Wednesday, August 9, 2017

युएईमा गौरा पर्ब मनाईने

मान बहादुर के.सी. ‘मुस्कान’ यूएई

सुदूर पश्चिम सेवा समाज युएईले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्ब गौराको शुभ अवशर पारेर रोजगारीको शिलशिलामा यूएईमा कार्यरत सबै सुदूर पश्चिम बासीहरुलाई एकै ठाउँमा भेला गरेर बिरुडा प्रसाद ग्रहण गर्दै गत वर्षहरु जस्तै यस वर्ष पनि ०१ सेप्टेम्बर २०१७ शुक्रबारका दिन Abu Dhabi Folklore Theatre अबुधाबीमा धुमधामका साथ ‘गौरा पर्ब’ मनाउने भएको छ ।
‘गौरा पर्ब २०१७’ कार्यक्रममा सहभागी हुनका लागि नेपालबाट चित-परिचित बरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मी, चर्चित लोक देउडा गायक महेश कुमार आउजी र चर्चित लोक देउडा गायिका पुष्पा बोहोरा आउन लागेका छन ।
नेपालबाट आउने अथिती कलाकारहरु सँगै यूएईमा कार्यरत स्थानीय कलाकारहरुको धमाकेदार प्रस्तुती रहने सो कार्यक्रममा एक जना भाग्यशाली दर्शकले ३२ ईन्चको कलर टि.भी. आकर्षक उपहार प्राप्त गर्ने संस्थाका अध्यक्ष जायराज जोशीले जानकारी दिनु भयो | उक्त आकर्षक उपहार सोही दिन स्टेजमा नै लक्की ड्रा मार्फत् भाग्यशाली बिजेतालाई प्रदान गरिने छ ।
‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारा लिएर गठन भए देखि नै आपत्ति र बिपत्तीहरूमा मानबिय सहयोगका कार्यहरु गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको भरपर्दाे र विश्वसनीय संस्थाका रुपमा चिनिएको सुदूर पश्चिम सेवा समाज युएईले आफुले गर्दै आएका कार्यहरुलाई निरन्तरता दिदै यहि ०१ सेप्टेम्बर २०१७ शुक्रबारका दिन Abu Dhabi Folklore Theatre अबुधाबीमा गौरादेबीको पूजाआजा गर्दै बिरुडा प्रसाद सँगै नाचगान गरेर (बिशेष देउडा खेलेर) ‘गौरा पर्ब’ मनाउन लागेको संस्थाका उपाध्यक्ष देब कुँवरले हामीलाई जानकारी दिए ।
अन्य संघ संस्थाका कार्यक्रमहरु भन्दा बेग्लै किशिमले मनोरन्जन दिदै सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको सुदूर पश्चिम सेवा समाज युएईले ‘गौरा पर्ब २०१७’ कार्यक्रममा पनि देउडा खेलेर नाचगान गर्दै बिशेष रुपमा मनाउने पूर्ण तयारी भई सकेको संस्थाका कोश्याध्यक्ष भिम बहादुर सिंहले बताएका छन ।
सुदूर पश्चिमी पहाडका गाउ गर्खामा सुनिने गौराका गीतहरुको रन्को सुदूर पश्चिमेलीहरुले काठमाण्डौको खुल्ला मन्चमा पनि हरेक बर्ष मनाउदै आएका छन् भने एक बर्ष पहिले नेपाल भन्दा बाहिर कुनै पनि देशमा सुदूरपश्चिम सेवा समाज यूएईले दुबईमा मनाएको गौरा पर्ब आजकाल नेपालमा मात्र नभएर बैदेशिक रोजगारीको शिलशिलामा अन्य देशलाई आफ्नो कर्मभुमी बनाएका सुदूर पश्चिमेलीहरुले समेत मनाउन थालेका छन् ।
गौरा पर्ब विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो । गौरा पर्बको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । गौरा पर्ब भाद्र शुक्ल को षष्ठी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्बको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरा पर्बमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।
सुदूरपश्चिम सेवा समाज यूएईले रोजगारिको शिलशिलामा युएईमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई ०१ सेप्टेम्बर २०१७ शुक्रबारका दिन गौरा पर्ब कार्यक्रममा सहभागी भएर बेग्लै खालको अनुभब लिदै, गौरादेबीको पूजाआजा गर्दै, बिरुडा प्रसाद सँगै नाचगान गरेर (बिशेष देउडा खेलेर) कार्यक्रमलाई भब्यताका साथ सफल पारी दिन अनुरोध गरेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts