Sunday, July 23, 2017

मन्त्रिपरिषद् विस्तार केन्द्रीय समिति बैठक लगत्तै : डा.महत

काठमाडौँ, ९ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सो बैठकमा व्यस्त हुनु परेको हो, बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ ।”

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको आन्तरिक गृहकार्य सक्नुभएको र पार्टीको जारी केन्द्रीय समिति बैठक सकिनासाथ नेपाली काँग्रेस र अन्य दलहरुलाई मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा रहनुभएको जानकारी डा.महतले राससलाई दिनुभयो ।

नेता डा.महतले हाल सञ्चारमा आएजस्तो कुनै आन्तरिक या अन्य विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नभएको पनि स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले तयारी गरिसक्नुभएको छ, केन्द्रीय समिति बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ, यसमा अन्यथा मान्नुपर्ने केही छैन ।”

केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेकोले बैठक आजै वा भोलिसम्ममा सकिने पनि उहाँले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts