भक्तपुर, ३० चैत । स्वास्थ्यमन्त्री गगनकुमार थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिले आज भुँलाखेलमा आयोजना गरेको नयाँ वर्ष २०७४ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले दुई वा सो भन्दा बढी चरणमा भए पनि निर्वाचन हुने तर वैशाख ३१ गतेको मिति हेरफेर नहुने बताउनुभयो ।
नेकपा (एमाले) र मधेसवादी दललाई जिम्मेवार ढङ्गले प्रस्तुत हुन मन्त्री थापाले आग्रह गर्नुभयो । संविधानको सफल कार्यान्वयनको एक मात्र कडी स्थानीय तहको निर्वाचन भएको र एमाले र मधेसवादी दललाई सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधनको प्रस्तावलाई प्रस्थान बिन्दु मानेर सहमतिमा आउन उहाँले आग्रह गर्नुभयो ।
मधेसबिना निर्वाचन सम्भव नभएकाले संविधान संशोधनको संशोधित प्रस्ताव संसद्मा दर्ता गरेको उहाँको भनाइ थियो । मुलुकमा नक्कली राष्ट्रवाद हाबी हुन खोजेको र मधेसलाई नेपाल नदेख्नेले राष्ट्रवादको कुरा गर्नु गलत भएको मन्त्री थापाले टिप्पणी गर्नुभयो ।
सांसद रामेश्वरप्रसाद ढुङ्गेलले संविधानको सफल कार्यान्वयनको जिम्मेवारी नेपाली काँग्रेसको भएकाले यसलाई सफल बनाउन स्थानीय तहको निर्वाचनमा काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । रासस
No comments:
Post a Comment