Sunday, October 29, 2017

खानेपानीको चरम समस्या भएपछि लिफ्टिङ प्रणाली शुरु

तेह्रथुमको फेदाप गाउँपालिका–३, साविक जलजले–९ र सिम्ले–५ को देवीथाने टोलका बासिन्दा वर्षौंदेखि खानेपानीको चरम समस्या भोग्दै आएका छन् । घरमाथि पानीको ठूलो मुहान नहुँदा यहाँका डेढ दर्जन बढी घरधुरीलाई बाह्रै महिना खानेपानीको जोहो गर्न घण्टौँ लाग्ने गरेको छ ।

प्रयोगमा आएका पानीका मुहान पनि सुक्दै गएको र भएका मुहानबाट पाइपमार्फत झरेको पानी थाप्न पालो कुरिरहेकी स्थानीय यज्ञकुमारी थापाले गुनासो गर्नुभयो, “पानीको मुहान सानो छ, हामी उपभोक्ता करिब १५ घर छौँ, यहाँ माथिका करिब २० घरले त झन घण्टौँ लगाएर डोकोमै बोकेर पानी लैजान्छन्् ।”

खानेपानीका मुहान सुकेपछि अहिले देवीथाने टोलका बासिन्दाले घण्टौँ लगाएर पानीको जोहो गर्नु परेको चर्चा गर्दै सामाजिक परिचालक सञ्जु तुम्बाहाम्फेले पिउने पानीका लागि वर्षायाममै पनि घरबाट आधा घण्टाको बाटो धाएर तल झर्नुपर्ने बाध्यता यहाँका बासिन्दालाई छ, त्यहाँ पनि भनेजति पानी थाप्न पाइँदैन, कुवामा पानी रुँघेर घण्टाँै पर्खनुपर्छ अझ हिउँदमा झनै दुःख बेहोर्नुपर्छ भन्नुभयो ।

वर्षाका दिनमै पनि स्थानीयवासीले बाटोमा खोपिल्टो खनेर त्यहाँ रसाएको पानीलाई जम्मा गरी लुगा धुने, भाँडा माँझ्ने, नुहाउनेलगायतका काममा प्रयोग गर्दै आएका छन् । हिउँदमा पनि आकाशे पानीलाई जम्मा गरेर प्रयोग गर्छन् । “करिब एक हजार ८०० मिटरको उचाइमा रहेको यो क्षेत्रमा खानेपानीको चरम समस्या छ”– एक स्थानीयले भने, “कतिपयले त आकाशे पानीलाई जम्मा गरेर पनि पिउने गरेका छन् ।” पहिले उपभोग गर्दै आएका पानीका मुहान सुकेपछि स्थानीयले यस्तो सास्ती बेहोर्नु परेको हो ।

“वर्षायाममै पनि यहाँका हामी करिब ३५ घरधुरीलाई खानेपानीको चरम समस्याकै कारण वर्षेनी गाउँ छाडेर जानेहरु बढिरहेका छन्”–देउराली सोसाइटीका अध्यक्षसमेत रहेका स्थानीयवासी मोहन भण्डारीले बताउनुभयो ।

लिफ्टिङ प्रणालीको खानेपानी योजना निर्माण शुरु

स्थानीयवासीको खानेपानी समस्यालाई लक्षित गरी गाउँमा खानेपानी आयोजना निर्माणको काम शुरु भएको छ ।

साविक जलजले–२ स्थित चापाबोटे र पधेँरे मुहानबाट लिफ्टिङ प्रणालीबाट पानी तानेर खानेपानी योजना निर्माण थालिएकोे हो ।

आगामी माघ मसान्तसम्ममा खानेपानी वितरण गर्नेगरी निर्माण चरणको काम भइरहेको चापाबोटे–पधेँरे खानेपानी आयोजनाका उपाध्यक्ष होम कोइरालाले बताउनुभयो । आयोजनाबाट साविक जलजले–२, ५ र सिम्ले–५ का बासिन्दालाई लाभ पुग्नेछ । जलजले–९ का १९, २ का ४९ र सिम्ले–५ का ३४ गरी कूल १०२ घरधुरीसहित एक विद्यालयलाई समेत लाभ हुनेगरी खानेपानी आयोजना निर्माण गर्न लागिएको प्राविधिक नरबहादुर लिम्बूले बताउनुभयो ।

भर्टिकल उचाइ २४५ मिटर र सतहीरूपमा एक हजार ५० मिटर तल रहेका चापाबोटे र पधेँरे मुहानबाट पानी तानेर ट्यांकीमा जम्मा गरी खानेपानी वितरणका लागि आयोजना निर्माण भइरहेको प्राविधिक लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार दुईवटै मुहानमा आठ÷आठ घन मिटरको पानी जम्मा गर्ने ट्यांकी निर्माण भइरहेको छ ।

पानी तानेर माथि लैजानका लागि दुई ७.५ एचपीका मोटर जडान गर्ने तयारी रहेको उपाध्यक्ष कोइरालाले बताउनुभयो । “आयोजना निर्माणको काम अघि बढेको छ, मंसिर मसान्तसम्ममा रिजर्ब ट्यांकीमा पानी पु¥याउँछौँ”– उहाँले भन्नुभयो, “त्यसपछि पाइपमार्फत घरघरमा मिटर प्रणालीमार्फत पिउने पानी वितरण हुन्छ ।” बस्तीभन्दा माथि १२ घनमिटरको पानी जम्मा गर्ने ट्यांकी निर्माण भइरहेको छ ।

आयोजना ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्डबोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटी, तेह्रथुमको सहजीकरणमा निर्माण हुन लागेको हो । आयोजनाका लागि फनबोर्डले रू ५० लाख दुई हजार नगद र १४ लाख बराबरको सामग्री उपलब्ध गराएको देउराली सोसाइटीका अध्यक्ष मोहन भण्डारीले बताउनुभयो ।

आयोजनाका लागि स्थानीय १०२ घरधुरी उपभोक्ताले प्रतिपरिवार तीन हजारका दरले रू तीन लाख भन्दाबढी नगद जम्मा गरिसकेका छन् । उनीहरूले रू १५ लाख बराबरको श्रमदानसमेत गरिरहेका अध्यक्ष भण्डारीले बताउनुभयो । खानेपानी सुविधा हुने भएपछि स्थानीयवासी हर्षित छन् । उपभोक्ताले प्रतिपरिवार एक जनाका दरले ४२ दिनसम्म श्रमदानसमेत गरिरहेका छन् ।

आयोजना निर्माण हुने भएपछि गाउँ छाडेर बसाइँ जान लागेका पनि रोकिएका स्थानीय भञ्ज्याङ आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज बस्नेतले बताउनुभयो । “विद्यालयका बालबालिकाले पनि पानीको सुविधा पाउने भए”– प्रअ बस्नेतले भन्नुभयो, “पानी नहुँदा घरैदेखि पानी बोकेर ल्याउनुपर्ने र शौच गर्न झाडी छिर्नुपर्ने अवस्था छ ।”

प्रअ बस्नेतका अनुसार आयोजना बनेपछि यहाँका ६५४ जनाले घरैमा थापेर शुद्ध पिउने पानी उपभोग गर्न पाउनेछन् । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्डबोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटीको सहजीकरणमा जिल्लामा हाल योसहित सात वटा खानेपानी आयोजना निर्माण भइरहेका छन् ।

सुक्खाग्रस्त क्षेत्रको खानेपानी समस्या सुल्झाउन स्थानीयको मागबमोजिम मुहानको व्यवस्था गरी खानेपानी आयोजना निर्माण भइरहेको सोसाइटीका कार्यक्रम निर्देशक कपिलदेव सिंहले बताउनुभयो । उहाँका अनुसार सुक्खाग्रस्त फेदाप गाउँपालिका–१, सिम्ले र साक्चुवामा खानेपानी आयोजना निर्माण भइरहेका छन् ।

यस्तै हमरजुङमा देउराली खानेपानी योजना, संक्रान्तिमा सोदन खानेपानी योजना, सुदापमा आहालडाँडा खानेपानी योजना र इसिवुमा रिट्ठे खानेपानी योजनाको निर्माण भइरहेको निर्देहक सिंहले बताउनुभयो । सातवटै आयोजना सम्पन्न गर्नका लागि कूल रु चार करोड एक लाख चार हजार ४९६ खर्च हुने अनुमान छ ।

जसमध्ये फण्डबोर्डको रु एक करोड ६४ लाख ३७ हजार ७४१, स्थानीयवासीद्वारा संकलित नगद रु ४० लाख छ हजार २७६ र रु एक करोड ९६ लाख ६० हजार ४७८ बराबरको श्रमदान रहेको छ । ती आयोजना निर्माण भएपछि ७४६ घरधुरीका तीन हजार ८०२ जनाले पाइप प्रणालीको शुद्ध खानेपानी उपभोग गर्न पाउँनेछन् ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts