Wednesday, September 20, 2017

एक हजार २४३ भूकम्पपीडितले अझै पहिलो किस्ता पाएनन्

खोटाङ, ४ असोज (रासस) ः जिल्लाका एक हजार २४३ घर भूकम्पपीडितले अहिलेसम्म पनि पहिलो किस्तावापतको रकम लिन पाएका छैनन् ।

कर्मचारीको ढिलासुस्ती तथा लापरवाहीका कारण पुनःनिर्माण प्राधिकरणबाट आएको पहिलो किस्तावापतको रकम तीन महिना बितिसक्दा समेत लाभग्राहीले लिन नपाएका हुन् ।

भूकम्प गएको दुई वर्ष चार महिना बितिसक्दा पनि पहिलो किस्तावापतको रकम नपाएपछि लाभग्राही दैनिकजसो सदरमुकाम दिक्तेल धाउने गरेका छन् ।

“हामीले विवरण पेश गरेको लामो समय बितिसक्यो” रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका भूकम्पपीडित रामबहादुर तामाङले भन्नुभयो, “पहिलो किस्तावापतको रु ५० हजार रकम पाउन १० देखि १५ हजार त आफ्नै खर्च भइसक्यो ।”

पहिलो किस्तावापतको रकम लिनका लागि सम्बन्धित वडाबाट सबै प्रक्रिया पूरा गरेपनि जिल्ला समन्वय समितिका कर्मचारीले चासो नदिँदा समस्या भएको लाभग्राहीको गुनासो छ ।

वडा अध्यक्ष र सचिवले सबै लाभग्राहीको विवरण र सम्झौतापत्र समयमा नपठाएका कारण निकासा दिन कठिनाइ भएको सम्पर्क व्यक्ति तथा जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत रवीकिरण आचार्यले जानकारी दिनुभयो । “सम्झौता भएर आएकाको तत्कालै काम गरिएको छ” उहाँले भन्नुभयो, “प्रक्रिया नै नपुगेकाको रोकिएको छ, हामीले गर्ने काममा कुनै ढिलाइ भएको छैन ।”

आठ हजार ४४३ घर लाभग्राही रहेको जिल्लामा अहिलेसम्म सात हजार २०० घर पीडितले पहिलो किस्तावापतको रु ५० हजार रकम लिएको पाइएको छ ।

जिल्लाका भूकम्पपीडितका लागि वितरण गर्न मन्त्रालयबाट असार पहिलो साता रु ३७ करोड ५१ लाख १७ रकम आएको थियो । पहिलो किस्तावापतको रकम आगामी कात्तिक मसान्तभित्रमा वितरण गरिसक्ने जनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts