मलेखु (धादिङ), ५ साउन । जीर्ण कारागारमा बस्दै आएका धादिङका कैदीबन्दीलाई आज नयाँ भवनमा लगिएकोे छ ।
रु दुई करोड १५ लाख ६१ हजार ४८३ लागतमा निर्माण गरिएको उक्त नयाँ भवनमा उनीहरुलाई उच्च सुरक्षाका साथ लगिएको हो । यसअघि कैदीबन्दी बस्दै आएका कारागार भवन अत्यन्तै जीर्ण अवस्थामा रहेको थियो । त्यो कारागार भवन २०३२ सालमा निर्माण गरिएको थियो ।
उक्त कारागारमा १८ महिला र १९२ पुरुष गरी २१० कैदीबन्दी बस्दै आएका थिए । सुरक्षालाई दृष्टिगत गरी १०÷१० जनाको समूहमा उनीहरुलाई नयाँ भवनमा लगिएका थिए । महिला र पुरुषका लागि छुट्टाछुट्टै कक्ष रहेको नयाँ भवन आधुनिक सुविधासम्पन्न छ ।
यसअघि उक्त भवनको उद्घाटन गर्दै कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले कैदीबन्दीका लागि मुलुकभरी यस वर्ष सात वटा सुविधा सम्पन्न नयाँ भवन निर्माण भएको बताउँदै निर्माण भएका ती नयाँ भवनमा कैदीबन्दीलाई राख्ने कार्य भइसकेको जानकारी दिनुभयो ।
आगामी वर्षदेखि नुवाकोटमा राष्ट्रियस्तरको र बाँकेमा क्षेत्रीयस्तरको कारागार निर्माण गरिने पनि उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी महेश आचार्यले जीर्ण रहेको अहिलेको कारागार भवन भत्काएर सो स्थानमा महिला कारागार भवन निर्माण गरिने बताउनुभयो । रासस
No comments:
Post a Comment