जनकपुरधाम, २१ साउन । नेपाल नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ ‘सरूभक्त’ ले मैथिली भाषाका स्रष्टा रोशन जनकपुरी र परमेश्वर कापडीलाई क्रमशः डा धीरेन्द्र साहित्य पुरस्कार र सलहेस संस्कृति पुरस्कार २०७३ प्रदान गर्नुभयो ।
मैथिली विकास कोष जनपुरधामद्वारा बर्सेनि दिइने सो पुरस्कारमा जनही रु ५१ हजार नगद र कदरपत्र रहेको छ ।
सो अवसरमा कुलपति श्रेष्ठले मैथिली भाषा, साहित्य र संस्कृतिको विकासमा सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो ।
प्राज्ञ रमेशरञ्जन झाले भाषा, साहित्य र संस्कृतिका सर्जक, चिन्तक, अभियन्ता कहिल्यै पनि असहिष्णु हुनुहुँदैन भन्नुभयो ।
साहित्यकार रामभरोस कापडीले मैथिली भाषाका, सर्जक, अभियन्तामा यसको विकासप्रति सजग भावको कमीले भाषाको विकासको अवस्था सन्तोषजनक नरहेको प्रसंग उल्लेख गर्नुभयो ।
संस्कृतिविद् रेवतीरमण लालले स्रष्टालाई उपेक्षा गर्ने गतिविधि बढ्दै गएका कारण भाषा, साहित्य र संस्कृतिको अवस्था चिन्ताजनक भएको छ भन्नुभयो ।
अध्येता रामसरोज यादवले ग्रामीण भेगमा बोलिने मैथिली शब्द लोप हुने अवस्थामा पुगेकाप्रति ध्यानाकर्षण गराउनुभयो ।
पुरस्कृत स्रष्टा जनकपुरी र कापडीले भाषाको निजत्व समाप्त हुँदै गएकाले यसको रक्षाका लागि सबै अग्रसर हुनु जरूरी भएको धारणा राख्नुभयो ।
कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको समारोहमा पूर्वसांसद महेन्द्रकुमार मिश्र, कोषका सचिव श्यामसुन्दर शशि र सदस्य सुनील मल्लिक र अशोक दत्तले मैथिली भाषा, साहित्य र संस्कृति उत्थान कार्यका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment