धुलिखेल, ९ भदौ । दोस्रो जनआन्दोलन २०६२÷०६३ का क्रममा घाइते भएका जिउँदा शहीद मुकेश कायस्थको २७ औँ जन्मदिन आज मनाइएको छ ।
बनेपाको तीन दोबाटोमास्थित कायस्थले अध्ययन गरेको विद्यालय विद्यासागर स्कूल र मुकेश कायस्थ प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सांसद कञ्चनचन्द्र वादे, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे र उपप्रमुख रेखा दाहाल, नेपाल रेडक्रस सोसाइटी काभ्रेका अध्यक्ष रघुवर चौप्रधान, साहित्यकार मोहन दुवाललगायतले सरकारले कायस्थलाई उचित सम्मान र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कायस्थकी आमा मीराले मुकेशको बाल्यावस्था र जनआन्दोलनपछिको अवस्थाबारे जानकारी दिनुभयो ।
पन्ध्र वर्षका उमेरमा विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका उनको स्वास्थ्यस्थिति अझै सामान्य हुन सकेको छैन । उनलाई अझै पनि अभिभावकले खाना ख्वाउने र सरसफाइ गर्नुपर्ने अवस्था छ ।
तीन सय आठ कुमार पूजा
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–७ मा आज तीन सय आठ कुमारको पूजा गरिएको छ । पनौती युवा मञ्च र पनौती बोलबम परिवार संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा काभ्र्रे, ललितपुर, भक्तपुर र काठमाडौंँका कुमारका साथै पूजा गर्ने महिलाको भिड लागेको थियो । हरेक वर्ष भाद्रशुक्ल चतुर्थीको दिन गणेशको पूजा गर्ने दिनको अवसर पारेर कुमारको पूजा गरिने गरेको आयोजक समितिले जनाएको छ ।
“हरेक वर्ष कुमारको पूजा गरिँदै आएको भए पनि सामूहिक रुपमा कुमार पूजा गरेको यो नै पहिलो पटक हो”, युवा मञ्चका अध्यक्ष सौगात बस्नेतले भन्नुभयो । लोप हुन लागेको संस्कार र संस्कृतिको जगेर्ना गर्न सामूहिक रुपमा कुमार पूजाको आयोजना गरिएको उहाँको भनाइ छ । स्थानीयवासी रामदेवी श्रेष्ठले कुमार पूजा गर्दा रोग नलाग्ने र शरीर स्वस्थ हुने जनविश्वास रहेको बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment