रक्षामन्त्री भीमसेनदास प्रधानले वामपन्थी ध्रुवीकरणबाट अतालिनुपर्ने अवस्था नरहको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था, संविधान कार्यान्वयन र सञ्चार क्षेत्रको भूमिका’ विषयको अन्तरक्रियामा उहाँले काँग्रेस राणा शासनको विरुद्धमा समेत लड्दै आएको पार्टी भएकाले वामपन्थी एकताले कुनै असर नगर्ने बताउनुभयो ।
रक्षामन्त्री प्रधानले वाम एकता दुई तिहाइ मत ल्याएर सत्ता हातमा लिई साम्यवाद लाद्ने रणनीति भएको उल्लेख गर्नुभयो ।
वाम एकता नाम मात्र भएको र उनीहरु विभिन्न शक्ति तथा विचारबाट सञ्चालित भएको उहाँको आरोप थियो ।
सो अवसरमा सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले बन्दुकको नालबाट सत्ता कब्जा गर्न नसकेपछि निर्वाचनबाट सत्ता कब्जा गर्ने रणनीतिमा वामपन्थीहरु लागेको आरोप लगाउनुभयो ।
प्रेस युनियन अध्यक्ष बद्री सिग्देलले गुट उपगुटमा नलागी एक ढिक्का भएर निर्वाचनमा गए काँग्रेसको जित सुनिश्चित भएको बताउनुभयो । कार्यक्रममा वर्तमान राजनीतिक अवस्थाबारे पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा र बबिता बस्नेतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस
No comments:
Post a Comment