Tuesday, March 14, 2017

उजुरीमा पीडित नै उदासिन

रोल्पा, २ चैत । बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले तेस्रोपटक उजुरी दिने म्याद थप गरे पनि सशस्त्र युद्धबाट सबैभन्दा बढी प्रभावित रोल्पा जिल्लामा भने पीडित नै उदासिन देखिएका छन् ।

तेस्रोपटक गत फागुन १५ गते एक महिनाका लागि उजुरी दिने गरी सूचना जारी गरिएको भए पनि हालसम्म एक जना बेपत्ता परिवारले मात्र उजुरी दिइएको स्थानीय शान्ति समिति रोल्पाका कार्यालय सचिव गणेश विष्टले जानकारी दिनुभयो ।

आयोगले गत वैशाखदेखि आसारसम्म गरी दुई चरणमा उजुरी आह्वान गरेको थियो । सो अवधिमा जिल्लामा जम्मा ११६ जना बेपत्ता परिवारले उजुरी दिएको कार्यालय सचिव विष्टले बताउनुभयो ।

अधिकांश बेपत्ता परिवारका सदस्यले यस पूर्व नै उजुरी दिइसकेको तथा कतिपय बेपत्ता भए पनि मृतकको सूचीबाट राहत पाएका कारण पछिल्लोपटक कम उजुरी आएको हुनसक्ने स्थानीय शान्ति समिति रोल्पाका पूर्व संयोजक खेम बुढामगरले जानकारी दिनुभयो ।

पीडितसम्म सूचना नपुगेर तथा यस पूर्वको उजुरीको सुनुवाइ नभएका कारण पनि पीडितले न्याय पाइन्छ भन्ने विश्वास नभएका कारण उजुरी कम परेको हुनसक्ने द्वन्द्वपीडित श्रीकुमारी रोकाले बताउनुभयो ।

द्वन्द्वको क्रममा २०५२ फागुन १ देखि २०६३ साल मङ्सिर ५ गतेभित्र बेपत्ता भएका व्यक्तिका हकदारले उजुरी दिन सक्ने स्थानीय शान्ति समिति रोल्पाका संयोजक पूर्णे पुनले बताउनुभयो

उजुरी दिन छुटेका पीडितलाई स्थानीय शान्ति समितिको कार्यालय रोल्पा वा आयोगको कार्यालयमा उजुरी दिन सूचनामार्फत जानकारी गराइसकेको स्थानीय शान्ति समिति रोल्पाका संयोजक पुनले बताउनुभयो ।

सशस्त्र द्वन्द्वको समयमा रोल्पामा एक हजारभन्दा बढीको मृत्यु भएको थियो भने थुप्रै व्यक्ति हालसम्म पनि बेपत्ता रहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts