Saturday, May 20, 2017

तराई-मधेशका आन्दोलनका सबै मुद्दा फिर्ता हुन्छ, कसैले विरोध गरेर रोकिँदैन् : गृहराज्यमन्त्री बानियाँ


काठमाडौं, ६ जेठ । गृहराज्यमन्त्री ईन्द्र बानियाँले सरकारले टिकापुर लगायत तराई÷मधेशका आन्दोलनलाई राजनैतिक घट्नाको रुपमा लिएकोले मोर्चाका माँगहरु अनुसार नै सबै मुद्दा फिर्ता लिने स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री बानियाँले सरकारले चाहेको खण्डामा मुद्दा फिर्ता लिन सक्ने भएकोले तराई÷मधेश र थरुहट आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिने बताएका हुन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्मा बोल्दै मन्त्री बानियाँले भने,‘सरकारले मुद्दा फिर्ता लिन्छ, यो सरकारको अधिकारको कुरा हो, हिजो माओवादी सशस्त्र युद्धको बेलामा त राज्यले धेरै मुद्दा फिर्ता लिएको ईतिहाँस छ, त्यसैले सरकारले मुलुकमा शान्ति, अमनचयन स्थापित् गर्नको लागि आवश्यकत्ताको सिद्धान्त अनुसार मुद्दा फिर्ता लिन सक्छ, जसले विरोध गरेपनि अब मुद्दा फिर्ताको प्रक्रिया अघि बढिसक्यो, अब रोकिँदैन मोर्चाका माँग अनुसार सबै मुद्दा फिर्ता हुन्छ।’
मन्त्री बानियाँले मधेशी मोर्चालाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउनको लागि सरकार स्थानीय तहको संख्या थप्नपनि तयार रहेको स्पष्ट पारे । उनले भने,‘तराई–मधेशपनि नेपाल नै हो नि, संख्या थप्न के को आपत्ति ? हामी संख्या थप्न तयार छौं ।’
उनले हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा धाँधली भयो भनेर प्रमुख प्रतिपक्षी दलले लगाएको आरोप मिथ्या र चर्चा कमाउनको लागि मात्रै भएको टिप्पणी गरे । उनले भने,‘एमालेले अहिलेमात्रै होईन, ०४८ सालदेखि नै धाँधलीको ढिंग पिटिरहेको छ, तर यो पटकको पहिलो चरणको निर्वाचनमा छिटपिट घट्नाबाहेक त्यस्तो केही भएको छैन, कस्तो निर्वाचन भयो भन्ने कुरा सारा जगतलाई थाहा छ, सबैभन्दा बढि मिडियाका साथीहरुलाई थाहा छ।’
मन्त्री बानियाँले ०५४ सालमा एमालेका वामदेव गौतमले गराएको चुनाव राम्रो भन्ने एमालेले त्यसबाहेक भएका सबै चुनावलाई धाँधली देख्नुलाई नै उसको नियत कस्तो छ भन्ने कुरा पुष्टि हुने आरोप लगाए । उनले थपे,‘अहिले त एमालेले नै धेरै जितेको छ, ०५४ को चुनावको परिणाम हेर्नुहोस् ।’
उनले एमाले नेतृत्व नै गणतन्त्र र परिवर्तनका एजेण्डामाथि अनुदार रहेको आरोप लगाउँदै भने,‘एमाले अध्यक्ष केपी ओलीले नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाढा चढेर चन्द्रमामा जानु हो भनेको कुरा सारा जगतलाई थाहा छ, यसले पनि के देखाउँछ भने ओली गणतन्त्र विरोधी हुन्।’ मन्त्री बानियाँले एमाले अध्यक्ष ओलीको यस्तो प्रवृत्ति देखेर नै प्रंचण्डले संविधान कार्यान्वयनको लागि पनि चुनाव आवश्यक छ भन्दै आफ्नो पार्टीसँग नाता जोडेको स्पष्ट पारे ।
उनले कांग्रेस र माओवादी केन्द्रको तालमेललाई लिएर एमालेले गरेको टिप्पणीपनि अशोभनीय भएको बताउँदै एमालेले राप्रपासँग गरेको तालमेल बरु शंकाको घेरामा रहेको आरोप लगाए । उनले भने,‘सक्रिय राजा चाहियो भन्ने राप्रपासँग एमालेले एकता गरेको छ, यो के हो ? सबैलाई यो कुरा राम्रोसँग थाहा छ।’ त्यस्तै उनले अब हुने दोस्रो चरणको निर्वाचन एमालेले नचाहेको समेत आरोप लगाए ।
यद्धपी उनले एमाले मुलुकको जिम्मेवार पार्टी भएकोले मुलुकको निकासको लागि जिम्मेवार बन्नुपर्ने धारणा राखे । बानियाँले थपे,‘मोर्चाका साथीहरुले पनि चुनावमा आउनुपर्छ, हामी तपाईहरुको लागि वातावरण बनाउने काममा लागेका छौं, स्थानीय तहको संख्या थप्छौं।’ उनले एमाले नेतृत्व अहिलेका उपलब्धि र व्यवस्था भत्काउनतिर लागेकोले दोस्रो चरणको निर्वाचनमा एमाले कहाँ पुग्छ भन्ने कुरा भोलिका दिनमा राम्रोसँग थाहा हुने टिप्पणी गरे ।
त्यस्तै उनले सहमति अनुसार नै अब नयाँ सरकार गठन हुने समेत स्पष्ट पारे । उनले भने,‘कांग्रेस र माओवादी केन्द्रको सहमति अनुसार नै सरकार बन्छ, तर परिवर्तन संस्थागत गर्नेहरुवीच एकताको सरकार बन्छ।’उनले कहिले सरकार बन्ने र को प्रधानमन्त्री बन्ने भन्ने कुरा सबै तयारी भैसकेको समेत जिकिर गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले कांग्रेस र माओवादी केन्द्रवीच चुनावी तालमेल त सामान्य कुरा भएको बताउँदै भोलि पार्टी एकता भयो भनेपनि आश्चर्य मान्न नहुने बताए ।
उनले भने,‘किनकी माओवादी जे बोल्छ, त्यही पुरा गर्छ, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो भाषण गर्दा भन्नुभयो, कि आजभोलि कांग्रेसले जित्दा माओवादीले जितेजस्तो लाग्छ र हो पनि, अहिले त कांग्रेस र माओवादी छुट्याउनै गाह«ो छ, भोलि यी दुई पार्टी एक भएपनि आश्चर्य नमाने हुन्छ।’
महासेठले सत्तापक्ष ईमानदार नभएको समेत आरोप लगाए । उनले भने,‘मधेशी मोर्चाको काँधमा बन्दुक राखेर सत्तापक्षले बन्दुक पड्काईरहेको छ, यो कुरा मोर्चाका साथीहरुले पनि बुझ्नुपर्छ ।’ उनले पहिलो चरणको निर्वाचन सम्पन्न भएको अवस्थामा सरकार र मोर्चावीच सहमति भएको आज एक महिना बित्दापनि संविधान संशोधन लगायतका अन्य माँगहरुमा मोर्चा नतातेको बरु अहिले दोस्रो चरणको निर्वाचनमा आएर यसरी एक्कासी तात्नुले चुनाव हुन नदिने षड्यन्त्र हुन लागिरहेको भान आफूहरुलाई भएको आरोप लगाए ।
जेठ १९ गते उम्मेद्धवारी दर्ता गर्ने मिति नै आयोगले तोकिसकेको अवस्थामा जेठ १० गते संशोधन प्रस्ताव व्यवस्थापिका–संसदमा निर्णयार्थ प्रस्तुत गर्न खोज्नुले निर्वाचन नगराउने षडयन्त्र हुने उनको दाबी थियो । महासेठले थपे,‘यो एक महिना उहाँहरु चुप लागेर बस्नुभयो, जब निर्वाचन आउन थाल्यो अनि उहाँहरु फेरि नाटक मञ्चन गर्नतिर लाग्नुभैरहेको छ, यो ५÷७ दिनमा संख्या बढ्दैन, उहाँहरुले यो कुरा बुझ्नसक्नुभएन, म त भन्छु मोर्चालाई सरकारले प्रयोग गरिरहेको छ।’
उनले मधेशी मोर्चाका नेताहरु आत्म निर्णय गर्न नसक्ने भएकोले नै सरकारले उनीहरुलाई प्रयोग गरिरहेको आरोप लगाए । महासेठले थपे,‘मोर्चाका साथीहरु सेल्फ डिसिजन गर्न सक्नुहुन्न, उहाँहरु कहीँकतैबाट गाईडेड हुनुहुन्छ।’ त्यस्तै उनले एमालेजस्तो बलियो प्रतिपक्षी दललाई माईनस गरेर अघि बढ्न खोजिए मुलुकमा ठूलो दुर्घट्ना हुनेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।
उनले सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रको नियत नै खराब रहेको समेत टिप्पणी गरे । उनले भने,‘मधेशी मोर्चालाई चुनावमा आउन नदिने नियत सत्तापक्षको देखियो, किनकी मोर्चा चुनावमा नआए यसको फाईदा कांगेसलाई हुन्छ भनेर उहाँहरुले सोच्नुभएको छ।’ उनले मोर्चालाई पनि चुनावमा आउनको लागि आग्रह गरे । यद्धपी उनले मोर्चापनि चुनावमा जानबाट डराईरहेको अर्को आरोप लगाए । महासेठले थपे,‘मधेशी मोर्चापनि चुनावमा जानबाट डराईरहेको छ, कतै जनताले मधेशबाट पत्तासाफ हुनेगरि हराउने त होईनन भनेर ? त्यसैले यहाँ सत्तापक्ष र मोर्चा दुवैको नियत खराब देखिएको छ।’
उनले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अहिलेपनि एमालेको सभा विथोल्नको लागि निर्देशन दिएको र भाषणवाजी गर्दै हिडिंरहेको आरोप लगाए । उनले भने,‘गृहमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले यसरी भाषणवाजी गरेपछि अब हुने चुनावमा धाँधली नहोला भन्न सकिँदैन्, किनकी हामीले बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनको रंग÷रुप हेरिसकेका छौं।’
त्यस्तै उनले चुनावको मौकामा आफ्नो भोट ब्यांक बढाउनको लागि कैलालीको टिकापुर घट्नाको मुद्दा फिर्ता लिन लागिएको आरोप लगाउँदै आपत्ति जनाए । उनले भने,‘यो ठूलो अपराध हो, तर सरकारको एउटै उद्देश्य छ, जसरी हुन्छ एमालेलाई साफ गर्ने हो।’ उनले कांग्रेस र माओवादीलाई सत्ताको घमण्ड भएकोले अदालतको निर्णय विपरित जघन्य अपराधमा मुद्दा फिर्ता लिनपनि उनीहरु पछि नपर्ने आरोप लगाए ।
महासेठले मोर्चालाई चुनावमा जानको लागि पटक–पटक आग्रह समेत गरे । उनले अघि थपे,‘यो देश तपाईहरुको पनि हो, भोलि देश रहे पो तपाई हामीले राजनीति गर्ने हो, देशै नरहे मधेश कहाँ हुन्छ ? त्यसैले जनताको मायाँ पाउनको लागि निर्वाचनमा आउनुहोस्, म विन्ती गर्छु।’
उनले एमालेले चुनावको लागि अडान नलिईदिएको भए आज मुलुकमा चुनाव नै हुनेथिएन भन्दै जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा पनि सबै दललाई सहभागी हुन अपिल गरे । फरक प्रसंगमा उनले अहिले को प्रधानमन्त्री बन्ला भन्ने विषयमा आफ्नो पार्टीलाई कुनै चासो नरहेको समेत जिकिर गरे । उनले भने,‘सरकारमा जानेबारेमा एमालेले सोचेको छैन, हामी अहिले चुनावमै केन्द्रित छौं।’

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts