Friday, August 4, 2017

सञ्चार मन्त्रालयलाई मिडिया मैत्री बनाइने – मन्त्री बस्नेतकाठमाडौँ, २० साउन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारकर्मीले प्रयोग गर्ने एडिएसएलको महसुलमा ६० प्रतिशत छुट दिने व्यवस्था मिलाइने बताउनुभएको छ । मन्त्रालयले आव २०७४÷०७५ मा सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनाको सार्वजनिक कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय ब्याण्डविथका लागि आगामी कात्तिक महिनाभित्र अप्टिकल फाइबर जडान गरिने र एक वर्षपछि प्रदेश नं २ को (बर्दिवास) र ५ को (तुल्सीपुर) बाट रेडियो नेपाल प्रदेश प्रशारण कार्यालय स्थापना र कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले मन्त्रालयले गर्ने क्रियाकलाप र योजना सार्वजनिक गरी कार्यान्वयनमा लैजानुका साथै दूरसञ्चार ऐन, २०५३ लाई आगामी तीन महिनाभित्र परिमार्जन, सूचना तथा सञ्चार मन्त्रालय परिसर र सिनामंगलस्थित सञ्चारग्राममा निःशुल्क वाइफाइ सेवा विस्तार गरिने उल्लेख गर्नुभयो । सञ्चारमन्त्री बस्नेतले पारदर्शी र जवाफदेहीको भूमिका निर्वाहका लागि सञ्चार मन्त्रालयलाई मिडिया मैत्री मन्त्रालयका रुपमा अगाडि बढाइनुका साथै आगामी दुई वर्षमा विराटनगरस्थित खारजी चोकमा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम निर्माण गरिसक्ने जानकारी दिनुभयो । उहाँले बाजुरामा दूरसञ्चार सेवा विस्तार, पद्ममकन्या क्याम्पस र प्रदेश नं २ का आठ जिल्लाका एक हजार २०५ विद्यालयमा निःशुल्क वाइफाइ सेवा, कर्णाली अञ्चलका पाँच र रुकुम, रोल्पा र जाजरकोट गरी आठ जिल्ला तथा भूकम्पबाट अतिप्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य चौकी, गाउँपालिका र नगरपालिकामा इन्टरनेट सेवा पु¥याइने छ, भन्नुभयो । उहाँले सो कार्यक्रममा स्वतन्त्र प्रेस रजिस्टारसहितको स्वायत्त र स्वतन्त्र आमसञ्चार प्राधिकरणको स्थापना, अनुभवी पुराना पत्रकारलाई सम्मानस्वरुप मासिक वृत्ति प्रदान, विज्ञापन ऐनको मस्यौदा तयार, राष्ट्रिय चलचित्र नीति २०७१ को कार्यान्वयन, हुलाक सेवा विधेयक मस्यौदा तयार लगायतका काम गरिसक्ने बताउनुभयो । यसअघि सञ्चारमन्त्रीले आफ्ना मन्त्रालयका विभागीय प्रमुखहरुसँग कार्ययोजना कार्यान्वयनका बारेमा छलफल गर्नु भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts