Sunday, May 28, 2017

हामी दलितको मुक्ति कहिले हुने : उपाध्यक्ष सुनार

जुम्ला, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला उपाध्यक्ष गोर्खबहादुर सुनारले ‘समग्र दलितको मुक्ति कहिले’ भन्दै सरोकारवालामाझ प्रश्न तेस्र्याउनु भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको १७ औं स्थापना दिवसका अवसरमा आयोजित अन्तक्र्रियामा सहभागी न्याय क्षेत्रका पदाधिकारी सामु उहाँले ब्राम्हणवादबाट पिल्सिएका हामी दलितको मुक्ति कहिले हुने हो भन्नुभयो ।

उपाध्यक्ष सुनारले भन्नुभयो, “चन्दननाथ नगरपालिका– ७ छिनागाउँमा अहिले पनि डुम र चोखा (क्षेत्री) जातिले प्रयोग गर्ने दुईटा धारा छन्, जहाँ चोखाले प्रयोग गर्ने धारामा दलितले छुन पाउँदैनन्, छोयो भने दुव्र्यवहारको भागी हुनुपर्छ, यस्ता विषयमा राज्य किन मुकदर्शक हुन्छ ?”

वकिलले पनि दलितका मुद्दा अघि बढाउन कञ्जुस्याई गर्छन् । घर निर्माण तथा मठमन्दिर पूजाआजाका लागि दलितले दिएको श्रम र पैसा प्रयोग गर्ने तर तर त्यहाँ उनीहरुलाई प्रवेश गर्न नदिएर मानवअधिकार हनन् गरिएको छ, डुमका नाममा बारम्बार सार्वजनिकस्थलमा अपमानित हुनुपरेको छ तर यस्ताखाले कसुरदार विरुद्ध कारबाही गर्न बनेको जातीय विभेद् तथा छुवाछुत सम्बन्धी ऐन सुसुप्त अवस्थामा रहेको उहाँले गुनासो गर्नुभयो ।

सुर्खेत–जुम्ला उच्च अदालतका मुख्य न्यायधीश शेषराज शिवाकोटीले मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रले जन्मने हरेकको मानव अधिकार सुनिश्चित गरेको छ भन्नुभयो ।

उहाँले नेपालको संविधान २०७२ बमोजिम मौलिकअधिकार लागू गर्न अदालतले सरकारका नाममा परमादेश जारी गर्नसक्ने बताउनुभयो ।

न्यायधीश रमेशप्रसाद राजभण्डारीले मानवअधिकार उलङ्घनमा हामी सबै दोषी रहेको बताउनुभयो । देशलाई समृद्धितर्फ लैजान तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने औंल्याउँदै उहाँले हरेक व्यक्ति सकरात्मक बन्नुपर्ने सुझाव दिनुभयो । जिल्ला न्यायधीश वासुदेव न्यौपानेले अधिकारमा मात्र बढी केन्द्रीत हुने गरिएको तर दायित्व पूरा गर्नुपर्नेतर्फ बेवास्ता गर्ने गर्ने परिपाटी बसेको टिप्पणी गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद सापकोटाले विधि र शासनको उपहास गर्ने पक्षमा ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाका निमित्त प्रमुख कुमारी महराले जातीय विभेदका कारण भएको मानवअधिकार हननका विषयमा अनुगमन तथा अनुसन्धान गरिने बताउनुभयो । मानवअधिकार हननका विषयमा आयोगलाई कारबाही गर्ने अधिकार नभएकोले गुनासो मात्र सुन्नुपरेको उहाँले उल्लेख गर्नुभयोे । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts