त वायुले बदली गराए पनि वर्षात् हुने सम्भावना नरहेको मौसमविद् सुभाष रिमालले राससलाई जानकारी दिनुभयो ।
“बुधबारदेखि सुरु भएको पश्चिमी वायुले दिउँसोको तापक्रममा कमी ल्याउनेछ, यो प्रणाली अझै दुई÷तीन दिन जारी रहन्छ” – उहाँले भन्नुभयो ।
मौसमविद् रिमालका अनुसार पश्चिमी वायुमा जलवाष्पको मात्रा कम भएकाले वर्षा गराउने सम्भावना नरहे पनि पहाडी भेगका केही स्थानमा छिटफुट वर्षात् हुने सम्भावना रहेको छ ।
भूमध्य सागरबाट विकसित भएको ठूलो वर्षा गराउने खालको यो बादल प्रणालीले अफगानिस्तान र पाकिस्तानमा प्रभाव पार्ने देखिए पनि नेपालमा आइपुग्ने टुक्राटाक्री बादलले वर्षा नपार्ने बताइएको छ ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम पाँच र अधिकतम तापक्रम २२ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस
No comments:
Post a Comment