Tuesday, May 30, 2017

तेजतीर्थ पुरस्कार वज्राचार्य, मानन्धर, झा र लुइँटेललाई

काठमाडौँ, १६ जेठ । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाल भाषा परिषद्का अध्यक्ष फणीन्द्ररत्न वज्राचार्य र साहित्यकार शशीकला मानन्धरलाई यस वर्षको साहित्यतर्फको ‘तेजतीर्थ साहित्य पुरस्कार’ सोमबार प्रदान गर्नुभएको छ ।

सो पुरस्कारको राशि जनही रु ५० हजार र साथमा प्रमाणपत्र छ । झन्डै छ दशकदेखि नेपाल भाषामा निबन्ध लेखनमा व्यस्त पत्रकार वज्राचार्यले नेपाल भाषाको ‘भाषा थुवा’ उपाधि प्राप्त गर्नाका साथै गोरखादक्षिण बाहु, दुर्गम सेवा पदक तथा श्री ५ गद्दीआरोहण पदकबाट विभूषित भइसक्नु भएको छ ।

चार दशकदेखि साहित्य सिर्जनामा तल्लीन नेपाल भाषाका पहिलो महिला उपन्यासकार मानन्धरले नेपाल भाषामा सात र नेपाली भाषामा एक उपन्यास, बाल उपन्यास, नाटक लेख्नाका साथै तीन पुस्तक नेपाली भाषामा अनुवाद गर्नुभएको छ ।

‘तेजतीर्थ पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनेमा पत्रकार चन्द्रकिशोर झा र रमा लुइँटेल हुनुहुन्छ । उहाँहरुले जनही रु ५० हजार र प्रमाणपत्र पाउनुभएको छ । लोकतन्त्र र शान्तिका लागि मुक्तिनाथ अधिकारीलाई मरणोपरान्त्त पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारको राशि रु एक लाख र साथमा प्रमाणपत्र छ ।

पुरस्कार प्रदान गर्ने तेज–तीर्थ ट्रस्टका अध्यक्ष तीर्थराम डङ्गोल हुनुहुन्छ । कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले देशका सबै भाषा, जाति तथा समुदायको विकास भए मात्र गणतन्त्र मनाउनुको सार्थकता हुने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts