काठमाडौँ, २५ फागुन । कपनस्थित सेतो गुम्बामा महायानी सम्प्रदायका स्वदेशी तथा विदेशी गरी करिब एकहजार पाँचसय अनुयायीलाई मंगलबार ‘आयु–अभिषेक’ प्रदान गरियो ।
विश्व शान्ति तथा मानव कल्याणका लागि आयोजित कार्यक्रममा कपन गुम्बाका प्रमुख परमपूज्य गुरु क्याब्जे जोपा रिन्पोछेले त्यहाँ उपस्थित अनुयायीलाई विधिपूर्वक सो ‘आयु–अभिषेक’ दिनुभएको हो ।
सहभागीलाई ‘आयु–अभिषेक’ प्रदान गर्दै गुरु जोपा रिन्पोछेले अन्तर्राष्ट्रिय तहमा शान्ति तथा सहअस्तित्व कायम गर्नका लागि बौद्व दर्शन तथा साहित्यको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै सम्यक दृष्टि र वचनको माध्यमबाट शान्तिपूर्ण समाजको विकास हुने बताउनुभयो ।
उक्त पूजामा सहभागी भएमा विश्वका सम्पूर्ण जीव तथा मानवकल्याणका लागि सकारात्मक ऊर्जा प्राप्त भई रोगव्याधी तथा पापमुक्त भइने जनविश्वास छ ।
दीर्घजीवन प्राप्तिको कामना गर्दै गरिएको धार्मिक अनुष्ठानमा पुण्य मिल्ने तथा समग्र जगत् र जीवको अधिकार तथा हितको संरक्षणका लागि प्रेरणा पाइने बौद्व विद्वान टीका शेर्पाले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment