गोरखा, १८ भदौ । भूकम्पले भत्काएका गोरखाका दर्जन बढी लघुजलविद्युत् आयोजनाको मर्मत गरिएको छ । ती आयोजनाहरु बन्द हुँदा झण्डै दुई वर्षदेखि अन्धकारमा बस्न वाध्य स्थानीयवासी विद्युत् उपयोग गर्न पाएसँगै हर्षित भएका छन् ।
२० किलोवाट क्षमताको घ्याच्चोक तप्सेखोला लघुजलविद्युत् आयोजना रु २८ लाखको लागतमा मर्मत गरिएको हो । स्थानीयबासिन्दाको रु तीन लाख र प्राक्टिकल एक्सनमार्फत् गोरेटो गोरखाको रु २५ लाखको लागतमा आयोजना मर्मत गरेपछि स्थानीय बासिन्दा खुसी छन् ।
सौरपानीको अँधेरीखोला दरौँदी दोभान लघुजलविद्युत् आयोजनाको मर्मतपछि बालुवा गाउँका १०० घरधुरीले बिजुलीको प्रयोग गर्न थालेका छन् । यो आयोजना ८.५ किलोवाट क्षमताको हो । आयोजनाका सचिव प्रेमबहादुर तामाङले स्थानीय बासिन्दा र विभिन्न संघसंस्थाको सहयोगबाट आयोजना मर्मत गरिएको बताउनुभयो । रु आठ लाखको लगानीमा लघुजलविद्युत् मर्मत गरेपछि गाउँ झिलिमिली भएको छ ।
यो आयोजना पाँच वर्षअघि रु ३५ लाखको लगानीमा निर्माण भएको थियो । वैकल्पिक ऊर्जाबाट रु दश लाखका साथै तामाङले व्यक्तिगत रुपमा आयोजना निर्माणमा लगानी गरेका थिए । तामाङले भन्नुभयो, “ऋण खोजेर जलविद्युत् आयोजना निर्माण गरेका थियौँ तर पहिरोले गर्दा कुलो भत्किरहन्छ ।”
आयोजनाले दैनिक २२ घण्टा विद्युत् दिने गरेको छ । प्रायः दिउँसो दुई घण्टा विद्युत् कटौती गरिन्छ । आयोजना मर्मतमा गोरेटो गोरखाले रु ६ लाख सहयोग गरेको थियो । दुई लाख तामाङले लगानी गरेका हुन् ।
तामाङले भन्नुभयो, “उपभोक्ताबाट न्यूनतम् मासिक रु १०० र अधिकतम रु २५० लिने गरेका छौँ ।” स्थानीय उपभोक्ताको घरघरमा निःशुल्क रुपमा विद्युत् जडानको काम गरी सहयोग गरेको तामाङले बताउनुभयो । जिल्ला समन्वय समिति गोरखाअन्तर्गत बैकल्पिक ऊर्जा शाखाका प्रमुख, इञ्जिनियर उज्वल गिरीका अनुसार भूकम्पबाट क्षति पुगेका अधिकांश लघुजलविद्युत्को मर्मत कार्य सम्पन्न भइसकेको छ ।
भूकम्पबाट क्षति पुगेका विभिन्न छवटा लघुजलविद्युत् आयोजनाको मर्मत यसअघि सम्पन्न भइसकेका छन् । १५ किलोवाट क्षमताको मुच्चोकको सोताखोला लघुजलविद्युत् आयोजना रु आठ लाख ५० हजार लगानीमा मर्मत गरेपछि १६५ घरधुरीमा उज्यालो छाएको छ । हंशपुरको १३ किलोवाट क्षमताको अधेँरीखोला लघुजलविद्युत् आयोजना रु पाँच लाखमा मर्मत गरेपछि ११४ घरपरिवारका बासिन्दा प्रत्यक्ष लाभान्वित भए ।
दश किलोवाट क्षमताको लापुको नौलीखोला पहिलो जलविद्युत् आयोजना रु सात लाखमा मर्मत भएसँगै ८४ घरका बासिन्दा अँध्यारोमा बस्नु पर्दैन । गुम्दाको १४ किलोवाट क्षमताको सिङ्ला डिम्बाखोला जलविद्युत् आयोजना रु दश लाख लगानीमा मर्मत गरेपछि १७५ घरधुरीका बासिन्दाले अँध्यारोबाट मुक्ति पाए ।
पचपन्न किलोवाट क्षमताको मुच्चोकको झ्याल्लाखोला लघुजलविद्युत् आयोजना रु २८ लाख लगानीमा मर्मत भएसँगै स्थानीय ४५० घरधुरीका बासिन्दाले विद्युत् उपयोग गर्दै आएका छन् । २६ किलोवाट क्षमताको उहियाको लुङ्खेतखोला लघुजलविद्युत् आयोनजा रु दश लाखमा मर्मत गरेसँगै २१८ घरधुरीमा उज्यालो पुगेको छ ।
विद्युत्गृहसम्म पानी लैजाने कुलो भत्केको, पहिरोले विद्युत्गृह पुरेकोलगायत आयोजनामा क्षति पुगेको बताइएको छ । जिससका इञ्जिनियर गिरीका अनुसार बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटारबाट आएको रु ४५ लाख बजेट र गोरेटो गोरखालगायत विभिन्न संघसंस्थाले लघुजलविद्युत् मर्मतमा सघाएका छन् ।
भूकम्पले क्षति पुगेका अन्य १० वटा लघुजलविद्युत् मर्मतका लागि निवेदन आएको भन्दै गिरीले विद्युत् रोयल्टी रकम रु एक करोड लगानी गरी जलविद्युत् आयोजना मर्मत गर्ने तयारी गरिएको बताउनुभयो । सौरपानीको टुनीखोला, लाप्राकको लिस्याङबुङखोला र लापुको नौलीखोला दोस्रो लघुजलविद्युत् मर्मत प्रक्रिया छिट्टै अघि बढ्ने गिरीले बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment