Wednesday, July 19, 2017

जयराम पुलको स्टील ट्रष्ट जडान सकियो

खोटाङ, ४ साउन । जिल्लाको प्रमुख नाका जयरामघाटमा निर्माणाधीन पक्की पुल आगामी दशैँ अगाडि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोशीस्थित जयरामघाटमा निर्माणाधीन पुलको स्टील ट्रष्ट जडान कार्य सम्पन्न भएको र साउन महिनाभित्रै ढलानको काम सम्पन्न गरेर दशैँ अगाडि सञ्चालनमा ल्याउने तयारी गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।

स्टील ट्रष्ट जडान कार्य सकिएलगत्तै ढलानका लागि फर्मा बिच्छ्याउन थालिएको र आवश्यक सामग्रीसमेत निर्माणस्थलमा ल्याई सकिएकाले भदौ अन्तिमसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको पुल निर्माण आयोजनाका प्रमुख इन्जिनियर उद्धव रानामगरले बताउनुभयो ।

“जयरामघाटमा निर्माणाधीन पक्की पुल नेपालकै नमूना हो ।” उहाँले भन्नुभयो, “नमूना भएकै कारण सबै सामग्री र इन्जिनियर बाहिरबाट ल्याउनुपर्दा निर्माणमा ढिलाइ भयो ।”

निर्माणाधीन पक्की पुल जडानका लागि चीनबाट इन्जिनियर र सामग्री ल्याउनुपरेकाले पनि निर्माणमा ढिलाइ भएको इन्जिनियर मगरले जानकारी दिनुभयो । दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०६६ साल भदौमा सम्झौता गरेर हुलास कालिका कन्ट्रक्सन जेभीले पुल निर्माणको जिम्मा लिएको थियो ।

पुल निर्माण सम्पन्न भएपछि जिल्लाको समृद्धिको ढोका खुल्ने खोटाङ क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद पाँचकर्ण राई (पिके)ले बताउनुभयो । “जिल्लावासीको लामो प्रतिक्षापछि पुल निर्माण कार्य सम्पन्न हुन लागेको छ ।” उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो सम्पन्न गर्न ठेकेदार कम्पनीलाई खबरदारी गरिरहेका छौँ ।”

राजधानी काठमाडौँ तथा तराईका जिल्ला प्रवेश गर्ने मुख्य मार्ग जयरामघाटको पुल बन्न नसक्दा जिल्लामा आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु भित्र्याउन तथा आवतजावतमा समस्या हुने गरेको छ ।

पुल निर्माणमा भइरहेको ढिलाइ र गुणस्तर कायम गर्नका लागि गत वैशाख २५ गते जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, प्रशासन, प्राविधिक, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ, पत्रकारलगायतको अनुगमन टोली निर्माणस्थल पुगेको थियो ।

करिब ११ वर्षअघि हेलिकप्टरमार्फत गाडी ल्याएर यातायात सेवा सञ्चालन गरिएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ ।

हिउँदभर सञ्चालन गर्ने र वर्षा लागेसँगै झिक्ने गरी सञ्चालन गर्ने गरिएको बेलिब्रिज जडान गर्दा वार्षिक रु ६० लाख राज्यकोषको रकम खर्च हुने गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts