Tuesday, October 31, 2017

आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही

आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म देशभरका पत्रकारले चलाएको सामाजिक सञ्जालको प्रेस काउन्सिल नेपालले अनुगमन थालेकोे छ ।

काउन्सिलको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुरको संयोजनमा यहाँ आयोजित ‘पत्रकार आचारसंहिता जागरण अभियान’ विषयको मिडिया संवाद कार्यक्रममा यस्तो बताइएको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष तथा काउन्सिलका सदस्य गोविन्द चौलागाईंले सञ्चारमाध्यम र सञ्चारकर्मीले पूर्णरुपमा पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “पत्रकारलाई समाचार लेख्दा निर्वाचन र उम्मेदवारलाई असर पर्ने समाचार नलेख्न र पत्रकारले चलाएको फेसबुक, ट्वीटर, ब्लगजस्ता सामाजिक सञ्जालमा त्यस्ता प्रतिक्रिया पोष्ट नगर्न आग्रह गर्दछौँ ।” पत्रकारका सामाजिक सञ्जाल पनि आचारसंहितामा पर्ने भएकाले काउन्सिलमा छुट्टै विभाग नै बनाएर अनुगमन थालनी गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा काउन्सिलका अर्का सदस्य चेतनाथ धमलाले पत्रकारले सामाजिक सञ्जालमार्फत पत्रकार आचारसंहिता उल्लंघन गर्नेगरी प्रतिक्रिया दिए वा पोष्ट गरे काउन्सिलले कारबाही गर्ने बताउँदै पूर्ण रुपमा आचारसंहिता पालना गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

भक्तपुरका जिल्ला न्यायाधीश भोजराज शर्माले सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्ष रुपमा सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै पेशागत आचरण एवं मान्यता विपरीत हुने काम कारबाही गर्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष दिलीप थापा मगर, महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, महनगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसार्इं, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा बजगार्इंलगायतले आचारसंहिता पत्रकारिता क्षेत्रको गहना भएको बताउँदै सत्यतथ्यमा आधारित रहेर निष्पक्ष समाचार लेख्न आग्रह गर्नुभयो ।

काउन्सिलका निमित्त प्रशासकीय प्रमुख दीपक खनालले सहभागी पत्रकारलाई पत्रकार आचारसंहिताको बारेमा जानकारी गराउँदै देशभरका पत्रकार आचारसंहिता कार्यान्वयन अवस्थाबारेमा जानकारी दिनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts