Thursday, October 19, 2017

राष्ट्रपतिद्वारा बालमन्दिरका बालिकालाई गुन्यूचोलो प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले बालमन्दिरका बालिकालाई आज गुन्यूचोलो प्रदान गर्नुभयो ।

लक्ष्मीपूजाको अवसर पारेर राष्ट्रपति भण्डारीले ६ देखि १६ वर्षका ४३ बालिकालाई गुन्यूचोलो प्रदान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले स्वस्ती वाचनसहित लक्ष्मीपूजा गर्नु भई बालिकालाई गुन्यूचोलो प्रदान गर्नुभएको थियो ।

कार्यक्रमकै सन्दर्भमा बालमन्दिरका पदाधिकारीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपति भण्डारीले नेपालको संस्कृतिअनुसार बालिकालाई गुन्यूचोलो बाँड्न पाउँदा अत्यन्तै खुशी लागेको अनुभूति सुनाउनुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

हरेक बालिकालाई छिटको साडी (रातो छिर्केमिर्के), ढाका चोली, सेतो पटुकी, कालो सुरुवाल, मखमलको रातो चप्पल एक जोर, रातो काँचको चुरा एक दर्जन र केशका लागि धागो दिइएको थियो ।

बालमन्दिरका कार्यकारी निर्देशक बालकृष्ण डंगोलका अनुसार बडादशैँको महानवमीका दिन बालमन्दिरका तर्फबाट भाइको पशुपतिमा लगेर पूजा हुने गरेको सन्दर्भमा छोरीहरुलाई पनि गुन्यूचोली बाँड्न उपयुक्त हुन्छ भन्ने राष्ट्रपतिबाट इच्छा व्यक्त भएअनुरुप यो कार्यक्रम गरिएको हो ।

राष्ट्रपतिले गुन्यूचोलो लगाएका बालिकासँग सामूहिक तस्बीर र भलाकुसारीसमेत गर्नुभएको थियो । बालिकालाई मिष्ठान्न भोजन पनि गराइएको थियो ।

कार्यक्रममा बालबालिका संरक्षणको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाका प्रमुख, प्रतिनिधि तथा संसद्को महिला, बालबालिका तथा समाज कल्याण समितिका सभापति रञ्जु कुमारी झा, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्याल लगायतको सहभागिता थियो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts