काठमाडौँ, १२ भदौ । नेकपा (एमाले)ले पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का पूर्वसचिव र राष्ट्रियसभाका पूर्वसदस्य वीरबहादुर सिंहको निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टी सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गरेको विज्ञप्तिमा सिंह जस्तो कम्युनिष्ट राजनीतिज्ञ गुमाउनु पर्दा पार्टीले अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै दुःख व्यक्त गरिएको छ । “साठी वर्ष लामो राजनीतिक यात्रामा कम्युनिष्ट आन्दोलनप्रति अविचलित आस्था, जनताको निःस्वार्थ सेवा र सादगीपूर्ण एवम् स्वच्छ जीवनको आदर्श सिंहले स्थापित गर्नुभएको थियो”, विज्ञप्तिमा भनिएको छ ।
गत असारमा आफ्नै घरको बार्दलीबाट खसेर घाइते हुनुभएका सिंहको मिर्गौला र कलेजोमा समस्या देखिएपछि सिननामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार क्रममा आइतबार बेलुका ७७ वर्षका उमेरमा निधन हो । विसं १९९७ मंसिर १ गते बुबा ईश्वरबहादुर केसी र आमा चेतनाको कोखबाट जन्मिनुभएका उहाँले २०१५ सालदेखि नै नेपालको कम्युनिष्ट आन्दोलनमा अनवरत योगदान गर्दै आउनुभएको थियो ।
प्यूठान नौबहिनी गाउँपालिका–६ लुङ घर भएका सिंहले २०२१ सालमा नेकपाको सदस्यता प्राप्त गर्नुभएको थियो । सिंह प्यूठान एमाले जिल्ला कमिटी सचिव, अञ्चल कमिटी सदस्य र केन्द्रीय सल्लाहकार कमिटी सचिव रहनु भएको थियो । सिंहका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।
अन्त्येष्टि
सिंहको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । एमाले पार्टी कार्यालय धूम्रबाराहीमा श्रद्धाञ्जलिपछि उहाँको दाहसंस्कार गरिएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
उहाँको पार्थिव शरीरमा एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टीको झण्डा ओढाउनुभएको थियो । नेता सिंहका जेठा छोरा विजयले दागबत्ती दिनुभएको थियो । नेता सिंहप्रति श्रद्धाञ्जलि व्यक्त गर्न एमाले कावा अध्यक्ष वामदेव गौतम, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेललगायत नेता आर्यघाट पुग्नु भएको थियो । रासस
No related posts.
No comments:
Post a Comment