Wednesday, July 26, 2017

विधेयकलाई समयानुकूल बनाउन सरकार तयार – गृहमन्त्री शर्मा

काठमाडौँ, ११ साउन । गृहमन्त्री जनार्दन शर्माले बाढीपहिरोको घटना भएका स्थानमा सुरक्षा फौज आधा घण्टाभित्र पुग्ने नीति बनाएर अभ्यास गरिरहेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “बाढीपहिरो गएको स्थानमा पुग्ने र सकिने स्थानमा आधा घण्टाभित्रमा पुगेर उद्धार र राहतमा खटिने गरी सुरक्षा संयन्त्र परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।”

पछिल्लो समय आपराधिक र क्रुर मानसिकताबाट महिला हिंसाको घटना बढ्दै गएको देखिएकाले त्यस्ता घटनालाई रोक्न जनप्रतिनिधिको अगुवाइमा पूर्व सतर्क रहने कार्यक्रम सञ्चालन गर्ने प्रयास भइरहेको बताउँदै गृहमन्त्री शर्माले भोजपुरमा केही सयमअघि तीनजना बालबालिकाको मृत्यु भएको घटनाको छानबिन र अनुसन्धानका लागि केन्द्रबाटै उच्चस्तरको प्रविधिसहितको अनुसन्धान टोली खटाउन मन्त्रालयबाट निर्देशन भइसकेको जानकारी दिनुभयो ।

यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३ माथि आज भएको छलफलमा उहाँले यातना असल समाजका विरुद्धमा हुने भएकाले सार्वजनिक ओहदामा हरेक व्यक्तिलाई यसले समेट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राज्यलाई नै जिम्मेवार गराउनेसँग सम्बन्धित भएर विधेयक ल्याउन लागिएको हो । यसलाई समयानुकूल बनाएर लैजान सरकार तयार छ ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts