काठमाडौंँ, २१ साउन । जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले नवीकरणीय ऊर्जाको प्रवद्र्धन गरी मुलुकको ऊर्जा संकटलाई कम गर्न पहल गर्ने बताउनुभएको छ ।
उहाँको सम्मानमा वैकल्पिक ऊर्जाका विभिन्न एशोसिएशनहरुको साझा संगठन नवीकरणीय ऊर्जा परिसंघ नेपालले आज यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री चौधरीले नेपालमा नवीकरणीय ऊर्जाको विकासमा निजी क्षेत्रले गरेको योगदान प्रसंशनीय रहेको बताउँदै सरकार निजी क्षेत्रसँग सहकार्य गरी जनतालाई स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्न आफू तयार रहेको छ भन्नुभयो ।
पूर्व मन्त्री गणेश साहले हरेक व्यक्तिले ऊर्जामा लगानी, उत्पादन र वचत गर्न सक्ने भएकाले उनीहरुको क्षमता विकास र बैंकमा पहुँच पु¥याउन जरुरी रहेको बताउनुभयो ।
सो अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले समस्याले नै समाधानको उपाय खोज्न सजिलो हुने भएकाले वैकल्पिक ऊर्जाका क्षेत्रमा निजी क्षेत्रका समस्याको समाधान पनि छलफलबाट निकाल्न मन्त्रालय तयार रहेको बताउनुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले विभिन्न कारणबाट नाजुक अवस्थामा रहेका लघुजलविद्युत् परियोजनाहरुको गत असारसम्मको अनुगमन सम्पन्न गरी तिनको समस्या केन्द्रले छिटै समाधान गर्न लागेको र यस वर्षमा सोलार व्याट्रीको उचित व्यवस्थापन गर्न छुट्टै प्लाण्ट निर्माण गरिने जानकारी दिनुभयो ।
नेपाल लघुजलविद्युत् विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद देवकोटाले नवीकरणीय ऊर्जामा निजी क्षेत्रले ठूलो लगानी गरेपनि सरकारले उनीहरुको समस्या समाधान नगर्दा धेरै व्यवसायीहरु धराशायी बनेको भन्दै केन्द्रको व्यवस्थापकीय सुधार गरी नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने खाँचे औँल्याउनुभयो ।
नेपाल सौर्य विद्युत् उत्पादक संघका अध्यक्ष उत्तम सिटौलाले सौर्य ऊर्जाका ठूला प्लाण्टहरु स्थापना गरी नेट मिटरिङ प्रणालीमा जान सकिएमा ऊर्जाको संकट समाधान गर्न सकिने सुझाव दिनुभयो ।
परिसंघका अध्यक्ष गुणराज ढकालले नवीकणरणीय ऊर्जा क्षेत्रमा देखिएका समस्याका समाधान गरी मुलुकमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रले सरकारलाई सहयोग गरेको बताउनुभयो ।
यसअघि वित्तविज्ञ सौरभ रिजालले नवीकरणीय ऊर्जामा बैंक तथा वित्तीय संस्थाको लगानीको सम्भावना र हाल भइरहेका प्रयासहरुको अवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment