पश्चिम चितवनमा चित्रवन रंगशाला निर्माणका लागि सहयोग संकलन तीव्र पारिएको छ ।
रंगशाला निर्माण समितिका अध्यक्ष सुरेन्द्र गुरुङले देश र विदेशमा बस्ने नेपालीहरुबाट सहयोग संकलन तीव्र पारिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार चितवन युवा समूह, अन्तर्राष्ट्रिय समन्वय समिति नेपालमार्फत प्रवासमा रहेका गैरआवासीय नेपालीहरुबाट संकलित रु चार लाख ७२ हजार समितिलाई प्राप्त भएको छ । यस्तै, अन्य गैरआवासीय नेपालीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएको समितिका सचिव टुकमान गुरुङले जानकारी दिनुभयो ।
चित्रवन रंगशाला निर्माण आर्थिक सहयोग संकलन समितिका अन्तर्राष्ट्रिय संयोजक सोम सापकोटाले पहिलो चरणमा संकलन भएको रु चार लाख ७२ हजार हस्तान्तरण गरेको र अभियान अझै जारी राख्ने बताउनुभयो ।
यस्तै, क्लिनिक नेपालका हरि भण्डारीले पनि आकर्षक गेट निर्माणका लागि रु १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको समितिले जनाएको छ । सरकारले रु ५० करोडमा निर्माण गर्न लागेको रंगशालाको अहिले यहाँ निर्माण कार्य चलिरहेको छ ।
रंगशाला निर्माणका लागि गैरआवासीय नेपाली संघका प्रतिनिधि कुमार पन्तले रु दुई लाख, रामकृष्ण शर्माले रु एक लाख ५१ हजार, भवन भट्टले रु एक लाख, प्रविण गुरुङले एक लाख, गोविन्द श्रेष्ठले रु एक लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको समितिका अध्यक्ष सुरेन्द्र गुरुङको भनाइ छ ।
सरकारले गत साल रु ५० लाख बजेट रंगशालाका लागि विनियोजन गरेपनि निर्माण कार्य प्रभावकारी हुन नसक्दा रु ३० लाख फिर्ता भएको समितिले जनाएको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले रंगशाला बनाउन विदेशमा बस्ने नेपालीले गरेको योगदान महत्वपूर्ण रहेको भन्दै विगतमा जस्तो रंगशालामा आएको रकमलाई फिर्ता हुन नदिन निर्माण समितिलाई आग्रह गर्नुभयो ।रासस
No comments:
Post a Comment