महोत्तरी, ४ साउन । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीका इन्जिनियर देवेन्द्रकुमार झालाई नवराज विष्ट अवार्डबाट मङ्गलबार सम्मानित गरिएको छ ।
काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा नेपाल इन्जिनियर्स एशोसिएसनको ५५ औँ इन्जिनियर दिवश–२०७४ को अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई खादा ओढाएर पदकसहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।
नेपालको दुर्गम ग्रामीण क्षेत्रमा सकारात्मक काम गरेर सेवा गरेबापत उहाँलाई सो अवार्डबाट सम्मानित गरिएको हो । उहाँले आफ्नो जागिर अवधिका करिब १० वर्ष विकट जिल्लामा रहेर काम गरिसक्नुभएको छ ।
नेपालको दैलेख जिल्लाबाट २०६३ सालमा सरकारी जागिरमा प्रवेश गर्नुभएका डि इ झाले त्यहाँ द्वन्द्वकालमा अलपत्र परेको रु २० करोडको खानेपानी आयोजनालाई सफल पारी हजारौँ जनतालाई खानेपानी खुवाएर जस बटुल्नुभएको थियो । खानेपानी विभागबाट उहाँ दैलेख जिल्लामा खटिनुभएको थियो ।
साथै, उहाँले २०६३ सालमा दैलेख जिल्लाकै तत्कालीन लाँकुरी गाविसबाट खुल्ला दिसामुक्त अभियान सञ्चालन गर्नुभएको थियो । डि इ झा अहिले महोत्तरीमा कार्यरत हुनुहुन्छ ।
दुई वर्षअघि जिल्लामा उहाँ आउँदा महोत्तरीको सरसफाइ विस्तार २८ प्रतिशत जनसंख्यामा थियो भने अहिले ७५ प्रतिशतमा पुगेको छ । रासस
––––––––––
No related posts.
No comments:
Post a Comment