Sunday, October 8, 2017

दूध बेचेर मासिक ६० हजारसम्म आम्दानी

रामपुर नगरपालिका – ६ कौवा बस्ने विष्णुदेवी गैरेले दूध बेचेर राम्रो आम्दानी लिइरहनु भएको छ । चारवर्ष अगाडि दुईवटा उन्नत जातका गाई नवलपरासीको कावासोतीबाट ल्याई उहाँले गाईपालन शुरु गर्नुभएको हो ।

अहिले उहाँलाई गाईपालन व्यवसाय वरदान नै सावित भएको छ । आफूले मासिक रु ६० हजारसम्म दूध बेचेर आम्दानी गर्ने गरेको उहाँ बताउनुहुन्छ । व्यवसायबाट दाम मात्र नभई समाजमा प्रतिष्ठा पनि कमाउनुभएको छ ।
आफूले पाएको सफलताबाट उहाँ निकै हर्षित हुनुहुन्छ । दुई चार पैसा आवश्यक परेका बेला ऋण माग्न जाँदा नपत्याउनेका अगाडि अहिले साहसी महिला र सफल व्यवसाय बन्नुभएको छ ।

“पैसा भए सबै नभए कोही न कोही भनेझै आम्दानी हुन थालेपछि टाढिएका आफन्त साथीभाइ पनि नजिक हुन थालेका छन्” – उहाँले भन्नुभयो ।

अहिले उहाँको फार्ममा झण्डै आठ लाख भन्दा बढी लगानी परेको छ । दूध बेच्ने र गाईको स्याहारसुसार गर्दै उहाँको दिन बित्ने गरेको छ ।

यही व्यवसायबाट उहाँको पाँचजना परिवारको गुजारा र दुई छोराको उच्च शिक्षा राम्रैसँग चलेको छ ।

उहाँको फार्ममा अहिले होलस्टिन र जर्सी जातका १० वटा गाई रहेका छन् । उहाँ दैनिक ३० देखि ४० लिटरसम्म दूध बिक्री गर्नुहुन्छ ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts