काठमाडौ । बाम गठबन्धनले यही कात्तिक १९ देखि २६ गतेसम्म ताप्लेजुङ–दार्चुला चुनावी अभियान सञ्चालन गर्ने भएका छन् ।
अभियानलाई दुवै पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी गरिएको र स्थानीयस्तरमा तय हुने निर्वाचन केन्द्रित कार्यक्रममा पनि नेताहरु सहभागी हुने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने हिमाली जिल्लाको चुनावी अभियानलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
पहिलो चरणमा ३२ जिल्लामा हुने चुनावी अभियानपछि दोस्रो चरणका लागि कार्यक्रम तय गरिने गठबन्धनको तयारी छ ।
यस्तै जिल्ला तहमा पनि दुवै पार्टीले सात सदस्यीय पार्टी एकता संयोजन समिति बनाउने, संयुक्त प्रचारप्रसार समिति बनाउने, जनवर्गीय तथा लेखक, बुद्धिजीवीका बीचमा संयुक्त कार्यक्रम गर्ने तय भएको छ ।
एमालेका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले देशव्यापी रूपमा नै एकीकृत रूपमा चुनावी अभियान सञ्चालन गर्ने लक्ष्यका साथ कार्यक्रम तय गरिएको र त्यसले निर्वाचनको वातावरण बनाउने बताए ।
No comments:
Post a Comment