काठमाडाँै, २३ भदौ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन दिएपछि लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि मार्गप्रशस्त भएको छ ।
समितिको आजको बैठकले समायोजन विधेयक निर्माणका क्रममा कर्मचारी भर्ना नरोक्ने बुँदा राख्न आयोगलाई निर्देशन दिएपछि बाटो खुलेको हो । यसअघि समितिले नै संघीय संरचनामा जाँदा कर्मचारी समायोजन गर्ने भन्दै एक वर्ष कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो । आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले समितिले गरेको निर्णय स्वागतयोग्य छ भन्दै आयोगले अब कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जानकारी गराउनुभयो ।
“हामीले वार्षिक कार्यतालिका प्रकाशन गरिसकेका थियौँ”, उहाँले भन्नुभयो,“आज समितिको निर्णयपछि हामी गृहकार्य गरेर वार्षिक तालिकाअनुसार दरखास्त आह्वान गर्दछौँ ।”
उहाँले आइतबार सामान्य प्रशासन मन्त्रालयलाई रिक्त पदको विवरण पठाउनका लागि पत्र पठाइने जानकारी दिँदै पूर्वनिर्धारित कार्यतालिकानुसार नै विज्ञापन, परीक्षा र परीक्षाफल प्रकाशन गरिने बताउनुभयो । आयोगले असोज अन्तिम साता सहसचिवको विज्ञापन गर्ने तयारी गरेको छ । रासस
No related posts.
No comments:
Post a Comment