बाजुरा ८, असोज (रासस) , बाजुराको हिमाली गाउँपालिकाले रक्षामन्त्री भीमसेनदास प्रधानलाई १२ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्रमा गाउँपालिकाले विशेषगरी कवाडीदेखि विच्छ्या हँुदै मानसरोवर जोड्ने सडक निर्माणका लागि पहल गर्नुपर्ने, हिमाली गाउँपालिकाका प्रत्येक छ वडामा स्वास्थ्य चौकी निर्माण गर्नुपर्ने, गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका माग राखिएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।
मन्त्री प्रधानलाई हिमाली गाउँपालिकामा प्रशस्तरुपमा विभिन्नखालका जडीबुटी पाइने भएकाले विच्छ्याबाट अवैध चोरी निकासी हुने गरेकाले तत्काल रोक्नुपर्ने, विद्यालयमा पढाइ अवरोध भएकाले तत्काल स्थायी शिक्षकको दरबन्दी कायम गर्नुपर्ने र विच्छ्या र रुगिनका लागि कवाडीमा स्थायीरुपमा चामलको डिपो स्थापना गर्नुपर्नेलगायतका १२ बुँदे मागसहित ज्ञापनपत्र बुझाइएको छ ।
भौगोलिक विकटतासँगै हिमालीमा सरकारी सेवा सुविधामा समयमै जनताले सहजरुपमा नपाएको भन्दै रक्षामन्त्रीसँग गाउँपालिकावासीले दुखेसो पोखेका छन् । राज्यले दिने सेवा सुविधा सिंहदरबारको सरकार गाउँमा आएको अनुभूति नभएको ज्ञापनपत्र बुझाउन गएका गाउँपालिकावासीको भनाइ रहेको छ ।
ज्ञापनपत्र बुझ्दै रक्षामन्त्री प्रधानले बाजुरा जिल्लाको हिमाली गाउँपालिकालाई विशेष प्राथमिकता दिन छलफल गर्ने आश्वासन दिनुभयो । उहाँले हिमाली गाउँपालिकामा थुप्रै सम्भावना भएकाले यसको संरक्षण र संवद्र्धन गर्न सरकार प्रतिबद्ध रहने बताउनुभयो । सडक सञ्चार, खानेपानी, विद्युत्, जडीबुटीलगायतका आयआर्जनका क्षेत्रमा सरकारले लगानी गर्ने मन्त्री प्रधानले आश्वासन दिनुभयो ।
No comments:
Post a Comment