Sunday, August 6, 2017

रसुवामा पहिरोमा परी एकै परिवारका चार जना हराए

नुवाकोट, २३ साउन । अविरल वर्षासगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका चार जना हराइरहेका छन् ।
घाइते अबस्थामा चार जनालाई उद्धार गरिएको छ । गएराती नौ बजे बस्तीमाथिबाट आएको पहिरोमा परी ७२ वर्षका धर्मबहादुर थापामगर, उहाँको बुहारी २८ वर्षका मुना थापामगर, ३ वर्षका नाती रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षका भक्तबहादुर नगरकोटी हराइरहेको रसुवा प्रहरीले जनाएको छ ।
माथिबाट निरन्तर पहिरो झर्नेक्रम जारी रहेकाले उनीहरुको उद्धारमा पुगेको नुवाकोट र रसुवाको नेपाल प्रहरी र श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीलाई कठिनाई भएको छ । पहिरोमा परी चार जना घाइते भएका छन ।
घाइते मध्ये रुद्र थापामगर र देवकी थापामगरको अबस्था गम्भीर छ । घाइते चार जनाको नुवाकोटको मनकामना शान्तिबजार तर्फ लागेर स्थानीय स्वास्थ्य सँस्थामा उपचार भइरहेको छ । उनीहरुलाई उपचारको लागी अस्पताल ल्याउन पहिरोले सडक अबरुद्ध रहेको र आवत जावतमा समेत कठिनाई भएको छ ।हिजो साँझदेखि नै अबिरल बर्षा भइरहेकाले राती ९ बजे पैरेबेशी स्थित माथिबाट पहिरो आएको स्थानीयबासिन्दाले बताएका छन् । घटनास्थलमा श्रीनाथ गण देवीघाटबाट माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजना सुरक्षार्थ परिचालित सेनानी रमेश गुरुङको नेतृत्वको २५ जनाको नेपाली सेनाको टोली राती साढे १० बजे पुगेको थियो ।
यस्तै, रसुवाका प्रहरी युनिटहरु वेत्रावती र कालिकास्थानबाट प्रहरीको टोली राती ११ बजे घटनास्थलमा पुगेपनि निरन्तर पहिरो बगिरहेकाले हराइरहेकाको उद्धारमा कठिनाई भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार अबिरल बर्षाले रसुवाको लहरेपौवा स्थित खाल्डेदेखि नै घटनास्थल पैरेबेशीसम्म पुग्न रसुवा र नुवाकोटको विभिन्न स्थानमा पहिरो बगिरहेकाले उद्धार गर्न थप टोली घटनास्थलमा जान सकेको छैन ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts