Thursday, April 20, 2017

मतदाता र उम्मेदवारलाई प्रभाव पार्ने काम हुनुभएन – प्रमुख आयुक्त डा यादव

काठमाडौँ, ७ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनमा उम्मेदवार र मतदातालाई प्रभाव पार्ने गरी कुनै काम नगर्न÷नगराउन गैरसरकारी संस्थाका प्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।

स्थानीय तहको यही वैशाख ३१ गते हुने निर्वाचनका सन्दर्भमा गैरसरकारी संस्थाले पालन गर्नुपर्ने आचारसंहिताका बारेमा जानकारी गराउने उद्देश्यले आज आयोजित छलफलमा उहाँले उक्त निर्देशन दिनुभएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “नेपाली जनताका नाममा आएको रकम र साधनस्रोत उनीहरुकै हितका लागि खर्चनु पर्दछ, निर्वाचनको समयमा आचारसंहिताको पालनामा अलि बढी सजग हुनुस् ।”

वैशाख १५ गतेबाट गैरसरकारी सङ्घसंस्थाले पूर्णरुपमा आचारसंहिता पालना गर्नुपर्ने हुन्छ, त्यसपछि नयाँ कुनै पनि कार्यक्रम घोषणा नगर्न तथा पुराना कार्यक्रम पनि निर्वाचन अवधिभर थाती राख्न गैरसरकारी संस्थाका प्रतिनिधिलाई उहाँले सुझाव दिनुभयो ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउन, उम्मेदवार र दलबीच कुनै द्वन्द्व नहोस् र मतदाताले भयरहित वातावरणमा मतदानमा भाग लिन पाउन् भन्ने हेतुले जारी गरिएको निर्वाचन आचारसंहिताको पालनामा सबैले ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र आचारसंहितको पालनामा आयोगले अब ध्यान केन्द्रित गर्ने जानकारी दिनुभयो ।

आयोगका सहसचिव सुशील कोइरालाले निर्वाचन आचारसंहितसम्बन्धी कानुनी व्यवस्था, दण्ड, जरिवानाका बारेमा जानकारी गराउँदै दक्षिण एसिया र अफ्रिकी मुलुकले अवलम्बन गरेको कानुनी व्यवस्थाका आधारमा आचारसंहिता तयार गरिएको बताउनुभयो ।

समाज कल्याण परिषद् र मातहतमा सञ्चालित गैरसरकारी संस्थाका प्रतिनिधिले आचारसंहिताका बारेमा व्याख्यामा एकरुप तथा पालना भए÷नभएकामा समान दृष्टिकोण हुन आवश्यक रहेको बताउनुभयो ।

छलफलमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णु लम्साल र समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालले निर्वाचनमा भाग लिन चाहनेले गैरसरकारी संस्थाको जिम्मेवारीबाट अलग हुन आवश्यक रहेको बताउनुभयो ।

नेपालमा ३५ हजारभन्दा बढी गैरसरकारी सङ्घसंस्था दर्ता छन् भने १४५ वटा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था सञ्चालनमा रहेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts