नुवाकोट, १३ वैशाख । नुवाकोटको बेलकोटगढी नगरपालिकाको कार्यालय डेढ महिनापछि शुभारम्भ गरिएको छ । राज्य पुनर्संरचनाअन्तर्गत गठन भएको बेलकोटगढी नगरपालिका–९ जिलिङको बाघखोरमा रहेको सामुदायिक आवास भवनबाट कार्यालय सञ्चालनमा ल्याइएको हो ।
गत फागुन २७ गते स्थानीय निकाय भङ्ग गरी स्थानीय तह सञ्चालनमा आएपनि बेलकोटगढी नगरपालिकामा भने भौतिक स्रोत अभावको कारण देखाउँदै कार्यकारी अधिकृत हरिप्रसाद चापागाईं जान नमानेपछि ढिलाइ हँुदै आएको थियो ।
बेलकोटगढी नपामा स्थानीय तहको निर्वाचन गराउन निर्वाचन अधिकृतसमेत रहनुभएका चापागार्इंले मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयसहित नगरपालिकाको कार्यालय पनि शुभारम्भ गरेको जानकारी दिनुभयो । बेलकोटगढी नपा सञ्चालन भएसँगै जिल्लामा रहेका १२ वटै स्थानीय तहको सेवा सञ्चालन भएको छ ।
बेलकोटगढी नपाले कार्यालयको नाममा साइनबोर्ड, लेटर प्याड, छापलगायत बनाएर नगरपालिकाले प्रवाह गर्ने सेवा सुरु भएको कार्यकारी अधिकृत चापागार्इंले बताउनुभयो ।
साबिकको कुमरी, दुई पिपल, रातमाटे, जिलिङ, बेलकोट र मदानपुरको वडा नं ७ र ८ बाहेकको बाँकी वडा मिलाएर स्थापना भएको बेलकोटगढी नगरपालिकामा ३९ हजार जनसङ्ख्या रहेको छ । वैशाख ३१ गते हुन लागेको निर्वाचनका लागि २६ हजार चारसय ६६ जना मतदाता नामावलीमा सूचीकृत छन् । रासस
No comments:
Post a Comment